तोकिएको समय भन्दा चार महिना पहिलै भवन निर्माण



धनवीर दाहाल,रुकुम ।
धेरै जसो ठेकेदार कम्पनीले तोकिएको समयमा काम सकेको भेटिदैन । बिभिन्न बहाना बनाउँदै काममा ढिला सुस्ती गर्ने ठेकेदारलाई चुनौती दिँदै रुकुम पश्चिममा एक ठेकेदारले समय भन्दा चार महिना पहिलै काम सम्पन्न गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको भवन आगामी भदौमा सम्पन्न गर्ने सम्झौता भएपनि चार महिना पहिलै सम्पन्न भएको हो । रातदिन काम गरेर तोकिएको समय भन्दा चार महिना भवन तयार भएको सव इन्जीनियर मोहन के.सीले बताउनुभयो ।

२०७३ फाल्गुनमा भवन डिभिजन कार्यालय र राजेन्द्र देवसिंह एलबी जेभी निर्माण कम्पनी बिच सम्झौता भएर २०७४ बैसाख १५ गतेदेखी काम सुरु भएको थियो । निर्माण सुरु गरेको २ बर्षभित्रै काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।

तिन तला रहेको सो भवन ६ करोड १९ लाखमा निर्माण भएको हो । आवास, सभा हल, शौचालय सहित २५ वटा कोठा रहेको अत्याधुनिक भवनबाटै बुधबारदेखी काम सुचारु भएको छ । निर्माण कम्पनीका प्रतिनिधि आनन्दबहादुर बमका अनुसार भवन डिभिजन कार्यालय संग भएको सम्झौता अनुसार तिव्र गतिमा काम गरेका कारण सम्झौता भन्दा अगाडी निर्माण गर्न सफल भएको हो ।

भवनका साथै कम्पाउण्ड वाल, आगनमा आरसीसी गर्ने काम समेत गरिएको निर्माण कम्पनीका प्रतिनिधि बमको भनाई छ । जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीबाट पनि राम्रो सहयोग पाएकाले तोकीएको मिति भन्दा अगाडी भवन निर्माण गर्न सफल भएको उहाँको भनाई छ ।

उक्त भवन निर्माण कार्य सुरु भएदेखी जिल्ला समन्वय समितिको भवनबाट प्रशासनको काम हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्