युवाको गौरव–प्रदेशको सौरभः प्रदेशमा खटिए १ सय १५ स्वयम्सेवक



हेटौंडा, (नेस) ।
‘युवाको गौरव, जवानीमा पौरख–प्रदेशको सौरभ’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्ने गरी प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले प्रदेश विकास स्वयम्सेवक छनौट गरेको छ । उनीहरुलाई सोमबार ११ वटा सेवा क्षेत्रमा परिचालन गरिएको छ ।

खटाइएका स्वयम्सेवकमा मावि शिक्षक ४ जना, हेल्थ असिस्टेन्ट ७ जना, स्टाफनर्स ८ जना, अनमी ६ जना, बायोमेडिकल टेक्निसियन २ जना, फार्मेसी सहायक ३ जना, खेलकुद प्रशिक्षक २६ जना, कृषि प्राविधिक सहायक १६ जना, पशु प्राविधिक सहायक १३ जना, सहयोगापेक्षी सडक मानवमुक्त सहजकर्ता १७ जना, बालविवाहमुक्त प्रदेश सहजकर्ता १३ जना छन् । १३ जिल्लाका लागि एक सय १५ जना स्वयम्सेवक छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले स्वयम्सेवकलाई राष्ट्रको विकास हुने गरी काम गर्न आग्रह गर्नुभयो । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश विकास स्वयम्सेवक अभिमुखीकरण कार्यक्रममा उहाँले प्रदेशको विकासका हरेक क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो ।

युवाहरुको मेहनत, काम, जोश र जाँगरले देश विकास गर्न सकिने मन्त्री दुलालले बताउनुभयो । स्वयम्सेवकलाई जागिरका रुपमा नहेरी काम गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले पदको दुरुपयोग नगरी स्वयम्सेवीढंगले काम गरेर राष्ट्रविकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कामका सिलसिलामा देखिएका चुनौती चिरेर नयाँ सम्भावना खोजी गरी काम गर्नुपर्ने मन्त्री दुलालले बताउनुभयो । कार्यक्रममा प्रदेशको नीति तथा योजना आयोग सदस्य अमुना कँडेलले स्वयम्सेवकले राज्यको प्रतिनिधि भएर काम गर्नुपर्ने बताउनुभयो ।

स्वयम्सेवकले १३ वटा जिल्लामा रहेर विभिन्न कार्यालयमा जनशक्ति अभाव भएको ठाउँमा रहेर काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्