प्रहरीको जवाफी कारवाहीमा १ जनाको मृत्यु, विभिन्न हातहतियार बरामद



भोजपुर, ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जंगलमा मंगलबार राति गस्तीमा खटिएको प्रहरीको जवाफी कारवाहीमा षडानन्द नगरपालिका–२ बस्ने ३२ वर्षीय तिर्थराज घिमिरेको मृत्यु भएको छ ।

हतियारधारी समूह हतियार सहित हिँडडुल गरी स्थानीय मानिसहरुमा त्रास फैलाएको भन्ने सूचना प्राप्त हुनासाथ १ नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त जंगलमा गस्ती गर्दै जाने क्रममा लुकीछिपी बसेका अन्दाजी ३५ जना हतियारधारी समूहमध्ये घिमिरेले आफ्नो साथमा रहेको हतियारले प्रहरीलाई लक्षित गरी फायरिङ गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो । जवाफी कारवाहीमा बायाँ खुट्टामा गोली लागेर घाइते भएका घिमिरेको उपचारको लागि तत्काल धरान धोपा लगिएकोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

घिमिरेको साथबाट कटुवा पेस्तोल १ थान, गोली ५ राउण्ड, बाईनाकुलर १ थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड अन्दाजी २० मिटर र बारुद समेत बरामद भएको छ । हतियारधारी समूहको प्रहरीले खोजी गरिरहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्