आर्मीको क्याप्टेनले जन्मायो कप्स



एक समय फिल्म आर्मीमा क्याप्टेनको भूमिकामा खेल्दा बटुलेको आनन्दको क्षणबाट प्रभावित भएका रंगकर्मी, अभिनेता तथा निर्देशक सम्राट सापकोटाले प्रहरीको कथामा पनि सिनेमा बनाउन सकिन्छ कि भन्ने सोचेका थिए। लामो समयपछि त्यो सोचलाई वास्तिवकरूप दिँदै उनले प्रहरीको विषयमा कप्स (सत्य, सेवा, सुरक्षणम्) नामक फिल्म निर्माण गरेका छन्।

‘एकातिर प्रहरीलाई समाजमा नकारात्मकरूपमा हेरिन्छ भने अर्कोतिर के प्रहरी केबल समाजको नकारात्मक पात्र मात्र हुन् र भन्ने प्रश्न मनमा आउँथ्यो। उनीहरू नकारात्मक मात्र हुँदैनन् भन्ने मलाई लाग्छ। त्यसैले यही विषयमा फिल्म निर्माण गरेको छुु।’ –सापकोटा भन्छन्। यसै फिल्मबाट ठूलो पर्दाको निर्देशकका रूपमा डेब्यु गरेका सम्राटले सोमबार सञ्चारकर्मीसँग भने– ‘फिल्म आर्मीमा खेल्दा भएको आनन्दानुभूति र उक्त पात्रलाई पब्लिकले रुचाएको देखेर प्रभावित भएँ र पुलिसको कथामा पनि फिल्म बनाउनेबारे सोचें। अहिले फिल्म बनेको छ।’ आगामी जेठ १७ गते अल नेपाल रिलिजमा आउने फिल्ममा अनुपविक्रम शाही प्रमुख भूमिकामा छन् भने सन्दीपा लिम्बुले यसबाट डेब्यु पाएकी छिन्।

प्रहरीको कथामा निर्मित फिल्म मुलुकको वर्तमान परिप्रेक्ष्यसँग मिल्दो जुल्दो र वास्तविकताको नजिक रहेर निर्माण गरिएको सम्राटले दाबी गरे। ‘हुन त सबैले आफ्नो फिल्म राम्रो बनेको छ भन्छन्। म पनि आफ्नो हिसाबबाट बुलन्द बनेको छ भन्छु। तर यति भन्न चाहन्छु कि यो फिल्म हाम्रो मुलुकको परिवेशसँग मिल्दो जुल्दो छ र वास्तविकताको नजिक रहेर यो फिल्म बनाएको छु। कप्स ३ वटा पीमाथि बनेको छ। त्यो हो पब्लिक, पुलिस र पोलिटिक्स। विषय वस्तु, निर्माण र कलाकारको सजीवताका कारणले फिल्मको कमर्सियल भ्यालु रहेको छ।’ –उनले भने।

फिल्ममा खलपात्रका रूपमा अभिनय गरेका कलाकार अमित गिरीले कप्स आफ्ना लागि ठूलो उपलब्धि बनेर आउने बताए। ‘खलपात्रका रूपमा काम गरे पनि वास्तवमा हिरो बन्ने चाहना थियो। फिल्ममा मेरो नेगेटिभ क्यारेक्टर छ तर खलपात्र भएर आइटम सङमा नाचेको पनि छु। कुनै बेला इमोसनल र कुनै बेला नेगेटिभ बनेको छु। यसरी सबै प्रकारको भूमिका गर्न पाउँदा फिल्ममा म भर्साटाइलरूपमा प्रस्तुत भएको छु, जुन अवसर हिरो बन्दा पाइँदैन’, उनी भन्छन्– ‘फिल्ममा सम्राट दाइले एउटै सिनका लागि १८ टेकसम्म लिनुभएको छ, जसको कारण फिल्मबाट मैले धेरै कुरा सिकेको छु। शिव श्रेष्ठ, भुवन केसीजस्ता अभिनेताको फिल्म हेर्दा आफू पनि पर्दामा देखिन पाए हुन्थ्यो भन्ने कल्पना गर्थें। अहिले फिल्म खेल्दा अन्य रंगमञ्चका कलाकारकै लेभलमा नपुगे पनि पुग्ने कोसिसचाहिँ गरेको महसुस हुन्छ।’

अर्का कलकार रोशन सुवेदीले आफूलाई पहिलोपटक पर्दामा आउँदा केही असहज महसुस भएको बताए। ‘रंगमञ्चबाट आएको मलाई फाइटको सिनमा गाह्रो लाग्यो।’ –उनले सुनाए।
सिभिल इन्जिनियरिङको पढाइ पूरा गरेर अभिनय क्षेत्रमा आएकी अनुपमा भण्डारीले फिल्म कप्समा आफ्नो भूमिका दमदार लागेर नै अभिनय गरको बताइन्। यसभन्दा अघि अग्निदहन नामक फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेकी उनी भन्छिन्– ‘आफूसँग क्षमता छ भने केबल एक सिनबाट पनि काम देखाउन सकिन्छ। यसका लागि लिड रोल नै चाहिन्छ भन्ने छैन।’

फिल्मका निर्माता राम शाक्यले आफू अमेरिकामा बस्ने भए पनि पारिवारिक कार्यका लागि नेपाल आएका बेला फिल्म निर्माण गरेको बताए। ‘फिल्ममा लगानी सुरक्षित लागेर नै निर्माण गरेको हो। सुटिङमा रमाइलो लागे पनि पोस्ट प्रोडक्सनको समय मिलाउन र बनाउनभन्दा चलाउनचाहिँ निकै गाह्रो रहेछ।’ –उनले भने। आर्या मुभिज र सारा श्रीमुभिजको संयुक्त ब्यानरमा निर्माण भएको एक्सन लभ स्टोरीको फिल्ममा लेखन निर्देशक सापकोटा, कोरियोग्राफी शिशिर खाती र कविराज गहतराज, छायांकन सुसन प्रजापति र सम्पादन विपिन मल्लको रहेको छ।

प्रतिक्रिया दिनुहोस्