ए मेरो हजुर–३ को कमाइ साढे ९ करोड, मनाइयो सक्सेस पार्टी



वर्षको अन्तमा रिलिजमा आएर पनि सुपरहिट व्यापार गर्न सफल फिल्म ए मेरो हजुर–३ ले बुधबार राजधानीको होटल अन्नपूर्णमा सक्सेस पार्टी सेलिब्रेसन गरेको छ।

गत चैत २९ गते अल नेपाल रिलिजमा आएको फिल्म ए मेरो हजुर–३ ले डेब्यु नायिका सुहाना थापाको जन्मदिनको अवसर पारेर फिल्मको सक्सेस पार्टी सेलिब्रेसन गरेको हो। फिल्मले करिब एक महिना लामो समयसम्म हलमा कब्जा गर्न सफल भएको थियो।

एक महिना लामो प्रदर्शन अवधिमा ए मेरो हजुर–३ ले अल नेपाल साढे ९ करोडभन्दा बढी व्यापार गर्न सफल भएको छ। यससँगै निर्माता सुनीलकुमार थापा र निर्मात्री, अभिनेतृ तथा निर्देशक झरना थापा दम्पतीको यो फिल्म हालसम्मकै सर्वाधिक कमाउने फिल्म बन्न सफल भएको छ। यो फिल्मले केही मल्टिप्लेक्स र सिंगल स्क्रिनमा पाँचौं सातामा चलिरहेको छ।

सुहानाको २१औं जन्मदिनमा झरना थापाको फिल्मी करिअर पनि २१ वर्षमा पुग्न सफल भएको छ भने सुनीलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको सिनेमा निर्माण यात्रा पनि २१ वर्ष पुगेको छ। अभिनेतृ झरनाले छोरी सुहाना जन्मिएपछि होम प्रोडक्सनको फिल्म धर्म संकटबाट नायिकाका रूपमा डेब्यु गरेकी थिइन्। उक्त फिल्म सुनीलकुमारले निर्माण गरेका थिए। २१औं वर्ष लामो कार्यकालमा झरना र सुनीलले सुहाना जस्तो प्रतिभाशाली कलाकार सिनेमा क्षेत्रलाई दिएका छन्।

सक्सेस पार्टीमा डेब्यु नायिका सुहाना थापाले जन्मदिनको केक काटिन्। ‘मलाई यति धेरै माया र शुभकामना दिनुभएकोमा धन्यवाद। आशा छ, आगामी दिनमा पनि यस्तै काम गर्न सकुँु।’ –केक काटिसकेपछि उनले भनिन्। त्यस्तै नायक अनमोल केसीले ए मेरो हजुर–३ को टिमसँग जोडिन पाएकोमा अत्यन्तै खुसी भएको बताए। ‘यो फिल्ममा काम गर्दा मैले धेरै कुरा सिक्न पाएको छु। आज यो माया पाउँदा उत्साहित छुु।’ –उनले भने। निर्देशक झरना थापाले पनि दर्शकले दिएको मायाका लागि धन्यवाद दिइन्।

कार्यक्रममा निर्देशक दीपाश्री निरौला, अभिनेताद्वय भुवन केसी र रमेश उप्रेतीलगायतले सुहानाको उज्ज्वल भविष्यको कामना गरे। झरनाद्वारा निर्देशित ए मेरो हजुर–३ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवीन्द्र झा, रूपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाललगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्