‘छिटै वडावासीको प्रोफाइल तयार हुँदैछ’



पुरुषोत्तम खड्का
वडाध्यक्ष ललितपुर महानगरपालिका–१८

ललितपुर महानगरपालिका–१८ महानगरपालिकाको महत्वपूर्ण वडाको रुपमा परिचित छ । यो वडा किर्तिपुर नगरपालिकासँग जोडिएको छ । भौतिक पूर्वाधार र विकासको प्रचुर संभावना बोकेको यो वडाबाटै बहुचर्चित द्रुत मार्गको प्रवेश विन्दु तयार हुँदैछ ।

किर्तिपुर नगरपालिका अन्तर्गतको मञ्जुश्री पार्क नजिकै चोभारको सिमानासँग जोडिएका यो वडाले ऐतिहासिक कलासंस्कृति स्मरण गराउने भएकाले ललितपुर महानगरको विशेष वडाको रुपमा चित्रण गरिएको छ । वडाको समग्र विकास र वडा विविध विषयमा नेपाल समाचारपत्रकर्मी ईश्वरराज ढकालले वडाअध्यक्ष पुरुषोत्तम खड्कासँग गरेको कुराकानी ।

वडाले विकास निर्माणको काम कसरी अघि बढाएको छ ?
वडामा जर्दनौ योजना रहेका छन् । चालु आर्थिक वर्षमा १४ वटा योजनामा काम गरिरहेका छौ । यस वर्ष वडाले आफ्नो भवन निर्माणलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा तयार हुने नयाँ वडा भवन सहितका योजना सम्पन्न गर्न वडाका सबै पदाधिकारी लागि परेका छौ । हामी चालु आर्थिक वर्षभित्रै वडाको नयाँ भवनमा प्रवेश गर्न योजना बनाएका छौ । हालसम्मको योजना अन्तर्गत उपभोक्ता समिति गठन गरेर ६० प्रतिशत काम सम्पन्न गरिसकेका छौ ।

अधिकांश योजनाको अन्तिम किस्ताको प्रकृया शुरु गरेका छौ । अधिकांश योजना महत्वपूर्ण भएपनि वडाका धेरै भित्रि सडक कालोपत्रे गरेका छौ । चालु आवमा २५ सय मिटर सडक निर्माण र कालोपत्रे गरेका छौ । जलविनायक पुलको १४ मिटर, उकालो देखि आवास सम्म पुरानो वडा कार्यालय, महत्तोमार्ग, थानागाउ पूर्व शाखा, मिलनवस्ती, सिर्जनावस्ती, आदिनाथमार्ग, सिद्धिपार्क, मञ्जुश्री मार्ग, घुम्तिमार्ग लगायत शाखा र उपशाखाका सडकको निर्माण र कालोपत्रे गरेका छौ । त्यस्तै भौतिक विकास अन्तर्गत अधिकांस बाटो, ढल निर्माण गरेका छौ । चालु आवमा १ करोड ५० लाख रुपियाँ र परियोजना र महानगरको समेत करिब ५० लाख रुपिया समेतको बजेट गरी करिब २ करोड भित्र बसेर काम गरेका छौ । आगामी आवमा करिब ३ करोड रुपियाँ माग गर्ने तयारी गरेका छौ ।

सार्वजनिक जग्गा संरक्षण गर्न वडाले ध्यान दिएको छ की छैन ?
तपाईले महत्वपूर्ण प्रश्न गर्नुभयो । भूमाफियाले देशका विभिन्न स्थानमा जग्गामा समाप्त पारिरहेको हामीले सुनिरहेका छौ । त्यसैले यो वडामा रहेका जग्गा संरक्षण गर्न हामी लागेका छौ । वडा भित्रका सार्वजनिक सम्पत्तिलाई व्यवस्थित गर्दै सार्वजनिक र खुला क्षेत्रमा पार्क निर्माण गर्ने योजना छन् । केहीले सार्वजनिक जग्गा कब्जा गरी भोगचलन गरिरहेका छन् त्यस्ता जग्गालाई जतिसक्दो छिटो वडाको मातहतमा ल्याएर संरक्षण गरिने छ, त्यस्ता जग्गामा तारबार लगाउने कामको शुरुवात गर्न लागेका छौ ।

यो वडामा एतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र कति छन् ?
वडामा आधा दर्जन भन्दा बढी धार्मिक र पर्यटकीय क्षेत्र छन् । सप्तऋषी मन्दिर, बत्सलादेवी, तसलादेवी मन्दिर, मगरगाउँको पशुपति लगायत मन्दिर छन् । त्यस्तै जलविनायक वारिपट्टी एतिहासिक घाट छ, त्यसलाई विकास गर्न हामी योजना बनाइरहेका छौ । साउनेकुवा पार्क, ढुंगेधारा लगायतका पर्यटकीय क्षेत्र यही छन् । सबै क्षेत्रलाई यथोचित विकास गर्न वडा कार्यालय लागि परेको छ । आगामी वर्षको बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी विकास गर्ने लक्ष्य लिएका छौ । सबै क्षेत्रको योजनागत विकासमा वडा लागिरहेको छ ।

वडाका अन्य योजना के–के छन् ?
मैले अघि नै जानकारी गराइसकेको छु । वडाले थुप्रै भौतिक पूर्वाधार र विकास निर्माणको काम सम्पन्न गरिसकेको छ । त्यसको अलावा वडा प्रोफाइल तयार गर्ने मुख्य काम शुरुवात गरेका छौ । करिब ३ हजार जनसंख्या रहेको यो वडामा आगामी आर्थिक वर्षभित्र सबै वडावासीको प्रोफाइल तयार गर्नेछौ । सबै घरको घर नम्बर हुनेछ । वडाको विषयमा नकारात्मक सन्देश जानबाट रोक्न नागरिक शिक्षा कार्यक्रम अघि बढाउने तयारी गरेका छौ ।

विकृति र विसंगतीलाई रोक्न वडाले गरेका सम्पुर्ण कामलाई पारदर्शी गराउनेछौ । महिलालाई महिला लक्षित कार्यक्रम संचालन गरेका छौ, कृषक लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौ । वडासदस्य रुक्मणी महर्जनको संयोजकत्वमा पुर्वाधार विकास, गोपाल डंगोलको संयोजकत्वमा शिक्षा, स्वाथ्य र वातावरण, रेश्मा थापाको संयोजकत्वमा महिला तथा वालवालिका शिक्षा, वडा सदस्य राधिका रोक्काको संयोजकत्वमा ललित महिला उत्थान कार्यक्रम संचालन गरिरहेका छौ । सबै विषयगत समितिले वडामा आ–आफ्नो क्षेत्र अनुसार काम गरिरहेका छन् ।

वडामा कस्ता समस्या छन् ?
खासै ठूला समस्या छैनन् । कहिलेकाही वडाका इन्जिनियरको कार्य व्यस्तताले समस्या देखिने गरेको छ । प्राविधिकको कमीको कारण विकास निर्माणको काममा केही ढिलो हुने गरेको छ । एउटै इन्जिनियरले दुई वटा वडा कार्यालयको काम हेर्नुपर्दा समस्या हुन स्वभाविक हो । महानगरपालिकाले एउटा वडामा एकजना मात्रै इन्जिनियर खटाउनु जरुरी छ । कामको हिसाबले ठुलो रहेको यो वडामा एक जना इन्जिनियर भए काम गर्न सहज हुने हामीले सोचेका छौ ।

वडाको सेवाप्रति वडावासी खुसी छन् त ?
किन नहुनु ? वडाकै काम गर्न हामी दुई वर्ष अघि बिजयी भएर आएका जनप्रतिनिधि छौ । वडावासीको हित अनुकुल काम गरेकाले अहिलेसम्म उहाँहरुले दुःख पाएको अनुभव गर्न पाएका छैनौ । म आफू कार्यालय समयभर वडामै वस्छु, अन्य समयमा वडावासीको दुःख सुखमा साथ दिन्छु ।

म मात्रै होइन १८ वडाका सबै जनप्रतिनिधिले वडावासीको साथ सहयोग पाएका छन् । हामीले उहाँहरुको सेवा गर्ने मौका पाएका छौ । समग्रमा भन्नुपर्दा हामीले दुःख दिने हैसियतले कुनैपनि बाधा हुने काम गरेका छैनौ । सधैसंगै रहेर काम गर्दा वडावासीलाई खुसी पार्न सफल भएका छौ जस्तो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्