विदुर गिरी
कुशल रंगकर्मी, अभिनेता तथा निर्देशक रुद्रराज पाण्डेले जीवनभरि कलाक्षेत्रकै सेवा गरे। तर कलाक्षेत्र भने उनको निधनबाटै बेखबर बन्यो। पाण्डेको शुक्रबार साँझ निधन भएको छ।
लामो समयदेखि मस्तिष्कसम्बन्धी रोगबाट पीडित पाण्डेलाई १० दिनअगाडि घरमै लडेर कानको हड्डी टुटेपछि ग्रिन सिटी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमै उपचारका क्रममा शुक्रबार साँझ निधन भएको कलाकार प्रभाकर शर्माले जानकारी गराए।
८१ वर्षीय पाण्डे लामो समयदेखि मस्तिष्कलाई कमजोर पार्ने अलजाइमर रोगबाट पीडित थिए। जसका कारण उनले स्मरण शक्ति गुमाउँदै गएका थिए र कोही नजिक गएर बसे पनि झट्ट चिन्न सक्दैन थिए।
अलजाइमरका कारण उनी कलाक्षेत्रबाट टाढा थिए। अस्वस्थताका कारण उनी गल्फुटारस्थित आफ्नै घरमा अस्वस्थ र विश्रामको जीवन बिताइरहेका थिए। उनलाई हिँडडुल गर्नसमेत सहारा चाहिन्थ्यो।
उनी जति जीवन्त अभिनय क्षमता राख्थे, त्यति नै कुशल निर्देशक थिए। पाण्डे खास गरी टेलिफिल्मको निर्देशन र अभिनयमा लोकप्रिय थिए। उनले ४० को दशकमा विभिन्न टेलिफिल्ममा अभिनय र निर्देशन गरी लोकप्रियता कमाएका थिए। उनी ठूलो पर्दाका फिल्ममा समेत छाएका थिए। निर शाहको निर्देशनमा बनेको फिल्म बासुदेवमा कट्टेल सरको सहकर्मीका रूपमा देखिएका उनले शाहकै वसन्तीमा पनि अभिनय गरेका थिए। त्यसै गरी यादव खरेलको श्रीस्वस्थानीमा अभिनय गरेका पाण्डेले जलन, मन, चोखो मायाजस्ता ठूला पर्दाका फिल्ममा पनि अभिनय गरेका थिए। उनी कुशल गीतकारसमेत थिए। मसाल नामक फिल्मका लागि उनले गीत रचना गरेका थिए।
आफ्नो अभिनय र निर्देशन क्षमताका कारण पाण्डे टेलिफिल्म जगत्का बादशाह मानिन्थे। रूपमति र सहनशीला सुशीला उनका अविस्मरणीय टेलिसिरियल थिए भने अर्काको मान्छे, म, लक्ष्मी पूजा, गुलाफ एकैपटक फुल्छ, निर्णय, अमरपुत्र, चपाइएका अनुहार, बडा हाकिम, निमित्त नायक, अलिखित, भोक र भित्ताहरू, अविरल बग्दछ इन्द्रावतीजस्ता टेलिफिल्म र टेलिसिरियल उनलाई सम्झाइरहने टेलिभिजन कृति हुन्। म नामक नाटकमा अभिनय गरी कलाक्षेत्रमा होमिएका पाण्डे देशका लागि, मुटुको व्यथा, मुकुन्द इन्दिरा, को कतालगायतका दर्जनौं नाटकमा समेत अभिनय गरी खारिएका पाण्डे १९९५ साल चैत २३ गते न्युरोडस्थित फसिदेवमा जन्मिएका थिए। समय र मुडअनुसार तुरुन्तै कडा र तुरुन्तै नरम हुन सक्ने उनी कलाक्षेत्रमा सम्मानित व्यक्तित्वका रुपमा चिनिन्थे। सम्मानपूर्वक धेरैजसोले उनलाई रुद्र बुबा वा रुद्र बा भन्ने गर्थे।
दरबार हाइस्कुलबाट शिक्षा आरम्भ गरेका पाण्डेले प्रवेशिका परिक्षा पद्मोदय हाइस्कुल र त्रिचन्द्र कलेजबाट बीए तथा नेपाल ल क्याम्पसबाट बीएल गरेका थिए। २०१२ सालदेखि केही वर्ष विजय स्मारक हाइस्कुल, विजय एडल्ट गल्र्स हाइस्कुल र विजय एडल्ट हाइस्कुलमा शिक्षकका रूपमा समेत सेवा गरेका पाण्डेले २०२१ सालमा कृषि सामग्री संस्थानमा सेवा गरेका थिए।
स्व. पाण्डेको शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनको परिवारमा २ छोरा र एक छोरी छन्। ‘बलेको आगो ताप्ने’ क्षेत्रका रूपमा चिनिएको कलाक्षेत्रले लामो समयदेखि पाण्डेलाई त्यसरी नै बिर्सिएको थियो, जसरी अल्जाइमर भएपछि रुद्रराजले धेरैजसो कुरा बिर्संदै गएका थिए।
कलाक्षेत्रले लामो समयदेखि पाण्डेलाई त्यसरी नै बिर्सिएको थियो, जसरी अल्जाइमर भएपछि रुद्रराजले धेरैजसो कुरा बिर्संदै गएका थिए।











प्रतिक्रिया