ओम्याक्स हल पुनः सञ्चालनमा



हेटौंडा, (नेस)। हेटौंडा–४, हुप्रचौरमा रहेको ओम्याक्स हल शुक्रबारदेखि पुनर्संचनासहित सञ्चालनमा आएको छ। करिब ९ महिनाअघि आगलागीबाट ध्वस्त भएको हल पूर्णरूपमा निर्माणपछि पुनः सञ्चालनमा आएको हो।

करिब ३ करोड ४० लाख लागतमा हल पुनर्निर्माण गरिएको हल सञ्चालक तीर्थ प्रधानले बताए।

हलमा विविध सुविधा र क्षमता वृद्धि गरिएको छ। पुनर्निर्माण गरिएको हलमा लक्जरी सिटसहित ३ सय ९० जनाले एकसाथ फिल्म हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए। ‘दाल भात तरकारी फिल्म प्रदर्शन गरी हल पुनः सञ्चालनमा ल्याइएको सञ्चालक नरेन्द्र महर्जनले बताए। हलमा हाल दुई प्रोजेक्टर राखिएको छ। भित्ता र सिलिङमा साउन्ड सिस्टम राखिएको महर्जनले जानकारी दिए।

नयाँ प्रविधिको साउन्ड सिस्टमदेखि दर्शक सिटसमेतको स्वरुप परिवर्तन भएका कारण हल पुनर्सञ्चालनमा ढिलाइ भएको हो। महर्जन चलचित्र निर्माता, प्रदर्शक, वितरक तथा नेपाल चलचित्र विकास बोर्ड सदस्यसहित एफडी कम्पनीका अध्यक्ष हुन्।

गत साउन २३ गते विद्युत् लाइन मर्मत गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर हलमा आगलागी भएको थियो। जसका कारण ३ करोड बराबरको क्षति भएको थियो।

प्रतिक्रिया दिनुहोस्