देशभर दाल भात तरकारी



ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारद्वारा पछिल्लोपटक निर्मित फिल्म दाल भात तरकारी आज शुक्रबार देशभरका हलबाट रिलिजमा आउने भएको छ।
पछिल्लो समय नेपाली युवामाझ मौलाउँदै गएको विदेश मोहको विषयमा निर्माण गरिएको फिल्म सामाजिक कथावस्तुमा बनेको छ। रहर वा बाध्यताले पलाएको विदेश मोहलाई मूल विषयका रूपमा पस्किएको फिल्म सुदन केसीको डेब्यु निर्देशनमा बनेको हो। अभिनेता तथा निर्माता किरण केसी पुत्र सुदनले सहायक निर्देशनको अनुभवपछि यो फिल्म निर्देशन गरेका हुन्।

नेपालमै श्रम गरौं र नेपालमै दाल भात तरकारी खाऔं भन्ने सन्देशका साथ मनोरञ्जन पस्कने फिल्म कमेडी फिल्म नभएर सामाजिक फिल्म भएको अभिनेता हरिवंश आचार्यले प्रष्ट्याएका छन्। ‘देशमा बेरोजगारीको संख्या बढेर विदेश जानु भनेको भिन्नै कुरा हो। तर, जसको देशमा रोजगारी पनि छ, उनीहरूको दैनिकी पनि राम्रो चलिरहेको छ, तै पनि विदेशमा गएर बस्ने र फेसबुकमा फोटो हाल्ने मोह छ। ‘जो सम्पन्न भएर पनि विदेशको मोह राख्छन् उनीहरूको विषयमा बनेको फिल्म हो यो’, हरिवंश भन्छन्– ‘दाल भात तरकारी कमेडी फिल्मका रूपमा बनाएका होइनौं। यो विशुद्ध पारिवारिक फिल्म हो।

सिचुएसनल कमेडीले दर्शक हास्नु बेग्लै कुरा हो।’ फिल्ममा नायिका निरुता सिंह र हरिवंश आर्चाय जोडीका रूपमा प्रस्तुत भएका छन्। मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, पुष्पल खड्का, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेको फिल्ममा कथा, पटकथा र संवाद हरिवंश आर्चायको रहेको छ। किरण केसीद्वारा प्रस्तुत तथा नरेन्द्र कंसाकर, शिवहरि पौडेल, यमन श्रेष्ठ र रमिला आचार्यद्वारा निर्मित फिल्ममा शम्भुजित बासकाटाको संगीत, दीर्घ गुरुङको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्