दीपकको जोडी अब केकी



दीपकराज गिरी र दीपाश्री निरौलाको अर्को फिल्म छ माया छपक्कै निर्माणको औपचारिक घोषणा गरिएको छ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्म घामपानी र गोपीका निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन् भने दीपाश्री निरौला सल्लाहकार निर्देशक रहेकी छिन्। फिल्ममा दीपकराजको जोडीका रूपमा केकी अधिकारी रहनेछिन्।

आधुनिक युवती र सोझो युवकको कथा रहने फिल्म रोहित अधिकारीले निर्माण गर्न लागेका हुन्। फिल्ममा निर्देशक दीपेन्द्र लामाको कथा, दीपकराज गिरीको पटकथा, जितु नेपाल, केदार घिमिरे र अभिमन्यु निरवीको संवाद, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपीन मल्लको सम्पादन रहनेछ भने दीपक र केकीसँगै केदार घिमिरे र जितु नेपाल फाइनल गरिएको छ।

अन्य कलाकार फाइनल हुन बाँकी रहेको सोमबार राजधानीका होटल सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा जानकारी गराइएको छ। आगामी जेठबाट सुटिङ फ्लोरमा जाने फिल्मको मुनाफाको ५० प्रतिशत रकम दीपकराज गिरी र उनको टिमलाई दिने सहमति गर्दै रोहितले फिल्म एकल लगानीमा निर्माण गर्न लागेका हुन्। फिल्ममा छक्का पञ्जा शृंखलाका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे यो फिल्ममा पनि कार्यकारी निर्माता रहनेछन्।

प्रतिक्रिया दिनुहोस्