रंगमञ्च आमाको काखजस्तै लाग्छ

0
Shares

हरिवंश आचार्य
पोखरा, (नेस)। मह जोडीका ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले रंगमञ्च आमाको काखजस्तै लाग्ने बताएका छन्। मह सञ्चारले निर्माण गरेको पछिल्लो फिल्म दाल भात तरकारीको प्रमोसनका क्रममा पोखरा आएका उनले सो कुरा बताएका हुन्।

‘मह सञ्चार ४० वर्षदेखि कला र संस्कृतिको क्षेत्रमा छ, रंगमञ्च आमाको काखजस्तै लाग्छ। हाम्रो पालामा टेलिभिजनको पनि शुरूआत भएको हो’ –हरिवंशले भने। नेपाली फिल्मले मनोरञ्जनका साथसाथै नेपाली भाषालाई समेत विश्वव्यापी गर्ने उनले बताए।

मह सञ्चारले निर्माण गरेको दाल भात तरकारीले नेपालीहरूको अमेरिका जाने र डिभी भर्ने प्रवृत्तिलाई उत्कृष्ट तरिकाले समावेश गरेको हरिवंशले प्रष्ट्याए। पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले पछिल्लो समय नेपाली फिल्म नबिकेको अवस्थामा दाल भात तरकारीले दर्शकको मन तान्ने विश्वाससमेत व्यक्त गरे।

‘दाल भातका लागि युवाहरू अहिले विदेशिने क्रम बढ्दो छ। स्वदेशमै पनि गर्न सके राम्रो छ, यही विषयलाई फिल्ममा उतारेका छौं’, उनले भने– ‘युवाहरू विदेशिने क्रमलाई रोक्न फिल्मले केही सन्देश दिनेछ। फिल्मका प्रस्तुतकर्ता किरण केसीले फिल्मको प्रचारका क्रममा विदेशबाट समेत राम्रो प्रतिक्रिया आएको जानकारी गराए। ‘हामीले देश तथा विदेशमा एकैपटक फिल्म रिलिज गर्न लागेका छौं। फिल्मले राम्रो बजार लिने अपेक्षा गरेका छौं’ –किरणको भनाइ थियो। अर्का हास्य कलाकार शिवहरी पौडेलले फिल्मले नेपाली समाजको प्रवृत्ति बोलेको बताए। त्यस्तै नायिका आँचल शर्माले दाल भात तरकारी पारिवारिक कथामा आधारित फिल्म भएको बताइन्।

‘म फिल्ममा मेरो वास्तविक जीवनसँग मेल खाने किसिमको भूमिकामा छु। चञ्चल स्वभाव, छुच्ची किसिमको अभिनय मेरो रहेको छ’ –आँचलले भनिन्। फिल्म आगामी वैशाख २० गते अल नेपाल रिलिज हुँदै छ।

Skip This