अरूको भाग्य हेर्ने ज्योतिषकै भाग्य परीक्षा



अरूको भाग्य हेर्दै आएका युवा ज्योतिष हरिहर अधिकारीको भोलि शुक्रबार आफ्नै भाग्य परीक्षा हुने भएको छ। भोलि शुक्रबारबाट उनले नायकका रूपमा डेब्यु गरेको फिल्म शुभ लभ अल नेपाल रिलिजमा आउँदै छ।
अरूले यो फिल्मबाट उनको भाग्य परीक्षा हुने चर्चा गरिरहेका बेला हरिहर आफैंले भने आफू जुनसुकै परिणामका लागि तयार रहेको बताएका छन्। ‘ममा जुनसुकै रिजल्ट एसेप्ट गर्ने क्षमता छ। त्यसैले मलाई कुनै रिजल्टको डर छैन’, उनले आफ्नो भूमिका खुलाउँदै भने– ‘मैले फिल्ममा पनि ज्योतिषकै भूमिकामा अभिनय गरेको छु। त्यसैले दर्शकले मेरो भूमिकालाई सहजै स्वीकार्र्नुहुन्छ भन्नेमा म विश्वस्त छु।’

अभिनेता राजेश हमलाको चिना हेरेर चर्चामा आएका उनी त्यसपछि फिल्मक्षेत्रसँग नजिकिएको बताउँछन्। ‘उहाँको चिना हेरेपछि फिल्मी व्यक्तित्वसँग भेटघाट र सामीप्यता बढ्यो। फिल्म हेर्ने र त्यसमा छलफल गर्ने क्रमले पनि निरन्तरता पायो। अहिले फिल्ममै आएको छु। यो फिल्म नहेरे पछुताउने फिल्म हो’, उनको दाबी छ– ‘मेरो प्रोफेसनसँग रिलेट गर्ने भएकाले नै मैले यसमा अभिनय गरेको हुँ। मलाई सुहाउँदो पात्र भयो भने यसपछि पनि फिल्म खेल्छु।’

ज्योतिषको समेत कथा जोडिएकाले शुभ लभमा हरिहरलाई नायक लिएको निर्देशक सन्तोषबाबु लोहनीको भनाइ छ। ‘कथा हरिहरजीले नै प्रस्ट्याउने भएकाले उहाँलाई लिएको हुँ। ज्योतिषको क्यारेक्टरलाई उहाँले बुझ्नुभएको छ भनेर पनि उहाँलाई लिएको हुँु’ –लोहनीले भने। फिल्ममा मिस टिन नेपाल २०१७ कृष्टिन पौडेल डेब्यु नायिका छिन्। ‘डेब्यु फिल्म नै शुभ लभ छ।

सबै टिम राम्रो छ। त्यसैले शुभ हुन्छ भन्ने आशा छ। म यसमा लभर गर्लको भूमिकामा छुु’ –उनले भनिन्। फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोल, सूर्या थापा, अनुज पाण्डेलगायतका कलाकार मुख्य भूमिकामा छन् भने हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशनविक्रम भट्टराईको द्वन्द्व, रामेश्वर कार्कीको छायांकन तथा बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा प्रदीपकुमार उदयद्वारा प्रस्तुत तथा धर्मराज शर्मा सुवेदीको निर्माण रहेको फिल्मलाई लिएर आफू आशावादी भएको निर्देशक लोहनीले बताए।

प्रतिक्रिया दिनुहोस्