झरनाको ४०औं जन्मदिनमा ए मेरो हजुर–३ को ट्रेलर



अभिनेतृ, निर्मात्री तथा निर्देशक झरना थापाका लागि बुधबारको दिन विशेष दिन बन्न पुग्यो। यो त्यही दिन थियो जुन दिन उनले ४० वर्षभन्दा अगाडि यो धर्तीमा टेकेकी थिइन्। हजुर, झरना बुधबारबाट ४० वर्ष पुगिन्। उनले आफ्नो ४०औं जन्मदिन विशेषरूपमा मनाइन्।

यो दिन उनका लागि विशेष २ कारणले बन्न पुग्यो। एक त उनले यो धर्ती टेकेको ४०औं वर्ष पुगेको छ भने दोस्रो यही दिन उनले निर्देशन गरेको दोस्रो फिल्म ए मेरो हजुर–३ को ट्रेलर सार्वजनिक मात्र भएको छैन, ट्रेलर हेर्नेले यसलाई मन पनि पराएका छन्। झरनाले आगामी चैत २९ गते अल नेपाल रिलिजमा आउन लागेको ए मेरो हजुर–३ को ट्रेलर रिलिज गर्दै कलाकर्मी र परिवारका साथ यसपालिको जन्मदिन विशेषरूपमा मनाइन्।

‘आफ्नो बर्थडेको दिन आप्mनै फिल्मको ट्रेलर सार्जवनिक गर्न पाउँदा र त्यसबाट राम्रो रेस्पोन्स पाउँदा खुसी लागेको छ’, झरनाले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भनिन्– ‘पोहोर साल मेरो डेब्यु डाइरेक्सनको फिल्म ए मेरो हजुर–२ को सङ रिलिज गरेर मेरो परिवार अर्थात् फिल्मकर्मी र जर्नालिस्टका साथ बर्थडे मनाउन पाएकी थिएँ। अहिले ए मेरो हजुर–३ को ट्रेलर रिलिज गरेर बर्थडे मनाउन पाएँ। यसरी मैले काम गर्ने क्षेत्रको परिवारसँग बसेर बर्थडे मनाउनुको मज्जै बेग्लै छ। त्यसैले पोहोर र यसपालिको बर्थडे मेरा लागि स्पेसल छ।’

झरनालाई यसपालिको बर्थडे मंगलबार मध्यरातदेखि नै लागेको हो। मंगलबार झन्डै मध्यरातसम्म झरना ए मेरो हजुर–३ को काममै थिइन्। उनी निर्माता पति सुनीलकुमार थापाका साथ घर पुग्दा रातको पौनै १२ बजिसकेको थियो। घरमा पुगेर केही बेर आराम गर्दा नगर्दै उनीसामू निर्माता पति सुनीलकुमार थापा र यसै फिल्मबाट नायिकाका रूपमा डेब्यु गरेकी सुहाना थापा आएर बर्थडे विस गरे। ‘ह्याप्पी बर्थडे भन्दै पापा र छोरीले चुप्पा गरेर बर्थडे विस गर्नुभयो। बर्थडे विस त मध्यरातिबाटै शुरू भयो’ –झरनाले भनिन्।

झरनाले जब बिहान उठेर फेसबुक खोलिन्, म्युजिक एरेन्जर उदयराज पौडेलले संगीतसमेत भरेर फेसबुकबाटै शानदार विस गरिसकेका थिए भने त्यसपछि उनको फेसबुक कलाकर्मी, आफन्त र पत्रकारहरूको बर्थडे विसले भरिन शुरू गरिसकेका थिए। यो क्रम दिनभरि चल्यो। ‘हरेक वर्ष वर्थडेको दिन ममीकहाँ गएर आशिर्वाद लिन्थें। यसपालि कामको चापले बेलुकासम्म पनि ममीकहाँ जान पाइनँ। ममीले फोनबाटै भए पनि विस गर्नुभयो। जन्मदिनको धेरै धरै शुभकामना। मेरो छोरीको ए मेरो हजुर–३ झन् धेरै चलोस् भनेर शुभकामना दिनुभयो। यसपालिको बर्थडेको सबैभन्दा स्पेसल विस ममीकै थियो’ –झरनाले सुनाइन्।

हरेक मानिसलाई आफ्नो जन्मदिन विशेष लाग्छ। यसले भावुक पनि बनाउँछ। झरनालाई पनि त्यस्तै महसुस भयो। ‘आज म जन्मेको दिन। यो संसारमा आएको दिन भन्ने हिसाबले खुसी लाग्छ। विशेष दिन आएको जस्तो पनि लाग्दोरहेछ। फेरि भावुक पनि बनाउँछ, के कुराले भने हामी आफ्नो हिसाबले अगाडि बढिरहेका छौं। अब भोलिको दिन कस्तो होला, कसरी अगाडि बढ्ला? बर्थडेको दिनबाट यसो गर्छु, उसो गर्छु भन्ने लाग्दैन। प्रतिज्ञा पनि गर्दिनँ तर आजै राम्रो गर्दै जाऊँ, केही विशेष काम गरौं, सबैसँग अभैm घुलमिल होस् भन्ने चाहन्छु’, झरना भन्छिन्– ‘हामीले अर्को जन्म देखेका छैनौं। यो जन्ममै सबैको हुन सकूँ, राम्रो गर्न सकूँ भन्ने लाग्छु।’

झरनालाई सबै जन्मदिन उत्साहजनक र विशेष लाग्दैन रे। कुनै कुनै जन्मदिनचाहिँ सधैंका लागि यादगार पनि लाग्छ रे। ‘सबै जन्मदिनमा उस्तै एक्साइटेड भइँदैन। सबै जन्मदिन निरास पनि हुँदैनन्। सबै परिवार बसेर मामाघरमा हजुरबा हजुरमासँग बिताएको जन्मदिन अहिले पनि सम्झन्छु। पोहोर साल फिल्म इन्डस्ट्रिका सबैजनासँग बसेर रमाएर ए मेरो हजुर–२ को गीत रिलिज गरेको दिन अहिलेसम्मकै सम्झनयोग्य बर्थडे थियो। आजको माहोल पनि उस्तै छ। सबैको माया र आशिर्वाद पाएकी छु। भाग्यमानी महसुस गरिरहेकी छुु’, झरनाले भनिन्– ‘दिकदारलाग्दो बर्थडे पनि थियो। कुनै कुनै बर्थडेको दिन म सुटिङका लागि काठमाडौं बाहिर परिरहेको हुन्थें। घरपरिवारले फोन गरेर बर्थडे विस गर्थे। तर सुटिङ सेटमा आज मेरो बर्थडे भन्ने आफूलाई मात्र थाहा हुन्थ्यो।’

झरनालाई कुनै बेला बर्थडे आउनासाथ उपहारको जिज्ञासा हुन्थ्यो रे। ‘एउटा बेला थियो बर्थडे भन्नासाथ गिफ्टको आशा हुन्थ्यो। सानो बेलामा कसले के गिफ्ट दिन्छ भन्ने लाग्थ्यो। अहिलेचाहिँ गिफ्ट होइन, आशिर्वाद हुन्छ कि हुँदैन, विस हुन्छ कि हुँदैन भन्ने वेटिङमा हुन्छुु’, झरनाले भनिन्– ‘आफन्त, साथीभाई सबैजनाले आशिर्वाद दिऊन्, शुभकामना दिऊन् भन्नेचाहिँ जहिले पनि भइराख्छ।’ उनलाई यादगार उपहार भने उनकै पति सुनीलकुमार थापाले दिएका रहेछन्। ‘सुनीलजीले एउटा बर्थडेमा नेकलेसको सेट गिफ्ट दिनुभएको थियो। मेरो अहिलेसम्मको सबैभन्दा सम्झनलायक गिफ्ट नै त्यही हो। अरूको सवालमा गिफ्टको आशा गर्दिनँ। कसैले फूल नै गिफ्ट दिए पनि मेरा लागि विशेष हुन्छ।’

यस्तै फूलका गुच्छा र विभिन्न उपाहारका साथ झरनाले यसपालिको बर्थडे मनाइन्। राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक समारोहबीच उनको जन्मदिन मनाउँदै ए मेरो हजुर–३ को ट्रेलर सार्वजनिक गरिएको थियो। जहाँ फिल्मकर्मी र शुभचिन्तकहरूले उनलाई बर्थड विस गरेका थिए।
सार्वजनिक ए मेरो हजुर–३ को ट्रेलरले यो फिल्म पनि झरना र सुनील दम्पतीको होम प्रोडक्सनका अघिल्ला शृंखलाजस्तै लभस्टोरी भएको जनाएको थियो। जसमा प्रेममा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ। ट्रेलरमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, रेअर राईलगायतलाई प्रस्तुत गरिएको छ। फिल्ममा कथा निर्देशक झरना थापा र सुमन पौडेल, पटकथा र संवाद छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेल, संगीत कल्याण सिंह, कोशिष क्षेत्री, प्रतीक पौडेल र आशीष अवीरल, कोरियोग्राफी कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह र राहुल शाह, छायांकन सञ्जय लामा र सम्पादन दीर्घ खड्काको रहेको छ।

प्रतिक्रिया दिनुहोस्