थ्रीस्टार सहजै सेमिफाइनलमा



हेटौंडा, (नेस)
हालै भारतमा गभर्नर गोल्ड कपको उपाधि जितेर आएको ललितपुरे टोली थ्रीस्टार क्लबले हेटौंडामा जारी भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबलमा सेमिफाइनल यात्रा तय गरेको छ।

थ्रीस्टारले मंगलबार भएको क्वार्टरफाइनल खेलमा सरस्वती क्लबलाई २–० गोलअन्तरले हराएको हो। थ्रीस्टारले फाइनल पुग्न हाल सिजनमा सफल विदेशी टोली क्यामरुनी क्लब डाफिन्ससँग प्रतिष्पर्धा गर्ने निश्चित भएको छ। दोस्रो सेमिफाइनल खेलमा आयोजक र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

थ्रीस्टारका तर्फबाट २४औं मिनेटमा विदेशी खेलाडी मान्साले गोलको खाता खोलेको थिए। सरस्वतीका गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डरबीच तालमेल नमिलेको अवस्थामा उनले गोल गरेका हुन्। थ्रीस्टारका डिफेन्डर पिटर सेगुनले ६० औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे। पिटर सेगुनले खेलको म्यान अफ दी म्याच हुँदै नगद १० हजार पुरस्कार पाएका छन्।

खेलपश्चात् थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफ्ना स्टार खेलाडीहरु सिनियर/जुनियर राष्ट्रिय टोलीमा रहेका कारण समस्या भएको बताए। उनले अर्को खेलमा अन्य खेलाडी सहभागी हुने र थ्रीस्टारले दाफिन्सको चुनौती सजिलै पन्छाउने दाबी गरे।

सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले आफ्नो क्लबद आबद्ध दुई जना विदेशी खेलाडी प्रतियोगितामा सहभागी नहुँदा समस्या भएको बताए। उनले डिफेन्डर र गोलरक्षकबीच तालमेल अभावमा गोल खानुपरेको पीडा पोखे। उनले दोस्रो हाफ्मा राम्रो खेले पनि गोल खाइसकेकोले समस्या सिर्जना भएको बताए।

प्रतिक्रिया दिनुहोस्