स्वर्ण विजेता अजित सम्मानित



काठमाडौं, (नेस)
नेपालका युवा धावक अजितकुमार यादव मंगलबार सम्मानित भएका छन्।
अजितलाई नेपाल एथ्लेटिक्स संघले एक थान टिभीएस मोटरसाइकलद्वारा सम्मानित गरेको हो। अजितलाई संघका अध्यक्ष राजीवविक्रम साहले मोटरसाइकलको साँचो हस्तान्तरण गरेका थिए। यस्तै उनका प्रशिक्षक धनीराम चौधरीलाई १ लाख नगदले सम्मानित गरियो। तर उनका सहोदर दाजुको निधनका कारण चौधरी उक्त कार्यक्रममा उपस्थित हुन सकेनन्।

सोही कार्यक्रममा ५ कर्पोरेट हाउसहरु गोल्छा अर्गनाइजेसन, नबिल बैंक, रुस्लान, गोल्डस्टार र होटल अन्नपूर्णले अजितलाई १ वर्षका लागि मासिक १२÷१२ हजारका दरले जम्मा ६० हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरे। साथै अन्नपूर्ण होटलले १ वर्षका लागि पौडी र जीमको सुविधा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। सो सुविधा वार्षिक २ लाख रुपियाँबराबरको हुने बताइयो।

नेपाली एथ्लेटिक्सकोे इतिहासमा अजितले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले गत आइतबार हङकङमा भएको तेस्रो एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपअन्तर्गत ३ हजार मिटरमा स्वर्ण जितेका थिए। १२ राष्ट्रका १५ प्रतिस्पर्धीले सहभागी जनाएको प्रतियोेगितामा अजितले सो दूरी ८ मिनेट ३०।३२ सेकेन्डमा पूरा गरेका थिए। उनी भारतका अमित जान्गीरसँग ६ सेकेन्डले अगाडि रहेका थिए। उनको यो जुनियरतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनेको छ। यसअघि यसै वर्ष विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा उनले ८ मिनेट ४४।९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रचेका थिए।

राजविराजका अजितको जुनियरतर्फको राष्ट्रिय कीर्तिमान सिनियरसँग केही निकट पुगेको छ। सिनियरतर्फ ३ हजार मिटर दूरीमा ज्ञानबहादुर बोहराको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ। बोहराले सन् १९९९ मा नयाँ दिल्लीमा भएको एथ्लेटिक्स च्याम्पियनसिपमा सो दूरीतर्फ ८ मिनेट २३।५९ सेकेन्ड समयमा राष्ट्रिय कीर्तिमान राखेका थिए।

प्रतिक्रिया दिनुहोस्