नेकपालाई कम्युनिस्ट र माक्सवादी भन्न नै लाज लाग्छ– नेता मैनाली



चन्द्रप्रकाश मैनाली (सिपी) नेकपा मालेका महासचिव हुनुहुन्छ । केपी शर्मा ओलीको यसअघिको सरकारमा उपप्रधानमन्त्रीसमेत बन्नुभएका उहाँ पुराना कम्युनिस्ट नेता हुनुहुन्छ । पछिल्लो समयमा सरकारले गरेका गतिविधिले देश र जनतालाई फाइदा नभएको भन्ने उहाँ अहिलेको सरकार जसरी भएपनि आफ्नो आयु लम्ब्याउन खेलमा मात्र लागेको बताउनुभएको छ ।

सीके राउतसँग गरिएको सम्झौता गलत भएको भन्ने उहाँ बिप्लवको पार्टीलाई राजनीति गतिविधि गर्न प्रतिबन्ध लगाउने सरकारको निर्णय पनि गलत भएको टिप्पणी गर्नुहुन्छ । नेकपाको सरकार जनताको पक्षमा नभएको बताउने उहाँ प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीलाई हराउन अनेक चलखेल भएको बताउनुहुन्छ । निर्वाचनबाट बिग्रिएको अवस्था सुधारेर आगामी दिनमा पनि जनताका पक्षमा सधैं लागिपर्ने बताउने मैनालीसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी–
अहिलेको राजनीतिक अवस्थालाई कसरी बुझ्नुभएको छ ?
लक्षण त्यति राम्रो छैन । जनताले जे पाउने आश गरेका थिए सरकारबाट त्यो हुन सकेन । सरकारले देशको बिखण्डन गर्छु भन्ने शक्तिलाई लोकतान्त्रिक बाटोमा ल्याएको छ, यो सकारात्मक कदम हो । तर यसको साथै अर्को समस्या के पनि छ भने सम्झौता गरेका सीके राउतले अब फेरि देशको बिखण्डन नगर्लान् भन्न सकिँदैन । यो विषयमा प्रतिवद्धताको खाँचो छ । विगतमा राउतले गरेका कुनैपनि घटनाको विषयमा मुद्धामामिला नहुने भनिएको छ तर सरकारले हिजो उनले गरेका देशघाती कामबापत माफी मागेका छैनन् ।

११ बूँदे सहमति खोटपूर्ण छ , यसमा एकआपसमा विश्वासको अभाव छ । स्वतन्त्र मधेश गठबन्धनलाई सरकारले स्वीकारेको छ । यसले बैधानिकता पाएको छ त्यसबाट अरु धेरै खतरा हुन सक्छ । लोकतान्त्रिक पद्धतिबाट जन अभियान भन्ने शब्द पनि नबुझिने छ । राउत जनमतसंग्रहलाई सरकारले स्वीकार गरेको छ भन्छन् सरकार होइन भन्छ , भएकोचाँही के ?

यो सहमतिमा कसको जित भएको छ ?
झट्ट हेर्दाखेरि यसमा राउतको हात नै माथि छ किनभने राउतले चाहेजति सबै कुरा पाएका छन् सरकार झुकेको छ । मैले सहमति गर्नु नै हुँदैन भनेको होइन तर उनलाई जे गरेपनि छुट दिइने कार्य गलत भयो । कमसेकम हिजोका गतिविधि गलत गरेछु भनाएको भए हुन्थ्यो ।

यो सहमति हाम्रै नेताहरुको बुद्धिले गरेका हुन् कि अरु कसैको दबाब र प्रभावमा हो ?

अहिले नै अरुलाई आरोप लगाएर यसो नै भएको हो भन्न सकिँदैन । तर हामीलाई थाहा छ यस प्रकारका सहमति गर्न ÷गराउन छरछिमेक साथीभाईको पनि भूमिका रहँदै आएको छ । कसले गरायो भन्दा पनि यसबाट घाटा वा फाइदा के हुन्छ त्यो महत्वपूर्ण विषय हो । हिजो गरिएका कतिपय सहमति भारतीय भूमिमा नै भए । नेपालमा हामीले संविधान बनाउँदा भारतले स्वीकार्न सकेन र लामो समयसम्म नाकाबन्दीको समस्या खेप्नुप¥यो ।

उता संसदमै रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले सरकारसँग विभिन्न माग राखदै आएका छन्, उनीहरुको आवाज सुनिएको छैन । संविधानमा असन्तुष्टि राख्दै ती पार्टीहरुले अधिकार खोजिरहेका छन् न्यूनतम माग भने सम्बोधन गर्नुपर्छ । जातजाती र भाषाभाषीको आधारमा पहिचान स्थापित गर्न सम्भव नहोला तर पनि केही कुरा सुन्नुप¥यो नि । ती २ पार्टीको बिकल्पमा पो सीकेलाई स्थापित गर्न खोजेको हो कि भन्ने अनुमान पनि लगाउन सकिन्छ । संविधानलाई संशोधन गरेर, बहस र छलफल चलाएर तथा कानून बनाएर गए तत्कालको समस्याको निकासको बाटो खुल्छ ।

विप्लब नेतृत्वको पार्टीलाई गरेको निर्णय कस्तो हो ?
हुन त विप्लबजीले गरेका सबै प्रकारका काममा हाम्रो समर्थन छैन । समाजमा आतंक फैलाएर कसैले पनि आफूलाई स्थापित गर्छु भन्ने सोचाई राखनु हुँदैन । तर यसो भन्दाभन्दै पनि उनले उठाएका कतिपय विषय राष्ट्रहितको पक्षमा थिए । राज्यमा बसेर गलत काम गर्नेलाई कारवाही गर्छु भन्नु गलत होइन । कसैले पनि गलत दिशामा अभियान चलाउँछ भने त्यसलाई राज्यले एउटा सिस्टमद्धारा नियन्त्रण गर्नुपर्छ ।

यो सरकारको अपरिपक्व निर्णय हो । सीके राउतलाई बैधानिकता दिएर ठूला गफ गर्ने अनि संविधानको भावनाविपरीत भएर राजनीतिक दललाई प्रतिबन्ध लगाउन मिल्दैन । सरकार कुनैपनि बेला तानाशाही पाराले प्रस्तुत हुनु हुँदैन ।
अहिलेको मुख्य समस्या के हो ? संघीयता आएपछि बिकास र समृद्धिमा धेरै ठूलो छलाङ मारिन्छ भनिएको थियो भयो कि भएन ?

हिजो मालपोत, नापी, भूमिसुधारमा बढी भ्रष्टाचार हुन्छ भनेर चिनिन्यो तर अहिले स्थानीय तहमा भ्रष्टाचार बढी भएको भनेर गुनासो आएको छ । सबैले कमाउनुपरेको छ, जनताका समस्यामा कसैको ध्यान गएको छैन । बजेटको चरम दुरुपयोग भएको छ । सरकारले शिक्षा, स्वास्थ्यलाई निःशुल्क गर्नुको साटो ‘सेटिङ’ मिलाएर व्यापारीकरण गरेको छ । दलाल पूँजीवाद, आफन्त पूँजीवादले मलजल पाएको छ । साँच्चै भन्ने हो भने चित्त बुझाउने ठाउँ छैन ।

अहिलेको कम्युनिस्ट सरकार जनताको पक्षमा कि विपक्षमा ?
भाषणमा भन्नुपर्दा निकै राम्रो सरकार हो तर काम भनेको त्यसको उल्टो छ । नेकपा वास्तवमा कम्युनिस्ट हुन सकेनन्, उनीहरुले कम्युनिस्टको सिद्धान्त र विचारलाई पछ्याउन सकेनन् । माक्र्सबादी भन्छन् तर उनीहरु माक्र्सबादी होइनन् । उनीहरुले बाटो बिराएका छन् ।

सरकारले विधेयक ल्याउँदा कतिपय गलत प्रस्ताव समेटेको छ । एकपछि अर्को विधेयकमा शंका गर्ने आधारहरु भएकाले सरकार कुन दिशामा लागेको छ भन्ने प्रश्न उब्जिएको छ ।

एमाले र माओवादी मिलेर बनेको नेकपाको व्यवहारिक एकता हुन नसक्नुको कारण के होला ?
हिजोको एमालेमा पनि गुटैगुट छन्, माओवादी पनि त्यस्तै समस्यामा अल्झिएको छ । पार्टीलाई एक बनाएर लाने भनेपनि तल्लो तहको सञ्रचना बनाउन सकेका छैनन् । दुवै पार्टीका अध्यक्षहरु आफ्नोमात्र स्वार्थ हेरेर बसेका छन् । जबसम्म गरौं भन्ने लाग्दैन यो एकता हुँदैन । अरुको विषयमा धेरै बोल्नु त हुँदैन तर जति ढिलो भयो त्यति नै झन्झट हुने भएकाले अहिले थप समस्या देखिएको हो ।

तपाइको पार्टी नेकपा मालेचाँही अहिले के गर्दैछ ?
हामी अहिले राजनीति हेरेर, बुझेर र अध्ययन गरेर बसेका छौं । पछिल्लो निर्वाचन हाम्रो पक्षमा भएन यो सत्य हो । केही हाम्रो कमजोरी भयो तर त्योभन्दा ठूलो कुरा हामीलाई हराउन र सक्न कुनै तत्वको चलखेल भयो । बिग्रिएको भन्दा पनि कमजोर बन्दै गएको अवस्थालाई सुधार गर्ने प्रयास गरिरहेका छौं । आगामी दिनमा मालेले गति लिन्छ यसमा ढुक्क छौं ।

सरकार जसरी भएपनि सत्ता टिकाउनमात्र लागेको छ । हिजो नेकपा निर्वाचन जित्ने दाउमा थियो त्यो सफलतापछि सरकार बन्यो अबको दाउ टिकाउमात्र हो । सरकार चलाएका छन् तर जनताले दैनिक आवश्यकता पूरा भएको महसुश गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्