“टाउकाको मूल्य तोकेकामा म अझै पनि खुसी छु”



देवेन्द्र पराजुली
सचिवालय सदस्य, नयाँ शक्ति पार्टी नेपाल

देवेन्द्र पराजुली नयाँ शक्ति पार्टी नेपालका सचिवालय सदस्य हुनुहुन्छ। सरकारले माओवादी नेताको टाउकाको मूल्य तोकेका बेला उहाँको पनि मूल्य तोकिएको थियो। उहाँ त्यो दिन सम्झँदा खुसी हुनुहुन्छ। आफूहरूले त्यसरी सशक्त आन्दोलन नगरेको भए मुलुकको मुहार नफेरिने तर्क छ उहाँको। अहिले त्यो मूल्य बढेको वा घटेको हो भन्ने प्रश्नमा भन्नुभयो– ‘जे भयो राम्रै भयो, म त अत्यन्तै खुसी छु।’ उहाँ अनेरास्ववियु ९क्रान्तिकारी०को अध्यक्ष पनि बन्नुभएको थियो।
नेकपा माओवादी केन्द्रले देश र जनताको पक्षमा न्याय गर्न नसकेको भन्दै डा। बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालमा लाग्नुभएका उहाँ पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्तित हुनुहुन्छ। पार्टीले माघ १५ गतेदेखि १ महिनासम्म देशव्यापी अभियान चलाएको थियो। अभियानमा संलग्न भएर काठमाडौं फर्किनुभएका उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक राजनीतिक कुराकानी ः–

पार्टीले चलाएको १ महिने अभियान सकिएको छ के उपलब्धि भयो ?
हामीले माघ १५ गतेबाट १ महिने ‘असल राजनीति र समावेशी विकासका निम्ति जनसंवाद’ अभियान सकेका छौं। पूर्वको पाँचथरबाट पश्चिमको बैतडी पुगेर अभियान सकिएको छ। १ हजार ८ सय ७९ किलोमिटरको यात्रामा हामीले आफ्ना कुरा राख्न जहाँ पनि भाषण मात्र गरेनौं, जनतासँग प्रत्यक्ष संवाद गरेर समस्या र सम्भावना के छन् भन्ने विषयमा पनि छलफल ग¥यौं। यो यात्राले पार्टीलाई थप ऊर्जा मिलेको छ त्यसको साथसाथै जनताका समस्या, गुनासा र अनुभवलाई समेटेर पार्टीले एउटा दिगो र प्रभावकारी कदम चाल्नेछ। अभियानमा सँगै जानुभएका पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संसद्मा पनि यो विषयवस्तुबारे जानकारी गराइसक्नुभएको छ। आगामी बुधबार बस्ने सचिवालय बैठकले पार्टीलाई थप अघि बढाउन महŒवपूर्ण निर्णय गर्नेछ।

यात्राका क्रममा जनताले के सन्देश दिए ?
अहिले दुई तिहाइको सरकार छ। तर सरकारले जे गर्नुपर्ने हो त्यो काम गरेन यो मेरो मात्र होइन, गाउँघरका जनताको भनाइ हो। हिजो सरकार बन्दा एकातिर जनताले धेरै अपेक्षा गरेका थिए भने अर्कोतिर सरकारले पनि आश्वासन बाँडेको थियो तर त्यसलाई सरकारले अहिले आएर हावादारी गफमा परिणत गरेको छ। जनताको दैनिक आवश्यकता पूरा हुन सकेको छैन। जनजीवनमा सुधार आउने केही पनि काम गर्न सरकारले नसकेपछि ऊ क्रमशः कमजोर बन्दै गएको छ। यसबाट के पुष्टि हुन्छ भने इमानदारको हातमा सरकार र शक्ति नगए त्यसको दुरूपयोग हुने रहेछ, अहिले त्यही भएको छ। दुई तिहाइ भनेर मात्र हुँदैन ‘भिजन’ नभएपछि सरकार नालायक सिद्ध भएको छ।

नेकपाको नेतृत्वमा सरकार छ। अचम्मको कुरा त के छ भने २ जना अध्यक्ष दुवै पावरफुल तर काम भने ठप्प। हिजो ‘काहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्थे तर अहिले नेकपा पनि हाँडीगाउँभन्दा कम छैन। सरकार भनेपछि जनता पनि दिक्क भइसकेका छन्। स्थानीय तहका प्रतिनिधिहरू एकातिर अधिकार नपाएर पीडित रहेछन् भने अर्कातिर बजेटको अभाव भएको देखियो। के गर्ने र कसो गर्ने भन्ने अलमलले जनताहरू पनि केही भन्न सक्ने पक्षमा छैनन्। केन्द्रदेखि तल्लो निकायसम्म भ्रष्टाचारको जालो फिँजिएको छ।

जनताले तपाईंहरूसँग के मागे ?
जनताले विशेष गरी शान्ति, सुशासनको अपेक्षा गरेका छन्। विकास र समृद्धिको चाहना पूरा होस् भन्ने हो। स्थानीय तहलाई केन्द्रीय सरकारले १५ प्रतिशतमात्र बजेट छुट्याएको छ यो धेरै नै कम हो। हामी मध्यपहाडी लोकमार्गको यात्रामा थियौं। हिजो यही सम्भावना भएको ठाउँ हो तर आज मानिसहरूको बस्ती रहेनछ। यातायातको असुविधाले मानिसहरू बसाइँ सरेर अन्यत्र गइसकेका रहेछन्, त्यहीं भएकामा पनि बेरोजगारको पीडा छ। प्रधानमन्त्रीले घोषणा गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले त्यो ठाउँको जनताको जीवन छुन सकोस् मेरो शुभाकामना।”

नयाँ शक्ति फरक विचार र धार भएको पार्टी भन्नुहुन्छ तर पनि तपाईंहरूलाई जनताले पत्याउन सकेका छैनन् नि ?
त्यसरी पत्याएकै छैनन् भन्न मिल्दैन। हामी निरन्तर रूपमा आफ्ना विचार, नीति र सिद्धान्तबारे जानकारी दिँदै गएका छौं। हाम्रो पार्टीप्रति आस्था र विश्वास भए पनि पुरानो पार्टी छोडेर अहिले नै हामीसँग आइहाल्ने पक्षमा छैनन् तर समर्थन भने पाएका छौं। हेर्दै जानुहोस् आउँदो निर्वाचनमा हाम्रो पार्टीको आकार ठूलो हुनेछ र निर्णायक शक्ति बन्नेछौं।

परम्परागत राजनीति गर्ने पार्टीले देशलाई निकास दिन सक्दैनन् भन्दै आएका थियौं अहिले प्रस्ट भएको छ। जनतालाई ढाँटेर १ पटकलाई मत ल्याउलान्, सरकार बनाउलान् बेग्लै कुरा हो तर सधैं समर्थन पाउन सम्भव छैन। हामी विस्तारै दौडन्छौं, टाढा पुग्छौं। अरू पार्टीहरू शुरूमै तीव्र ढंगले जितौंलाझैं गरेर दौडेका छन् कि बीचैमा लड्छन् कि दौडबाट बाहिर निस्कन्छन्, नभए अन्य विकल्प छैन। हामीले वैकल्पिक राजनीतिक शक्ति भनेका छौं र हो पनि। तर अर्को समस्या के पनि छ भने जनता तत्कालै उपलब्धि पाइयोस् भन्ने सोच्छन्, त्यो भने दिन सकेका छैनौं। यही राजनीति शैलीले विकास र समृद्धिको कल्पना गर्न पनि सम्भव छैन। राजनीति धेरै फोहोर भएको छ। उनीहरू सफा गर्नुभन्दा पनि झन् फोहोर गर्न लागेका छन्। हामीले त यो बाटो गलत भयो भनेका छौं तर मान्न वा सुन्न तयार छैनन्। यसको परिणाम उनीहरूले पछि भोग्नेछन्।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विषयमा पार्टीको धारणा के हो ?
यो पार्टीमा पनि धेरै संकट छ। एकले अर्कालाई पत्याउने वातावरण छैन। दुवै अध्यक्षले पार्टीलाई भन्दा पनि आफ्नै हितलाई केन्द्र बनाएर काम गरेका छन्। तल्लो तहसम्म एकताको टुंगो लगाउने भनेर बनाएको कार्यदल पनि भंग गरिएको छ। योभन्दा टाढा गएर अरूको आलोचना गर्नु राम्रो नहोला। तर साँच्चो अर्थमा भन्ने हो भने उनीहरूले त कम्युनिस्ट आदर्श पनि गुमाएका छन्, लोकतान्त्रिक मान्यतामा पनि अघि बढ्न सकेनन्। के हौं र के हुन् भन्ने नै प्रस्ट नभएपछि उनीहरूको भविष्यसमेत अन्योलमा परेको छ।

राज्यको साधनस्रोतको दोहन गर्न पाउन्जेलसम्म मिलेर जान्छन् त्यो सकिएपछि र आउने बाटो बन्द भएपछि झगडा हुन्छ र पार्टी फुटमा जान्छ। यो मेरो शंका हो पछि व्यवहारमा देखिन्छ। सरकार र नेकपाले अहिले भन्ने एउटा र गर्ने एउटा काम भएको छ। प्रधानमन्त्रीको भ्रष्टाचार गर्दिनँ पनि र गर्न पनि दिन्नँ भन्ने उखान गाउँखाने कथा भइसकेको छ। मुख्य कुरा देश र जनताप्रति पुराना राजनीतिक दलले सोच्न नसकेका कारण एकपछि अर्को समस्या बल्झँदै गएको छ।

हामीले राजनीतिलाई सही बाटोमा अघि बढाउने योजना बनाएका छौं। अहिले नै थोरै संख्या होला त्यसलाई समेटेर आगामी योजना बनाउँछौं। हिजो माओवादी पनि एउटा सानो समूह थियो पछि उसको ताकत पनि जनताले बुझेकै हुन्। हामी पनि आशावादी छौं र आगामी दिनमा जनताको मर्म र भावना बुझेर वैकल्पिक र निष्कर्षपूर्ण राजनीति गर्नेछौं, यसमा ढुक्क हुन आग्रह गर्दछु।

प्रतिक्रिया दिनुहोस्