बसाँइसराइका कारण गाउँघरमा उब्जाउ जमिन जंगलमा परिणत

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
सुविधा र अवसरको खोजीमा गाउँघरबाट शहरमा बसाँईसराई बढेपछि उब्जाउ खेतबारी जंगलमा परिणत हुन थालेका छन ।

पर्वतको ग्रामिण क्षेत्रमा बसाईसराई बढेपछि हजारौ रोपनी खेतीयोग्य जमिन जंगलमा परिणत भएका छन ।

सुबिधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्ने क्रम पर्वतका दुर्गम गाउँ मात्रै होइन सुगम गाउँमा समेत बढेको छ । जनजातिकोे बाहुल्यता भएका बस्तीहरु त खाली हुने अवस्थामा छ भने खेती योग्य जमिन ९० प्रतिशत भन्दा बढी बाँझो छ । पर्वतको आर्थर, चित्रे, भूकदेउराली, राम्जा, शालिजा, शालिजा, क्याङ्ग, लेकफाँट, भोक्सिङ्ग, बालाकोट, होश्राङ्गदी लगायतका उच्च पहाडी क्षेत्र र बेसीका बस्ती समेत छिमेकी शहरमा झरेपछि गाउँमा खेती गर्र्न श्रमिक नपाउँदा जमिन बाँझो भएको छ ।

बसाई मोदी गाउँपालिका वडा नम्बर ८ चित्रेमा रहेको सयौं रोपनी खेतीयोग्य जमिन डरलाग्दो जंगलमा परिणत भएको छ । दुई दशकअघिसम्म धानका ठूला–ठूला गाँज देख्न पाइने जमिनमा अहिले ठूल्ठूला रुखले ढाकिएको छ । मोदी गाउँपालिका–८ चित्रेका वडाध्यक्ष सुकबहादुर गुरुङले खेतीयोग्य जमिनमा खेती लगाउन छाडेपछि झाडी र जंगलमा परिणत भएको बताए । ‘दुई दशकअघिसम्म यो जमिनमा ठूल्ठूला गाँजसहितको धान देख्न पाइन्थ्यो तर अहिले जंगल र झाडीले भरिएको छ’, विगतको खेतीयोग्य जमिनमा भरिएको जंगल देखाउँदै वडा अध्यक्ष गुरुङले भने।

पञ्चासेको काखमा रहेको चित्रेमा मात्रै होइन आर्थर, राम्जाा पनि त्यही समस्या छ । यहाँ बसोबासका लागि सुन्दर हावापानी रहे पनि सुविधाको खोजीमा त्यहाँका बासिन्दा धमाधम पोखरा र छिमेकी शहरबजारमा बसाइँ झरेपछि माथिल्लो भेग सुनसानजस्तै बन्न पुगेको छ । उनीहरुको जमिनसमेत बाँझिदै गएको छ । ‘खेती लगाउने मान्छे नै नभएपछि राम्रो अन्न उत्पादन हुने जमिन त्यत्तिकै खेर गएको गुरुङले बताए।

चित्रेस्थित पञ्चकोशी आधारभूत विद्यालयकी प्रधानाध्यापक सुशीलादेवी गुरुङले पनि कति राम्रो उत्पादन हुने जमिन त्यत्तिकै बाँझिएको देख्दा पनि दुःख लाग्ने बताइन् । पछिल्लो समय जमिन बाँझिने क्रम बढेको उनले जानकारी दिइन्। ‘विस्तारै खेतीयोग्य जमिनमा अन्नपात लगाउने क्रम हट्दै गएको छ’, उनले भनिन् । उनकै पहलमा पञ्चकोशी आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा पढाइ चलाएर बालबालिकालाई अध्ययनको नाममा अभिभावक पनि बजार झर्ने क्रम रोक्ने अभियान चलेपनि स्थानीयको बसाइँ सर्ने क्रम रोकिएको छैन।

Skip This