छाडातन्त्र



धरहराले ऊ बेला देखिको राजतन्त्र, राणातन्त्र, प्रजातन्त्र, बहुदल, पञ्चायत, लोकतन्त्र, गणतन्त्र जस्ता अनेकतन्त्रको साक्षी बन्ने मौका पाएको छ । मुलुकमा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यास छ । नेताहरु भन्न थाल्या छन्–‘अब मुलुकको मुहार फेर्न आर्थिक क्रान्ति जरुरी छ, कुनै तन्त्र आवश्यक छैन ।’

अनेकौ तन्त्र देखरे वाक्क भएको धरहरालाई पनि नेताजीहरको कुरो ठिक हो भन्ने लाग्या थियो तर हैन रैछ । धेरैथरी तन्त्र अझै आउन बाँकी नै पो रैछ । संघिय लोकतान्त्रिक व्यवस्था अधुरो अपुरो भएर हो क्यार अहिले छाडातन्त्र मौलाउन थाल्या छ । आइतवार त्यस्तै देखियो प्रदेश–२ तिर । प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिवलाई झापडपछि छाडातन्त्र छताछुल्ल भएको छ ।

मन्त्री यादवले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै दनक दिएछन् । धरहराले बुझ्या कुरो यादव र झा वीच ‘दानापानी’ नमिलेपछि छाडातन्त्र छताछुल्ल भएछ । तै पनि मन्त्री यादव भन्छन्–‘सचिव छाडा भएपछि सामान्य भनाभन मात्रै भएको हो, मैले उनलाई चड्काएको छैन ।’ यो दृश्य देखेसी धरहरालाई लाग्यो २ नं प्रदेशको यो सामान्य कास्टिङ मात्रै हो, छाडातन्त्रको खास फिलिम त आउनै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्