कादर खानको निधन केबल अफवाह

0
Shares

बलिउड अभिनेता कादर खान अस्वस्थ भई अस्पताल भर्ना भएपछि उनको निधनको अफवाह फैलिएको छ। उनको निधनको खबर झँटो भएको भन्दै उनका छोरा सरफारजल खानले आपत्ति जनाएका छन्।

उनले बीबीसीसँग कुरा गर्दै आफ्नो पीता बिरामी भएर क्यानडास्थित एक अस्पतालमा भर्ना गरिएको बताएका छन्। भारतको सरकारी समाचार एजेन्सी पीटीआईसँग पनि कुरा गर्दै कादरका छोराले पिताको क्यानडामा उपचार भइरहेको प्रस्ट पारेका छन्। ‘यो खबर झँट र अफवाह हो, मेरा बुबा अस्पतालमा उपचार गराउँदै हुनुहुन्छ।’ –उनले भने।

श्वासप्रश्वासमा समस्या भएका कादरलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छन्। उनका छोराका अनुसार उनी प्रोगेसिभ सुप्रान्युक्लिएर पाल्सीबाट पीडित छन्। ८१ वर्षीय कादर लामो समयदेखि आफ्ना छोरा बुहारीसहित क्यानडामा बस्दै आएका छन्। हिन्दी सिनेमामा अभिनय तथा लेखनमा गहिरो छाप छोडेका कादरको जन्म अफगानिस्तानको काबुलमा भएको थियो। ३ सयभन्दा बढी फिल्ममा काम गरिसकेका उनले केही फिल्ममा कथा पनि लेखेका छन्। यो खबरसँगै बलिउड सेलिब्रेटीहरूले कादरको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।