ज्वाईँहरुलाई राहत



सोमबार साँझदेखि खुसुक्कै भित्रिएको ‘समृद्धि’लाई सरकारले मंगलबार भव्यताका साथ स्वागत गरेको छ, शुभारम्भ गरेको छ । सरकारकै भाषामा भन्दा मुलुक नयाँ युगमा प्रवेश गरेकाले ‘समृद्धि’ अब सर्वत्र फैलिएको छ । धरहराले समृद्धिको चासो निकै लियो, समग्रमा कुरो निकै राम्रो रैछ ।

श्रमिकलाई लक्षित सामाजिक सुरक्षा कार्यक्रमले अनेकथरी सुविधा दिने कुरा गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, पेन्सन सुविधा, दुर्घटना विमा जस्ता धेरै थरी सुविधा सुनिश्चित भएकाले समृद्धि ह्वात्तै भित्रिएको रहेछ । समृद्धिको जादुले गर्दा नीजि क्षेत्रमा कार्यरत जनशक्तिले प्रत्यक्ष लाभ लिने सरकारी सेवा प्रवेश गर्न तछाड–मछाड गर्नु नपर्ने तर्क पनि सहर बजारमा खुब सुनिन थालेको छ ।

यदि यो कुरो साँचो हो भने धेरै युवाको उद्धार हुने धरहराको ठहर छ । ‘ज्वाईँ त सरकारी जागिरे नै हुनुपर्छ, कहाँ त्यसै छोरी पाइन्छ’ भन्ने ससुरा बाको कडा अडानका कारण धेरै साथीभाइले खुसुक्क घरजम गरेकै हो । त्यसैले समृद्धिको जादु भविष्यका धेरै ज्वाईँहरुका लागि पो राहत हुने देखियो त । राहत चाहिँ सहर बजार अनि सुगम भेगका भावी ज्वाईँहरुले मात्रै पाउने हुन् कि ?

प्रतिक्रिया दिनुहोस्