पाहुनाको मृत्युपछि माँझी गाउँ शोकमा



गोकुल घोरसाइने, बारा ।
गाउँमा दीपावलीको रमझम बाँकी नै थियो । भाइटिकामा घर आएका आफन्त र साथीभाइसंग सबैजनाले खुसी साटासाट गर्न भ्याइसकेका पनि थिएनन । तर चाडबाडकोे रमाइलो पुरा हुन नपाउदै बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित माझी गाउँमा एकाएक शोकमा डुबेको छ ।

दिदी बहिनीको हातबाट टिका थाप्न बाहिरबाट आएका २ पाहुना सहित ३ जना युवाकोे ट्याक्सी दुर्घटनामा मृत्यु भएपछि स्थानीय शोकमा परेका हुन । दुर्घनामा थप दुई घाइते बनेका छन । पाहुना र आफन्तको मृत्युले यतिबेला गाउँमा सबै चिन्तित छन । उनीहरुको मुहारमा चाडबाडको रौनक देखिदैन ।

‘नसोचेको बेहोर्नु पर्यो, दुर्घटनामा २३ बर्षिय छोरा गुमाएका रामबहादुर माझीले भने, दिपावलीको खुसी साटन नपाउदैे शोकमा पो परियो ।’

दुर्घटनामा चन्द्रपुर नगरपालिका जुडबेलाका २५ बर्षिय अशोक माझी र टयाक्सी चालक भक्तपुर चागुनारायण नपा घर भै हाल बालाजु बस्दै आएका ट्याक्सी चालक २५ बर्षिय समुन्द्र नेपालीको पनि मृत्यु भएको छ । घाइते मध्ये एक निजगढ नगरपालिका वडा नम्बर ७ का २८ बर्षका नरेश माझी र अर्का मकवानपुर बागमती गाउँपालिका फापरवारीका २६ बर्षिय अर्जुन माझी रहेका छन ।

दिदी बहिनीको हातबाट टिका थापेपछि रौतहटको गुजरा नगरपालिका सिम्रीमा रहेका आफन्तसंग भेटघाट गरेर फर्किदै गर्दा बा.२ च २११७ नम्बरको ट्याक्सीलाई विपरित दिशाबाट आउदै गरेको ग २ च २३२५ नम्बरको बलेरोले शुक्रबार राति १२.४५ बजे निजगढस्थित पुर्वपश्चिम राजमार्गमा ठक्कर दिदा विशाल र अशोकको घटनास्थल र ट्याक्सी चालक नेपालीको उपचारको क्रममा हेटौडास्थित चुरे हिल अस्पताल मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निजरीक्षक बिक्रम लामाले जानकारी दिए ।

तिब्र गतिमा आएको बलेरोको ठक्करले दुर्घटना भएको देखिएको निरीक्षक लामाले बताए ।

मृतक अशोक माझी गाउँमा बस्दै आएकी दिदीको हातबाट टिका थाप्न शुक्रबार बिहान मात्र निजगढ आइपुगेका हुन । अर्का घाइते अजुर्ज पनि टिकाको लागि बिहान मात्र गाउँ आएका थिए । ट्याक्सी मालिक र चालक समेत रहेका काठमाण्डौ बालाजु निवासी रामबहादुरकी छोरी ज्वाई सागर श्रेष्ठ दशैमा माइति आएकी श्रीमति सृजनालाई लिन अर्का चालक नेपाली सहित ट्याक्सी लिएर निजगढ आएका थिए ।

श्रेष्ठले जान नमानेपछिसंगै आएका चालक नेपाली सहित गाउँका ५ जना युवाहरु साझा ७ बजे ट्याक्सीबाट सिम्रीतर्फ लागेका थिए ।

मृतक मध्ये दुईको आफन्तले परम्परा अनुसार शनिबार दाहसंस्कार गरेका छन भने चालक नेपालीका आफन्तले आइतबार दिउसो हेटौडाबाट शव बुझेर लगेको प्रहरीले जानाएको छ । घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्