कर्णालीे प्रदेशको विकासमा हिल्सा नाका

188
Shares

-नगिन्द्र शाही
जुन स्थान मुलुकको राजधानी र छिमेकी मुलुकसँग सोझै जोडिएको छ, त्यस क्षेत्रको विकास अन्य सम्भावनाहरुसँग नजोडिएको क्षेत्रभन्दा तुलनात्मकरुपमा केही धेरै भएको हुन्छ । विश्व परिवेशमा हेर्दा जुन देश समुद्रसँग जोडिएको छ, त्यस देशको विकास अन्य देशको तुलनामा थोरै भए पनि सन्तोषजनक देखिन्छ । सबैलाई अवगत नै छ, वि.सं. १८४६ पूर्व तत्कालीन बाइसे–चौबीसे राज्यमध्येको कर्णाली राज्य तिब्बतसँग सीधा जोडिएका कारण हालको नेपालमा रहेका तत्कालीन सबै राज्यहरुमध्येकै सबैभन्दा बलशाली, धनशाली राज्यको रुपमा कर्णाली रहेको थियो । तिब्बतबाट आयात गरिएको सामान विक्री वितरण गर्ने मुख्य बजार जुम्लाको हाट सिंजाबाट नै हुन्थ्यो ।

हाट सिंजा त्यति बेलाको सबैभन्दा ठुलो बजार थियो, जहाबाट तत्कालिन बाइसे–चौविसे राज्यहरुमा रहेका जनता आफुलाइ चाहिने आबश्यक घरखर्चका सरसामानहरु घोडा, भेडामार्फत ढुवानि गरेर लिने गर्थे । जुम्लाको हाट सिंजा र दांगको भ्याली त्यति बेलाका दुइ प्रमुख बजार रहेका थिए । बर्षायाममा जुम्लाको हाट सिंजा र हिउदें याममा दाङको तुल्सीपुर अनि घोराही भ्याली त्यति बेलाका राज्यहरुको प्रमुख बजार थिए । तिब्बतीयन र भारतीय व्यापारीहरु यहासम्म आई ठेटुवा, कपास, तेल, घोडा, गाइ, नुन, चामल, कोदो फापर आदि एक–आपसमा सटापट्टा गरेर लिने दिने गर्थे ।

त्यस्तै हिन्दुहरुका आराध्य देव महादेवकको दर्शन गर्न उति बेलादेखि नै भारतियहरु एक महिना लामो धार्मिक यात्रा गरी तिब्बता मानसरोवर पुग्थे । उनीहरु बर्दियाको राजापुर हुँदै कैलालीको कर्णाली चिसापानी, अछामको जंगलघाट, कालिकोटको लालीघाट, बाजुराको मार्तडी, हुम्लाको सर्केघाट हुँदै तिब्बतको मानसरोवरसम्म पुगी धार्मिक इच्छा पुरा गर्थे । तिब्बत र भारतसँग दोहोरो सम्वन्ध विस्तार गर्ने तत्कालिन कर्णाली पहिलो राज्य थियो । किनभने यो सम्बन्धको सूत्रधार कर्णाली नदीको किनारै किनारको मार्ग र तिब्बतको मानसरोवरमा अवस्थित हिन्दुहरुको देवाधिदेव महादेवका कारण स्थापित भएको हो । वि.सं. २०४६ भन्दा अघि कर्णाली नदीको तिरको बाटो सारै चलन चल्तीको थियो । यही मार्गवाट भारत र तिब्बत सँग यस क्षेत्रका जनता जोडिएका थिए ।

चीनले तिब्बतमाथि सन् १९५० मा आक्रमण गर्दा दलाई लामा भारतमा निर्वासित हुन पुगेका थिए । त्यति बेला दलाई लामाका समर्थकहरुले भारत जान ज्यादा प्रयोग गरीएको मार्ग पनि यही मार्ग थियो । कर्णाली नदीले कर्णालीवासीलाई मात्र होइन, भारत र तिब्बतसँग जोडेको यो मार्गले भारतिय र तिब्बतीयनहरु समेत एक–आपसमा जोड्ने काम गरेको थियो । यो मार्गले भारत हुदै नेपालको तत्कालिन मध्यपश्चिम, सुदुर पश्चिमसहित तिब्बत र चीनसँग जोड्ने काम गरेको थियो । तत्कालिन समयमा यो मार्गले यस क्षेत्रको आन्तरीक अर्थतन्त्र बलियो बनाउनमा ठूलो योगदान गरेको थियो । जसरी चाइना, एशिया र मध्यपुर्वका युरोपका देशहरुमा ऐतिहासिक सिल्क मार्गले महत्व राखेको थियो त्यस्तै कर्णाली राज्य र भारत हुदै अन्य दक्षिणका देशहरुमा आवतजावतका लागि कर्णालीको तिर हुँदै प्रयोग हुने मार्गले महत्व राखेको थियो । यो मार्ग यो क्षेत्रका जनताको आर्थिक समृद्धिको प्रमुख माध्यम पनि थियो ।

 हुम्लाको तल्लो भागमा रहेको झन्डै ८० कि.मि. को ट्रयाक खोल्ने हो भने कर्णाली प्रदेशका बासिन्दा सोझै चीनसँगको सडक सञ्जालमा जोडिन्छन् । बाँकेको रुपैडियादेखि हिल्ल्सासम्म पुग्ने सडक यो क्षेत्रको आर्थिक उन्नति र प्रगतिको मेरुदण्ड बन्नेछ भने भारत र चीनका व्यापारीका निम्ति पनि सेतुको काम गर्नेछ । त्यस्तै भारतीय र नेपाली हिन्दू धर्मावलम्बीहरुका निम्ति यो मार्ग धार्मिक पर्यटन मार्ग बन्नेछ ।

नेपाली जनताले राजनीतिक अधिकार प्राप्तीका निम्ति धेरै संघर्ष र बलिदान गरेका छन् । जनताको सयांै वर्षको संघर्ष धेरै पछि मात्र वि.सं. २००७ सालमा आएर परिणाममा परिणत भएको थियो । वि.सं. २००७ को आन्दोलन नेपाली जनतामा थप राजनीतिक अधिकार प्राप्तिका निम्ति भोक जगाउने कारण बन्यो । परिणामस्वरुप वि.सं. २०४६ को आन्दोलन हुदै वि.सं. २०६२÷०६३ का आन्दोलनहरु सफल भए । अहिले देश संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थमा आइपुगेको छ । सदियौंदेखिको केन्द्रीयता विगठन मात्र होइन सदाका निम्ति अन्त्य भएको छ । हालको संविधानले सबै जनतालाई समान अधिकार र अवसर प्राप्त गर्ने संबैधानिक अधिकारहरुको कानुनि सुनिश्चता गरेको छ । वि.सं. २००४ देखि संविधान निर्माणको यात्रा शुरु भए पनि वि.सं. २०७२ को संविधानबाहेक अघि बनेका सबै संविधानहरुले जनतालाइ थप अधिकार प्राप्तीको भोक जगाए तर विकासको भोक जगाउन सकेनन् । किनभने त्यसविचमा बनेका संविधान सबै अपुर्ण र अधुरा थिए ।

वास्तवमै धेरै समयको अन्तरालपछि नेपाली जनतामा विकासको भोक जागेको छ । नेपाली जनताको विश्व समुदायसँग हात मिलाएर विकासको फल चाख्ने तिब्र चाहना बढेको छ । यो मनोविज्ञान कुनै विशेष क्षेत्र, भेग र कहीँ–कतैका जनताको मात्र नभई आम नेपालीको साझा मनोविज्ञान हो । राजनीतिक अधिकार प्राप्तीका निम्ति गरीएका विगतका सबै आन्दोलन अनिर्वाय र आवश्यक भए पनि विकास निर्माणको पक्ष सधैँ ओझेलमा प¥यो । इतिहासको संक्षिप्त समीक्षा गर्दा बर्तमान सरकारबाहेक विगतमा बनेका कुनै सरकारले नेपालको विगतको वास्तविक इतिहास बुझ्ने र विगतका सही र राम्रा पक्षको अनुसरण गर्न नसकेकाले नेपाल विकासको गतिमा अन्य देशको विकासको रफ्तार समात्न सकेन । नेपाल अहिलेसम्म मजदुर मात्र उत्पादन गर्ने देशको रुपमा विश्व समुदायमा चिनिन विवश छ । नेपालभित्र कर्णाली प्रदेशको अबस्था दयनिय भएजस्तै विश्व बजारमा नेपालको अवस्था दयनिय छ ।

वर्तमान सरकारले नेपालको विश्व वजारमा नेपालीको सहज पहुच पु¥याउन चीनसँग पारवहन सम्झौता सम्पन्न गरेको छ । यो सबै नेपालीका निम्ति असाधारण खुशी र ऐतिहासिक उपलब्धी हो । जुन उपलब्धीलाई भावि पुस्ताले नेपालको इतिहासमा सम्झिरहनेछ । उत्तरमा रहेको विशाल र सम्पन्नशाली छिमेकीसँग ऐतिहासिक नेपाली पात्र भृकुटी र अरनिकोले जोडेको सम्वन्ध सधै सुमधुर राख्ने सबै नेपालीको साझा चाहना विगतदेखि बर्तमानसम्म उस्तै छ । विशाल भूगोल, विशाल जनसंख्या र सम्पन्न अर्थतन्त्र भएको समृद्ध छिमेकीसँग पुर्ण जोडिन नेपाली जनताले संघिय लोकतान्त्रिक व्यवस्था देशमा नआउदासम्म पर्खिनुप¥यो । झन्डै अढाइ सय बर्षपछि नेपाल र चीनको रोटी, बेटी र मितको सम्बन्धमा नयाँ आयम थपिएको छ ।

वर्तमान सरकारले पारवहनका लागि चीनसँग नेपालले प्रयोग गर्न सक्ने ६ वटा नाकाहरुको सम्झौतामा हस्ताक्षर गरेको छ । तीनवटा सुख्खा बन्दरगाह सिगात्से, ल्हासा, लान्चाओ र चारवटा सामुद्रिक बन्दरगाह त्याञ्जेन, सेन्जेन, ल्यानयोङहाङ, झाङजियाओङ उपलब्ध गराएको छ । तिनको प्रयोगका लागि हुम्लाको यारी, मुस्ताङको नेचुङ, रसुवाको रसुवागडी, सिन्धुपाल्चोकको कोदारी, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला प्रयोग गर्न सकिने नाकाहरु हुन । यि सबै नाकाहरुको देश र प्रदेशको विकासका लागि ठुलो महत्व छ । सातै प्रदेशहरुको समग्र पक्षको तुलना गर्दा सबै हिसाबले पछाडी परेको प्रदेश कर्णाली हो । प्रदेशको विकासका निम्ति देशको सिमानासँग जोडिएका छिमेकीसँग सिमाना जोडिनु पनि विकासको एक महत्वपुर्ण सूचकाङ्क हो ।

कर्णाली प्रदेशमा रहेका तिन जिल्ला हुम्ला, मुगु र डोल्पाको अधिकांश भूभाग तिब्बतसँग जोडिएको भए पनि यातायातको संजालमा नजोडिएकाले तत्काल चिनिया बजारमा उत्पादित सामानको प्रयोगका लगि काठमाडौंको बजारको अर्को विकल्प थिएन । छिमेकी भारतसँग यो प्रदेशका कुनै जिल्लाले नछुँदा यो प्रदेशले समृद्धि हासिल गर्न अन्यका तुलनामा महँगो नै हुनेछ भन्ने सबैको सोच थियो । उत्तरतिर जोडिएका डोल्पा हुदै चीनको मरिम्ला नाका र मुगुको नाङचे नाङला नाका तत्कालका लागी उपयोग गर्न नसके पनि हुम्लामा रहेको ऐतिहासिक महत्व वोकेको र कर्णालीका पुर्खाले पैदेल हिडेर प्रयोग गरेको हिल्सा यारी नाका सजिलै प्रयोग गर्न हिजो पनि सकिन्थ्यो । तर विगतका सरकारको यसप्रति ध्यान नदिएकाले यो नाका हुम्लीवासीले पनि निर्वाध प्रयोग गर्न सकेनन् ।

कर्णालीका पुर्खाले २० दिन हिँडेर यात्रा गरेको नाका यारी हो । यो नाका सबै कर्णालीवासीले देखेको, भोगेको र राम्रै चिनेको सजिलो नाका हो । ५ नं. प्रदेशको बाँकेको सिमाना रुपडियादेखि हिल्सा मोटर बाटो कुल लम्बाइ ५४६ कि.मि. रहेको छ । जसमध्ये कालिकोटको पुरै भाग र बाजुरा हुदै हुम्लाको सिमानासम्म ट्रयाक केहीबाहेक सबै नेपाली सेनाले खोलिसकेको छ । हुम्लाको सिमकोट हिल्साको ९५ कि.मी. मध्ये ९० मि.मि.को ट्रयाक खोलिसकिएको छ । हुम्लाको तल्लो भागमा रहेको झन्डै ८० कि.मि. को ट्रयाक खोल्ने हो भने कर्णाली प्रदेशका बासिन्दा सोझै चीनसँगको सडक सञ्जालमा जोडिन्छन् ।

बाँकेको रुपैडियादेखि हिल्ल्सासम्म पुग्ने सडक यो क्षेत्रको आर्थिक उन्नति र प्रगतिको मेरुदण्ड बन्नेछ भने भारत र चीनका व्यापारीका निम्ति पनि सेतुको काम गर्नेछ । त्यस्तै भारतीय र नेपाली हिन्दू धर्मावलम्बीहरुका निम्ति यो मार्ग धार्मिक पर्यटन मार्ग बन्नेछ । सडकको बाकी रहेको काम केन्द्र र प्रदेश सरकारले द्रुत गतिमा गर्ने हो भने बढीमा ६ महिनामा यसको काम सम्पन्न हुने देखिन्छ । बर्तमान सरकारले चीनसँग गरेको चीनका बन्दरगाह प्रयोग गर्ने ऐतिहासिक सम्झौताको फाइदा छिट्टै कर्णाली प्रदेशले लिन सक्छ । यो सम्झौताले कर्णालीको समृद्धिको ढोका खोलेको छ ।
(लेखक शाही नेकपा एमाले, कालीकोटका पूर्वअध्यक्ष हुनुहुन्छ ।)