हकिङको ह्विलचेयर लिलाम हुने

0
Shares

लन्डन, (एजेन्सी)
महान वैज्ञानिक स्टिफन हकिङलाई उनको मृत्युपर्यन्त मानिसले मात्र ह्विलचेयरमा मात्रै देखे। अब त्यही ह्विलचेयर लिलाम हुने भएको छ। त्योसँगै उनका शोधपत्र तथा उसँग जोडिएका महत्वपूर्ण वस्तुको पनि लिलाम गरिनेछ। यस लिलाममा खगोल भौतिकशास्त्रीका रूपमा उनको लोकप्रियता पनि देखिनेछ।

लिलामघर क्रिस्टीले सोमबार हकिङका २२ वस्तु अनलाइन बिक्री गर्ने घोषणा गरेको छ। यसमा ब्रह्मान्डको उत्पत्तिमा उनको थेसिस, उनका केही पुरस्कार र वैज्ञानिक शोधपत्र आदि समावेश गरिएका छन्।

ती शोधपत्रमा स्पेक्टम अफ वर्महोल्स र फन्डामेन्टल ब्रकेडाउन अफ फिजिक्स इन ग्रेभिटेसनल कोलाप्स परेका छन्। क्रिस्टीमा पुस्तक तथा पान्डुलिपी विभागका प्रमुख थोमस वेनिङले ती शोधपत्र हकिङको सोचको विकासक्रम र उनको ज्ञानलाई दर्शाउने बताए। हकिंग एक खगोलशास्त्रीका रूपमा प्रसिद्ध रहेर अन्तरीक्षमा ब्ल्याकहोलमाथि उनको अनुसन्धान सधैं चर्चामा रह्यो।

२२ वर्षको उमेरमा मोटर न्युरोन रोग लागेको पत्ता लागेपछि उनको जिन्दगी केही वर्षका लागि मात्र बाँकी रहेको आशंका गरिएको थियो। त्यसपछि पनि उनले वर्षौंसम्म ह्विलचेयरमा बसेरै भौतिक क्षेत्रमा आफ्नो अद्भूत शोधलाई जारी राखे। गत मार्चमा ७६ वर्षको उमेरमा उनको निधन भएको थियो।

Skip This