वासिङ्टनमा मृत्युदण्डमाथि प्रतिबन्ध

0
Shares

वासिङ्टन डीसी, (एजेन्सी)
अमेरिकाको वासिङ््टन राज्य मृत्युदण्डमाथि प्रतिबन्ध लगाउने बीसौं राज्य भएको छ। त्यहाँको सर्वोच्च अदालतले हचुवा र जातीय विभेद गरी यो सजाय दिइने गरेको बताउँदै यसमाथि प्रतिबन्ध लगाएको हो। यसै गरी उत्तरपश्चिमी राज्यमा मृत्युदण्डको प्रतीक्षामा बसेका ८ जनाको सजाय तत्कालै आजीवन कारावासमा परिणत गरिएको छ। यस खबरलाई मृत्युदण्डविरोधी अभियन्ताहरूले स्वागत गरेका छन्। संयुक्त राज्य अमेरिकामा गत वर्ष २३ जनालाई मृत्युदण्ड दिइएको थियो। तर, वासिङ्टनमा सन् २०१० यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन।

वासिङ््टन राज्यको सर्वोच्च अदालतका न्यायाधीशहरूको इजालसले मृत्युदण्ड पर्खेर बसेका कैदी एल्लेन युगेन ग्रेगोरीले मृत्युदण्डविरुद्ध गरेको अपिलमाथि सर्वसम्मतबाट यो निर्णय गरेको हो। ग्रेगोरीलाई सन् १९९६ मा एक महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो। उनको अपिलमा वासिङ््टन राज्यमा गोराभन्दा काला कैदीलाई ४ दशमलव ५ गुणा बढी मृत्युदण्ड दिइने सम्भावना रहेको अध्ययन प्रतिवेदन पनि पेस गरिएको थियो।

Skip This