सेमेस्टरको क्यालेन्डर गुपचुप, विद्यार्थी परीक्षा कहिले हुन्छ भन्नेमै अन्योल



काठमाडौं, (नेस)
त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सेमेस्टर प्रणालीको क्यालेन्डर विद्यार्थीको हातमा पुग्न सकेको छैन। जसले गर्दा विद्यार्थीले परीक्षा, भर्ना प्रक्रिया, वार्षिक बिदाका बारेमा जानकारी प्राप्त गर्न सकेका छैनन्। विश्वविद्यालयका अनुसार क्यालेन्डरअनुसार नै परीक्षा तालिकालगायतका शैक्षिक गतिविधि भइरहेको छ।

विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘क्यालेन्डरअनुसार शैक्षिक गतिविधि अघि बढाइरहेका छौं। सबै संकायको परीक्षा कहिले हुने भन्ने उल्लेख छ। तर, नतिजाको बारेमा भने लेखिएको छैन।’ विश्वविद्यालयका रेक्टरको सहभागितामा क्यालेन्डर बनेको विश्वविद्यालयले बताएको छ। तर, क्यालेन्डर गुपचुपमै थन्किँदा विद्यार्थी अन्योलमा परेका छन्। विद्यार्थीले भने शैक्षिक क्यालेन्डर आफ्नो पहुँचमा नपुगेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयमा द्वितीय सेमेस्टर शिक्षा संकायमा अध्ययनरत विद्यार्थी कृष्ण केसीले भन्नुभयो– ‘खोई⁄ शैक्षिक क्यालेन्डरको बारेमा मलाई केही जानकारी छैन। परीक्षा कहिले हुने त्यो पनि अत्तोपत्तो छैन।’ सेमेस्टर प्रणाली विद्यार्थी अनुकूल नभएको देखिएको छ।

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि सवै जिल्लाहरूमा सेमेस्टर प्रणाली लागू गरे पनि व्यवहारिक नदेखिएको पाइएको छ।

आवश्यक मापदण्डबिना सेमेस्टर प्रणाली लागू हुँदा विद्यार्थीहरु अन्योलमा परेका छन्। पाठ्यक्रम सयमअनुकूल नबन्नु, परम्परागत शिक्षण प्रणाली हावी हुनु, शिक्षण कार्य विद्यार्थी केन्द्रित नबन्नुलगायतका कारणले सेमेस्टर प्रणालीमा चुनौती देखा परेको काठमाडौं ताहचल क्याम्पसका विद्यार्थी नेता दीपेन्द्र शाहीले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सेमेस्टर सिस्टम बोर्डिङजस्तै भएको छ। यसले वर्गीय बिभेद ल्याएको छ। पैंसा हुनेले पढ्ने नहुनेले नपढ्ने ? यस्तो पनि कहीँ हुन्छ।’

एक वर्षमा दुईवटा सेमेस्टर सकिसक्नुपर्ने भए पनि वर्षमा एउटा सेमेस्टरको परीक्षा हुने गरेको अध्ययनरत विद्यार्थीको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्