मौसम अझै दुई दिन गडबड हुने



 

काठमाडौं । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण मुलुकभरको मौसम धुमिएको छ । अधिकांश भेगमा मध्यम र हल्का वर्षा समेत भएको छ ।
यस्तो प्रभाव अझै दुई दिनसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँको मौसम बदलिने, क्षणिक र हल्का क्षणिक वर्षाको संभावना अझै दुई दिनसम्म जारी रहने महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । ‘भोलीपनि अपरान्ह्रपछि धेरै स्थानको मौसम गडबढी रहन्छ, खासगरी पहाडी भेगका अधिकांश स्थानको मौसम प्रभावित रहनेछ’–बुधवार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
पोखरा र आसपासका क्षेत्रमा विकास भएको स्थानीय वायुको प्रभावले बुधवार अपरान्ह्र काठमाडौं र आसपासका भेगको मौसम धुमिएको पौडेलले बताउनुभयो । मनसुन पूर्वाद्धको समय सुरु भएकाले हिजो–आज मौसममा उतार चढाव आउनु स्वभाविक भएको मौसमविद्हरु बताउँछन् ।
बुधवार मुलुकका अधिकांश भेगमा हल्का र मध्यमस्तरको वर्षा भएको छ । विराटनगरमा सबैभन्दा बढि ६५ मिलिमिटर वर्षा भएको छ भने, धनगढीमा २७, डडेलधुरामा २० र पोखरामा १३ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ । त्यसैगरी सिमरामा ९, ताप्लेजुङमा ८, दीपायलमा ६, धनकुटा र भैरहवामा ५÷५, जुम्लामा ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्