विचरा ! झण्डावाल



राजनीतिमा लागेपछि मन्त्री र अन्य सुविधाको जिम्मेवारी पाउन पाए हुन्थ्यो भन्ने लाग्नु अस्वभाविक होइन। क्वार्टर, गाडी, सुरक्षाकर्मी, अन्य धेरै खै के–के सेवा सुविधा पाइने भएपछि त्यस्तो आस नगर्ने राजनीतिज्ञ विरलै भेटिन्छन्। त्यही भएर त एउटै व्यक्ति पटक–पटक त्यस्तो सुविधा र सम्मानका लागि निकै दौडधुप गर्छन्।

नेताहरू जसोतसो मन्त्री पनि बन्छन् तर उनलाई फेरि टेन्सन थपिन्छ क्वार्टरको। नयाँ सरकार गठनसँगै पहिलोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सजिलै भेटिन्छ। पछि थपिने मन्त्रीहरूका लागि भने ‘नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ झै हुने गरेको देख्दा धरहरा छक्क पर्छ। धेरैले त कान्छा बाउको अनुहार पनि नपाउँदा विचरा ! बाहेक के नै पो भन्न सकिन्छ र ?

अहिले फेरि खै कुन–कुन मन्त्रीहरू क्वार्टर नपाएर कोहीले घरलाई क्वार्टर बनाएका छन् भने कोहीले चाहिँ प्रधानमन्त्रीको निवासलाई क्वार्टर बनाएका छन्। आफ्नै लागि क्वार्टर नपाउनेहरू अरूलाई गाँस वास, कपासको आश्वासन दिन छोड्दैनन्।

आखिर आश्वासन दिनु त हो, अब कुन दिनदेखि क्वार्टरविहीन मन्त्रीहरूले भूूकम्पपीडितलाई वर्र्षाअघि नै घरको व्यवस्था गर्ने ग्यारेन्टी गर्न बेर छैन। विचरा ! क्वार्टरविहीनहरूले अब कुन दिनको क्याविनेट मिटिङमा आफ्नै कथालाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्न बेर छैन।

प्रतिक्रिया दिनुहोस्