गायक खरेल एकल साँझमा

0
Shares

हेटौंडा,(नेस)। लोकप्रिय गायक दीपक खरेलको हेटौंडामा एकल साँझ हुने भएको छ। लायन्स क्लब अफ नारायणी मल तथा हेटौंडा जेसिजको संयुक्त आयोजनामा नयाँ वर्ष २०७५ को अवसर पारेर आगामी वैशाख १ गते साँझ रिगल हेटौंडा रिसोर्टमा गायक खरेलको एकल साँझ हुने भएको हो।

हेटौंडामा पत्रकार सम्मेलन गरी आयोजक हेटौंडा जेसिजका पूर्वअध्यक्ष अरूणकुमार दाहालले नयाँ वर्षलाई विशेष बनाउन कार्यक्रम आयोजना गरिएको बताए। नयाँ वर्षमा खरेललाई हेटौंडामा ल्याउन पाएकोमा उनले खुसी व्यक्त गरे।

लायन्स क्लब अफ नारायणी मलका कैलाश ढकालले लायन्स र जेसिज मिलेर गरिएको कार्यक्रमबाट संकलित रकम सामाजिक कामको लागि खर्च गरिने बताए। कार्यक्रमलाई भव्य र सभ्य बनाउन निकै मेहनत गरेको कार्यक्रम संयोजक अञ्जन दाहालले बताए।

प्रतीक्षा गर मेरी मायालु, गरुँ कि मीठो भुल, यो कर्मभूमिको आँगनमा, तिम्रो त्यो हँसिलो मुहारकोलगायतका कालजयी र लोकप्रिय गीतका गायक दीपक यीसहित दर्जनौं गीतका साथ एकल साँझमा प्रस्तुत हुनेछन्। उनले आफ्ना सदावहार गीतलाई नयाँ सांगीतिक फ्लेबरमा स्रोतामाझ प्रस्तुत गर्नेछन्। कार्यक्रममा दर्शकले उनका गीतमा नयाँ शैलीको संगीत पाउनेछन्। गीतमा संगीतको नयाँ फ्युजन हुने जनाइएको छ।

‘हाम्रो उद्देश्य दीपककै समकालीनलाई दर्शकमाझ प्रस्तुत गराउने हो। यसपटक दीपक दाइ हामीमाझ हुनुहुन्छ, आगामी दिनमा उहाँकै समकालीन पुस्तालाई पनि प्रस्तुत गर्नेछौं’, संयोजक दाहालले भने– ‘वाद्यवादक र गायकबीच उमेरको अन्तर भए पनि उहाँहरूको काम गर्ने ट्युनिङ मिलेको छ।’ गत वर्ष हेटौंडामै गायक दीप श्रेष्ठले एकल साँझ गरेका थिए।

२०३५ मा त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको संगीत समारोहमा शम्भुजित बाँस्कोटाको शब्द र संगीतको तिम्रो त्यो हँसिलो मुहारको गीत गाएपछि चर्चित बनेका दीपकका दर्जन एल्बम बजारमा आइसकेका छन्।

Skip This