२५ वर्षमा फूलभन्दा कमी छैन

0
Shares

संगीतको क्षेत्रामा २५ वर्ष बिताइसकेका संगीतकार राजु सिंह तथा गीतकार वसन्त बित्यासी थापाले रजत जयन्तीको अवसर पारेर नयाँ एल्बमको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रमका बीच सिंह र थापाले तिमी मेरो साथी नामक एल्बमको फूलभन्दा कमी छैन बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै संगीतकार सिंहले आफ्नो सांगीतिक करियरमा नजरको दोषी बनी, रित्तो सडक जस्ता बित्यासीका गीतले आफ्नो ट्रनिङ पोइन्ट ल्याएको स्मरण गरे। उनले २५ वर्ष लामो सांगीतिक यात्रामा धेरै उतार–चढाव आए पनि आगामी दिनमा समेत यस्तै सहकार्य रहिरहने बताए भने बित्यासीले अझै राम्रा गीत पस्किन सफल हुने विश्वास व्यक्त गरे।

सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा गणेश अग्रवाल र साधना शर्माले अभिनय गरेका छन्। गीतमा राजेशपायल राईको स्वर, राजु सिंहको संगीत तथा वसन्त बित्यासी थापाको शब्द तथा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ। सञ्जय पाण्डेले निर्देशन गरेको भिडियोलाई सुरेश वज्राचार्यले खिचेका हुन्।

मिलाप मासिकले आयोजना गरेको कार्यक्रममा कलाकार तथा चलचित्र विकास बोर्डका पूर्वसदस्य उत्तम केसीले सांगीतिक यात्राको २५ वर्ष बितिसक्दा २०४९ सालबाट रित्तो सडक नामक गीतबाट यहाँसम्म पुगेकोमा बधाई दिए। त्यस्तै मिलाकी कार्यकारी सम्पादक गीता अधिकारीले पनि शुभकामना दिइन्।

राजु सिंह र वसन्तले अबिरल, ठूल्नानी, मित्रता, अनुरोध, गहना, दशक जस्ता एल्बम संयुक्तरूपमा ल्याएका छन्। यीमध्ये रित्तो सडकमा नजरको दोषी बनी, आश्वासन नदेउ, हिँड्दा कहिले काहीं ठेस लाग्छ, आलो मेरो घाउमा जस्ता बित्यासी र सिंहका चर्चित गीत हुन्।

Skip This