पण्डितको मन्त्रालय नै गायब !



सामान्य प्रशासनमन्त्री हुँदा केही काम गरेर चर्चा कमाएका लालबाबु पण्डितलाई आफूसँगै खड्गप्रसाद ओलीले मन्त्री बनाए तर सुरुमै फेरि पनि राम्रो काम गर्छु मलाई कुनै लोभलालच छैन भनेपछि अत्तालिएर हतारमा प्रधानमन्त्री भएका ओली पनि कतै लालबाबुको चर्चाले आफूजस्तो राष्ट्रवादको नारा लगाउन सक्ने क्षमताको व्यक्ति ओझेलमा पर्छु कि भनेर अत्तालिएका छन्।

ओलीले माओवादीसँगको सहमतिमा मन्त्रालय बाँडफाँट गर्दा पण्डितको मन्त्रालय नै माओवादीलाई दिए, यसको अर्थ के होला भनेर धरहराले माथिबाट हेरेपछि यो पत्ता लगाएको छ कि हिजो सुशील कोइराला प्रधानमन्त्री भए पनि कोइरालाभन्दा पण्डित नै चर्चामा रहे त्यही कुरा बुझेर ओलीले मन्त्रालय नै माओवादीलाई पारिदिए। मन्त्री रहँदै गरेको र जनताका पक्षमा बोल्दै आएका पण्डित अहिले कि त माओवादीमा प्रवेश गर्नुपर्ने भयो कि त अर्को मन्त्रालयमा जानुपर्ने भयो कमसेकम कति कमजोर सोच रहेछ ओलीको भन्ने पनि प्रस्ट भएको छ। पण्डितले काठमाडौंको धूवाँ धुलो हटाउँछु भनेर नचाहिँदो नै बोलेका हुन् त ?

धरहराको प्रश्न छ। नेपालमा बसेर सरकारी जागिर खाने अनि विदेशको डीभी र पीआर लिएर बसेका कर्मचारीलाई कारबाही गर्छु भनेपछि कर्मचारी मात्र होइन नेताहरू पनि आत्तिएका थिए। उनले ‘अब नेताहरूको पनि छानबिन गरेर कारवाही गर्नुपर्छ’ भनेका थिए। एमालेका धेरै नेताहरूले डीभी र पीआर लिएको र पण्डितले विरुद्धमा बोलेको भन्दै पार्टीको महाधिवेशनमा उपाध्यक्ष उठ्दा उनीहरूले मतदान नगरेको पनि चर्चा चलेको छ तर जे होस् पण्डितको अभियान साँच्चै प्रेरणादायी छ। आखिर एउटा व्यक्तिले सुरु गर्दा केही हुन्छ भने सबै मन्त्रीहरू राम्रो काम गर्न किन नलाग्ने ?

प्रतिक्रिया दिनुहोस्