स्मृतिमा अक्षरपूजारी कृष्णप्रसाद दुवाल

282
Shares

मोहन दुवाल
त बुधबार कृष्ण दाइ अर्थात् साहित्यकार कृष्णप्रसाद दुवालले ७८ वर्षको उमेरमा सधैँका लागि हामीलाई छोडेर गए। यिनै साहित्यकार कृष्ण दाइका अक्षर गाथाहरू स्मृतिमा राखेर नियालिरहेछु। बनेपाको माटोमा जन्मेर, काभ्रेभूमिमा थुप्रै साहित्यिक अभियान चलाएर आफूलाई साहित्यिक योद्धाका रुपमा स्थापित तुल्याइसकेका कृष्णप्रसाद दुवालका साहित्यिक पदचिन्हहरू आजपर्यन्त अविस्मरणीय छन्। दुःख, कष्ट केहीको पनि परवाह नगरी निरन्तर साहित्य–साधना र सिर्जनामा लागिरहन सक्नु नै यिनका चर्चायोग्य विशेषताहरू हुन्।

साहित्यमा यिनले थुपै्र गरे, अनगिन्ती साहित्यका हरफहरू कोरे, विविध पुस्तक–पत्रिका प्रकाशन गरे। विशेषतः बालकवितामा आफ्नो नाम र धाम बनाउन सफल कृष्णप्रसाद दुवालका अनगिन्ती बालकविताहरू राष्ट्रमा छरपस्ट छन्। बालकवितामा ‘मेरो गाउँघर’ कवितासङ्ग्रह प्रकाशित गरेर विद्यालयका नानीहरूका प्रिय कवि बनिसकेका थिए कृष्णप्रसाद। उनले पुर्याएर गएका साहित्यिक अभियानहरू, प्रकाशित गराइएका थुप्रै साहित्यिक प्रकाशनहरू र साहित्यिक पत्रकारितामा २०१७ सालतिर नै चिराग मासिक अक्षरमा बालेर अनि बालकवितामा राष्ट्रकवि माधव घिमिरे, कृष्णप्रसाद पराजुलीकै हाराहारीमा रहेर बालकविताहरू लेखेर जुन कीर्तिमान कायम गरेर गए, ती इतिहासका पृष्ठहरू सधैँ स्मरण भइरहनेछन्। पशुपति आर्यघाटमा ह्वारह्वार्ती बलेका यिनका अनुहार स्मृतिमा राख्दै उनले पुर्याएर गएका अक्षर–कर्महरू सम्झनामा राखेर उल्लेख गरिरहेछु।

निरन्तर केही गरिरहन गाह्रो हुन्छ, निरन्तर एउटै उद्देश्य साँचेर अघि बढिरहन कठिन हुन्छ। तर कुनै पनि विषयमा आफूलाई निरन्तर क्रियाशील गर्न सके एउटा इतिहास निर्माण हुन्छ। राजनीति, समाजसेवा, धर्मकर्म, साहित्यलगायत कुनै पनि क्षेत्रमा निरन्तर लागिरहन सक्नेहरूले समाजमा आ–आफ्ना ढंगका डोबहरू छोड्छन्। समाजमा केही न केही डोबहरू छोड्न इच्छा गर्नेहरूले नै समाजमा नयाँ–नयाँ चिन्तनहरू बाँड्छन्। यसै सन्दर्भमा राखेर उल्लेख गरिँदा बनेपाका साहित्यिक योद्धा कृष्णप्रसाद दुवाल अर्थात् के.पी. दुवाल याने के.पी. सरलाई भुल्न गाह्रो हुन्छ। निःस्वार्थ सेवामा जीवनका क्षणहरू खर्च गर्नेहरू आर्थिक या भौतिक सुखभोगबाट टाढा हुन्छन्। जसले समाज, देश र जनताको लागि आफूलाई बालेर देखाउने प्रयास गर्छन्, उनीहरू मैनबत्तीझैँ बल्दै जान्छन्। यस्तै मैनबत्तीको स्थितिमा आफूलाई बालेर अरूलाई देखाउँदै, प्रेरणा दिँदै आएका एकजना साहित्यिक प्रतिभा हुन् कृष्णप्रसाद।

वि.सं. १९९६ भाद्र १५ गते बनेपा, भोलाखाटोलमा पिता स्व. गणेशबहादुर र माता स्व. खिलकुमारीको कोखबाट साहित्यकार कृष्णप्रसाद दुवालको जन्म भएको हो। सानै छँदा नै साहित्य–सिर्जना र साहित्यिक क्रियाकलापमा संलग्न उनले निःस्वार्थ सेवाको भावनाले आफूलाई समाजमा समर्पित तुल्याए। आजपर्यन्त पनि एउटा साहित्यकारका रूपमा आफूलाई चिनाइरहे। आर्थिक सङ्कटको चेपुवामा परेर पनि जीवन र जगत्प्रतिको मानवीय संवेदनालाई सरलताका साथ साहित्यमार्फत अभिव्यक्त गरिरहने कार्यमा अनवरत लाग्नु नै उनको प्रेरक कार्य हो भन्न सकिन्छ। आजाद हाइस्कुल बनेपाबाट शिक्षा आरम्भ गरेका कृष्णप्रसाद दुवालले बी.एड. पहिलो वर्षसम्म मात्र शिक्षा पूरा गरेको देखिन्छ। पछि जीवनका क्षणहरूमा थुप्रै वर्ष आजाद हाइस्कुल, प्रौढ शिक्षा निकेतन, श्रीखण्डपुर स्कुल र चण्डेश्वरी मा.वि. नालामा शिक्षक भई सेवा गरेका यिनले राजनीति, समाजसेवा, पत्रकारिता, शिक्षणसेवा, साहित्यिक साधना र साहित्यिक यात्रामा आफूलाई समर्पित तुल्याउँदै आएको देखिन्छ। साहित्यसेवा मण्डल, प्रभात नृत्यमण्डललगायत थुप्रै साहित्यिक सङ्घसंस्थामा रही सेवा पुर्याइसकेका दुवाललाई २०५२ सालमा सुनकोशी साहित्य प्रतिष्ठानद्वारा जिल्लाकै एकजना राष्ट्रिय प्रतिभाका रूपमा अभिनन्दनसमेत भइसकेको देखिन्छ।
कविवर सिद्धिचरण श्रेष्ठसँग निकै नजिकको सम्पर्क र उठबस गरेका कृष्णप्रसाद दुवालले साहित्यिक आकाश छुने भविष्यका इच्छालाई साकार पार्न निरन्तर कठिन साहित्यिक यात्रामा लागिरहेको देखिन्छ। प्रतिभा नफुल्ने ठाउँमा, प्रतिभाको कदर नहुने बस्तीमा र प्रतिभाको खिसिट्युरी गर्ने परम्परा भएको यस परिवेशमा कृष्णप्रसादहरूको यात्रा यात्राजस्तो नदेखिनु आश्चर्य मान्नुपर्ने विषय होइन। उनले साहित्यका लागि जीवन नै समर्पण गरे, समर्पण हो उनको जीवन। कृष्णप्रसादजस्ताको समर्पणको कदर नगर्ने र मान्छेको मान्यता अर्थमा सीमित राखी मान्छेको चेतना र ज्ञानलाई मूल्याङ्कन नगर्ने यस देशमा प्रतिभाको अर्थ र मान्यता कहाँनिर राखेर विश्लेषण गर्ने हो? म विम्ब खोजिरहेछु।

जीवन बोकेर मान्छे क्रियाशील हुन सिक्नुपर्छ, क्रियाशीलताकै नाम हो मान्छे। बाँचुन्जेल क्रियाशील रहनु नै जीवन हो भन्नुहुने कृष्णप्रसाद दुवालले आफ्नो साहित्यिक आरोह–अवरोहमा थुप्रै प्रकारका कठिन यात्रा पार गरेर गएको देखिन्छ। राजनीतिक सचेतनाकै हिसाबले चेतनशील भईकन पनि जीवनका थुपै्रै उत्सर्गहरू राजनीतिमा गुजारेर पनि जम्न र सफलता पाउन नसकेका असफल राजनीतिज्ञको नाम भइदिएको छ कृष्णप्रसाद दुवाल। उनलाई राजनीति पटक्कै फापेन। साहित्यमा चाहिँ लगनशीलताले भरिएको समर्पण बिर्सिनसक्नु छ। बनेपाको सन्दर्भमा भन्ने हो भने, उनी साहित्यिक इतिहासका धरोहर भएका छन्, खोजी गर्दा थाहा लाग्ने कुरा हो। कवि कृष्णप्रसाद दुवालको साहित्यिक यात्रा र जीवनका तरंगहरूबीच फुलेका साहित्यिक सिर्जनाहरूमा आफ्नै भाषा, आफ्नै भाव र आफ्नै सौन्दर्य जगमगाएका छन्। उनका कविताहरूमा देशप्रेमको भावना, मानिसका आँसु र हाँसोका व्यथा र उमंगहरू, मानिसकै विम्ब–प्रतिविम्ब, विश्वकै मानचित्र अनुभूति बनेर अभिव्यक्त भएको पाइन्छ। कवितामा कतै परिवर्तनको, कतै आशाको र कतै उज्यालोको सङ्केत दिने कवि दुवाल कविताविम्बमा जीवन्त छन्।

राजनीतिमा पहिले काङ्ग्रेस पार्टीका जिम्मेदार व्यक्ति भएर कार्य गरेका कारणले २०१७ सालको काण्डमा अराष्ट्रिय तत्वका रूपमा पक्राउ परी केही दिन उनी भक्तपुर खोरमा थुनिएको देखिन्छ। उनले रा.प.स.मा उम्मेदवारी दिए तर सफलता प्राप्त गर्न सकेनन्। नेपाल युवक संगठन, काभ्रेको सभापतिसम्म भएका कृष्णप्रसाद दुवाल राजनीतिको आयामभित्र दिगो ढंगले स्थापित हुन सकेनन्। राजनीतिक क्रम र शिक्षणसेवाबाट आफूलाई पृथक् राखेर पछि साहित्य–साधना र सेवामा निरन्तर लागिरहेका उनले थुपै्र साहित्यिक कृतिहरू लेखीकन प्रकाशन गरेको देखिन्छ। सम्पादनको क्षेत्रमा संग (हस्तलिखित नेपालभाषा पत्रिका) देखि बालबाटिका, सिद्धिदास महान्, नेपाली र नेपालभाषाका पुस्तकहरूलगायत चिराग (मासिक), युवा सन्देश (साप्ताहिक) र प्रवद्र्धन (पाक्षिक), मैत्रीय सन्देश (मासिक) समेतको सम्पादक भई सेवा पुर्याएको देखिन्छ। २०१४–१५ सालदेखि लेख्दै, सम्पादन गर्दै, गोष्ठी र सभा सञ्चालन गर्दै र कविता सुनाउँदै हिँड्ने कृष्णप्रसाद दुवालको अवसान हुनु भनेको एउटा युगको साहित्यिक प्रयत्नको अवसान हुनु हो।

जीवन संगिनी सूर्यमाया श्रेष्ठ याने गरमदेवीले आफूलाई छोडेर गएदेखि उनी आफूलाई कहिले छोराहरूसँग आत्मीयता साटेर, कहिले छोरी, बुहारी, नाति–नातिनाहरूलाई माया बाँडेर जीवनपथमा कठिन ढङ्गले यात्रामा समर्पित हुँदै आएका थिए। मानवीय प्रेमबाट नै साहित्यिक अनुभूति पोख्न शुरू गरेका कवि कृष्णप्रसाद दुवालका हालसम्मका प्रकाशित पुस्तकहरूमा जिं हालागु म्ये (नेपालभाषा कवितासङ्ग्रह २०१५), मेरो गाउँघर (बालकवितासङ्ग्रह), कमिलाको ताँती (बालकवितासङ्ग्रह २०४८), पुरानो पहाडमाथि नयाँ क्षितिज (कवितासङ्ग्रह २०४९), बालबाटिका (बालकवितासङ्ग्रह), मुसाहरूको खेल (बालकवितासङ्ग्रह २०५२), खोरभित्रको शेर (बालकवितासङ्ग्रह २०५२) आदि र थुप्रै प्रकाशोन्मुख कृतिहरू बाँकी छन्।
विधागत योगदानको हिसाबले उनले कथा, निबन्ध, नाटक, कविताहरूका साथै थुपैै्र बालकविताहरू लेखेको देखिन्छ। विशेषतः बालकवितामा आफ्नै ढङ्गको सुन्दर भाषा र भावना अभिव्यक्त गर्न सिपालु कवि कृष्णप्रसादका बालकविताको इतिहासमा आफ्नै डोब र आफ्नै आयाम छ। नेपालका इनेगिनेका बालसाहित्यकारहरूको कोटीमा राख्न मिल्ने दुवालका बालकविताहरू एकताका पाठ्यपुस्तकका रूपमा पनि पठनपाठन हुन्थे। पुरानो पहाडमाथि नयाँ क्षितिज कवितामा आफ्नो अनुभूति उनी यसरी पोख्छन्–
वर्तमान साह्रै दुब्लो–पातलो हुँदै गएछ
एक छाकमा छटपटाइरहेको छ
बाँदरले कोपरेको अनुहार बोकी
आफ्नो सृष्टि र कल्पना
स्पष्ट रेखामा कोर्न नसकी
ऊ त्यो क्षितिजमा
क्षितिज नै भइदिएको छ।
यसै कवितामा कवि दुवालले जन्मने, मर्ने, बाँचुन्जेल खानै पर्ने, लाउनै पर्ने प्रकृतिको नियम र मानिसको सभ्यता जस्ताको तस्तै रहेकोमा दार्शनिक पाराले आफ्नो विचार कवितामा यसरी पोखेका छन्–
यहाँ पुरुषले बच्चा जन्माएको छैन
बाघले कुकुर जन्माएको छैन
मुसाले बिरालो पनि खाएको छैन
यो ईश्वरको खेल भनिन्छ
कसैले बदल्न पनि सकेको छैन
खोई तेरो नयाँ युग …?
विचारका धनी, शब्दसंयोजन गर्न सिपालु दुवालले विश्वबारे आफ्नो कवितामा यसरी धारणा व्यक्त गरेका छन्–
ममा विश्व छ
विश्वमा म छु
नपत्याए हेर
मेरा छातीभरि विश्व छ
मेरो आँखाभरि विश्व छ।
बालकविताको क्षेत्रका देशका एकजना उत्कृष्ट कवि कृष्णप्रसाद दुवालले आफ्ना बालकविताहरूमा बालक नै भएर सोचेको, बोलेको र खेलेको पाइन्छ। साहित्यकार बासु रिमाल यात्रीले लेखेझैँ यो सबैभन्दा असजिलो काम कृष्णप्रसाद दुवालले मेरो गाउँघर (बालकवितासङ्ग्रह) मा गरेका छन्। अन्त्यमा हामीले भन्नुपर्छ, एकजना परिश्रमी साहित्यिक योद्धाको भौतिक देहको अन्त्य भएको छ। अक्षरका पूजारी कृष्णप्रसाद दुवाललाई श्रद्धावत् श्रद्धाञ्जलि भनिरहेछु।