संरचना र व्यावसायिकता खोज्दै नेपाली क्रिकेट



रीतेश घिमिरे
जति बेला भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग जित्नका लागि मैदानमा आम्नेसाम्ने थिए, मिडिया बक्सबाट हजारौंको संख्यामा दर्शकको उपस्थिति देख्दा मलाई टेलिभिजनमा हेरेको भारत–पाकिस्तानको म्याचको झ–झल्को आइरहेको थियो। कुनै पनि घरेलु प्रतियोगिताको खेलमा समर्थकको त्यो बाक्लो उपस्थिति सायदै पहिले देखिएको थियो होला। गत पुस १५ मा सम्पन्न फाइनल खेलअन्तर्गत भैरहवा र विराटनगर टिमको समर्थनमा ब्यानर, प्लेकार्ड तथा हुटिङले टीयू क्रिकेट मैदान भरिएको थियो। भैरहवाको समर्थनमा पनि, विराटनगरको समर्थनमा पनि, म नेपाली क्रिकेटको समर्थन देखिरहेको थिएँ। हालै सम्पन्न एभरेस्ट प्रिमियर लिगको सफलता दर्शाइरहेको थियो क्रिकेट समर्थकको त्यो उपस्थितिले।

क्रिकेटप्रतिको त्यो क्रेज देख्दा हर्षित हुनु त स्वाभाविक नै थियो, तर मन त्यति बेला खिन्न भयो जब नेपाली क्रिकेटको अन्योलता सम्झिएँ। जहाँ घरेलु प्रतियोगिताको एउटा खेलमा कुनै टेस्ट राष्ट्रको अन्तर्राष्ट्रिय खेल जस्तो क्रेज देखिन्छ, त्यहाँ क्रिकेट सञ्चालन गर्ने कुनै आधिकारिक निकाय नै छैन। क्रिकेटको विकास र उत्थानभन्दा पनि अनावश्यक राजनीतिक दाउपेचको मारले यसरी थिचेको छ नेपाली क्रिकेटलाई कि प्रचूर सम्भावना हुँदाहुँदै पनि माथि उठ्न सकेको छैन। विपक्षी टिमलाई हराएर र खेल जितेर मात्र क्रिकेट माथि उठ्ने होइन भन्ने कुरा नेपाली क्रिकेटको हालको अवस्थाले छर्लङ्ग पारिदिएको छ।

जब राष्ट्रिय टोलीले राम्रो प्रदर्शन गर्छ, त्यति बेला टिम र खेलाडीको प्रशंसामा शब्दहरू प्रवाह गर्ने जमातको कमी छैन यहाँ। खेललाई व्यावसायिक बनाउनुपर्छ, सिस्टम बनाउनुपर्छ भनेर उफ्रिने त्यही आवाज जब नेपाली टिमको सफलताको गाथा सेलाउँदै र पुरानो हुँदै जान्छ, कता हराउँछ, थाहा छैन।

निलम्बित क्यान
अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) लाई निलम्बन गरेको अवस्था हो। अनावश्यक राजनीतिक हस्तक्षेप तथा क्यानभित्रको आन्तरिक विवादको फलस्वरूप आईसीसीले क्यानलाई निलम्बन गरेको छ। निलम्बनपश्चात् नेपालले आईसीसी र एसीसीबाट पाउने गरेको अनुदान पनि कटौती गरिएको छ। नेपाली टोलीको छनोटदेखि लिएर घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट सबै आईसीसी आफैंले हेरिरहेको छ क्यानको अनुपस्थितिमा।

क्यान निलम्बनमा परेको यतिको समय बितिसक्दा पनि कहींकतैबाट आधिकारिक क्रिकेट निकायको पुनःस्थापना गर्नका लागि ठोस कदम अघि नबढेको कुरामा दुई मत नहोला। आईसीसीले नेपाली क्रिकेट विवाद समाधानका लागि आगामी पाँच महिनाको समयसीमा तोकेको छ। आईसीसी प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलगायत क्रिकेटका सरोकारवाला निकाय तथा क्यानको तदर्थ समितिसँग गरेको छलफलपश्चात् क्यानको निलम्बन फुकुवा हुने केही आशा पलाएको छ। यदि छलफलअनुरूप सबै कार्य पालना भए आईसीसीले आगामी जुनमा निलम्बन फुकुवा गर्न सक्नेछ भन्ने आशमा छौं हामी सबै नेपाली क्रिकेट समर्थक।

घरेलु प्रतियोगिता
केही समययता, नेपाली क्रिकेटमा सकारात्मक ऊर्जा पलाउने पक्ष केही छ भने त्यो बढ्दो घरेलु क्रिकेट प्रतियोगिता नै हो। एभरेस्ट प्रिमियर लिग (ईपीएल) तथा धनगढी प्र्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगिताले नेपाली क्रिकेटमा व्यावसायिकताको विकास गर्न ठूलो भूमिका खेलेका छन्। यस्ता प्रतियोगिताको माध्यमबाट नेपाली घरेलु क्रिकेटमा व्यावसायिकताको शुरुआत गर्ने श्रेय आमिर अख्तर तथा सुवास शाही जस्ता व्यक्तित्वलाई जान्छ। र, यो थालनी अझै गतिशील तथा स्तरीय हुँदै गएमा यसले समग्र नेपाली क्रिकेटलाई नै फाइदा हुने तथ्य हामी सबैले बुझेकै छौं।

जति पनि प्रतियोगिता सञ्चालन हुन्छन्, सबै टी–ट्वान्टी फम्र्याटमा नै हुनुलाई चाहिँ हामीले सकारात्मकरूपमा लिनुहुँदैन जस्तो लाग्छ। घरेलु स्तरको २० ओभरको खेलमा गरेको प्रदर्शनको आधारमा खेलाडीलाई राष्ट्रिय टोलीमा छनोट गरिन्छ अनि उसले अन्तर्राष्ट्रिय टिमसँग ५० ओभरको खेल खेल्दा आफूलाई परिस्थितिअनुरूप ढाल्न असहज भएको नेपाली टिमको प्रदर्शनले पनि देखाउँछ। हालको परिप्रेक्ष्यमा हेर्दा घरेलु स्तरमा पनि ५० ओभर फम्र्याटका खेलहरू आयोजना गर्नु अपरिहार्य देखिएको छ।

नयाँ तथा युवा खेलाडीलाई मौका
विभिन्न उमेर समूहको प्रतियोगिताबाट राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीको संख्या बढ्दै गइरहेको छ। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, रोहित पौडेल जस्ता खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउनु पक्कै पनि भविष्यका लागि निकै लाभदायक हो। सिनियर खेलाडीको संन्यासपछि यिनै युवा खेलाडीको काँधमा नेपाली क्रिकेटको जिम्मेवारी जाने भएकाले अहिलेदेखि नै पर्याप्त मात्रामा राष्ट्रिय टिमको अनुभव बटुल्न जरुरी छ युवा खेलाडीले।

एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान
भौतिक तथा आर्थिक कमजोरीलाई नेपाली क्रिकेटको समस्यामा सधैं जोडिने गरिन्छ। तर, यसलाई प्रमुख समस्याको रूपमा लिनु सान्दर्भिक ठान्दिनँ म। आर्थिक र भौतिक कमजोरी त आज अथवा भोलि हामी हल गर्छौं तर जबसम्म हाम्रो मानसिकता, सोच र प्रणालीमै समस्या रहन्छ तबसम्म हामी कदापि माथि उठ्न सक्दैनौं। हामीसँग एउटा मात्र अन्तर्राष्ट्रियस्तरको मैदान छ, त्यो समस्या होइन। समस्या यो हो कि अर्को मैदान किन तयार पार्न सकिरहका छैनौं हामीले। मूलपानी क्रिकेट मैदानको निर्माणले पनि भर्खरै मात्र केही गति लिएको हो कि जस्तो लाग्छ। यदि यही तदारुकता पहिले नै देखिएको भए मूलपानी मैदानमा आज हामी अन्तर्राष्ट्रिय खेल हेरिरहेका हुने थियौं।

सन्दीप लामिछाने आईपीएलमा
हालै सम्पन्न आईपीएल अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले आफ्नो टिममा समावेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटका हस्ती अस्ट्रेलियन रिकी पोन्टिङ प्रशिक्षक रहेको सो टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्सवेल, कगिसो रबाडा, अमित मिश्र जस्ता खेलाडीसँगको सहकार्यले युवा सन्दीपमा अवश्य नै निखार ल्याउनेछ। सन्दीपले आफ्नो क्षमता र प्रदर्शनबाट सबैको मन जित्न सकेमा अर्को सिजनमा अन्य नेपाली खेलाडीका लागि पनि ढोका खुला हुने निश्चित छ।

नेपालसँगै क्रिकेट खेलेको अफगानिस्तान आज अन्तर्राष्ट्रिय क्रिकेटमा गुणस्तरीय प्रदर्शन गरिरहेको छ। अफगानिस्तानी क्रिकेटबाट सिकेर हामीले पनि नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउनुपर्ने समयमा हामी भने नेपाली क्रिकेटको आधिकारिक संस्था क्यान निलम्बनबाट जोगाउन कसरत गरिरहेका छौं। अब पनि अनावश्यक राजनीतिक हस्तक्षेप, व्यक्तिगत दाउपेच, खुट्टा तान्ने प्रवृत्ति र क्रिकेटलाई पैसा कमाउने भाँडोको रूपमा प्रयोग गर्ने चलनको अन्त्य नगर्ने हो भने कुनै दिन नेपाली क्रिकेट पनि एकादेशको कथा नहोला भन्न सकिन्न।

अफगानिस्तानी क्रिकेटबाट सिकेर हामीले पनि नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउनुपर्ने समयमा हामी भने नेपाली क्रिकेटको आधिकारिक संस्था क्यान निलम्बनबाट जोगाउन कसरत गरिरहेका छौं । अब पनि अनावश्यक राजनीतिक हस्तक्षेप, व्यक्तिगत दाउपेच, खुट्टा तान्ने प्रवृत्ति र क्रिकेटलाई पैसा कमाउने भाँडोको रूपमा प्रयोग गर्ने चलनको अन्त्य नगर्ने हो भने कुनै दिन नेपाली क्रिकेट पनि एकादेशको कथा नहोला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस्