विनोद सिंह विष्ट, बैतडी । भारत सरकारले वस्तु विक्रि कर (जिएसटी) लागु गरेकाले महाकाली भन्सार कार्यालय झुलाघाट बैतडीले कर संकलनमा भारी गिरावट आएको जनाएको छ ।
भारतबाट आयत हुने सामग्री चालु आर्थिक बर्षमा कम आयात भएपछि राजस्वमा कमी आएको महाकाली भन्सार कार्यालयका प्रमुख डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । भारत सरकारले वस्तु विक्रि कर (जिएसटी) लागु गरेको र भारतीय व्यापारीहरु पनि जिएसटी करमा दर्ता नभएकाले भारतीय व्यापारीले समान नै विक्रि गर्न सकेनन् उहाँले भन्नुभयो “भारतवाट कम मात्रामा सामान आयात हुँदा राजश्वमा कमी आयो ।”
महाकाली भन्सार कार्यालय झुलाघाटले चालु आर्थिक बर्षमा १ करोड ६० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि चालु आर्थिक बर्षको ७ महिनामा ३७ लाख मात्रै राजस्व संकलन भएको छ ।
भारतले सामग्री पैठारीमा कडाई गरेपछि राजस्व संकलनमा प्रभाव परेको हो । गत आर्थिक बर्षमा ७ महिनाको अवधिमा ६० लाख बढी राजस्व संकलन भईसकेको थियो ।
जीएसटीको प्रभाव नेपाली बजारमा पनि
बैतडीका मुख्य बजारमा पहिला भारतीय सामग्रीको प्रभाव रहेको भए पनि पछिल्लो समयमा भारतीय सामग्री कम पाइन थालेका छन् । भारतीय बजार झुलाघाटका व्यापारीले आफ्नो पसलमा जीएसटीमा दर्ता गरेका छैनन् । भारतबाट सिमेन्ट,फलाम,चिनी लगायतका वस्तुहरु नेपाल आयात हुँदै आएका छन् ।
भारतले जीएसटी लागू गरेपछि भारतीय बजारबाट सामग्री ल्याउन नसकिएको बैतडीका एक व्यापारी मान बहादुर टेरले बताउनुभयो। भारतीय कस्टमले सामग्री आयतमा कडाइ गरेपछि हामीहरुले पनि भारतीय सामग्री ल्याउन सकेका छैनौं उहाँले भन्नुभयो “भारतबाट आयात हुने सामग्री केही सस्तो हुने भएपनि पछिल्लो समयमा करका कारण बढी महँगो भएको छ ।”
भारत सरकारले वस्तु विक्रि कर (जिएसटी) लागु गरेको र भारतीय व्यापारीहरु पनि जिएसटी करमा दर्ता नभएकाले भारतीय व्यापारीले समान नै विक्रि गर्न नसन्दा त्यसको प्रभाव नेपाली व्यापारमा पनि परेको छ ।











प्रतिक्रिया