गजक्क माननीय



सांसद, मन्त्री वा सोभन्दा माथिल्लो पद र जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई सम्बोधन गर्दा माननीय र सम्माननीय शब्दले खुब पुकारिन्छ। सार्वजनिक कार्यक्रममा त झनै धेरै पटक यस्ता शब्द दोहोर्याइन्छ। लाग्छ कि उनीहरू छुट्टै ग्रहका हुन्, त्यसरी सम्बोधन गर्नेहरूचाहिँ यही पृथ्वीका।
धरहराले पनि सांसद, मन्त्री वा अन्य विशिष्ट व्यक्तिहरूलाई माननीय र सम्माननीय शब्दले सम्बोधन गरेको धेरै पटक देख्दै सुन्दै आएको हो। पूर्वमन्त्री वा पूर्वसांसदहरू पनि यस्तै शब्दले आफूलाई सम्बोधन गरियोस् भन्ने चाहन्छन्, त्यस्तो शब्दले सम्बोधन गरियो भने खुब गजक्क पर्छन्।

तर अब सम्माननीयको सूचीमा केबल राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू मात्रै रहेनछन् भन्ने कुरा सोमबार धरहराले देख्न पायो। काठमाडौंको न्युरोडस्थित एक मोबाइल पसलको सेवा शुभारम्भका क्रममा उद्घोषिकाले निकै जोड दिँदै भनिन्– ‘सम्माननीय व्यवसायीहरूलाई आसन ग्रहण गर्न आग्रह गर्छु।’

निकै चिरिच्याँट्ट परेकी, लेखपढ राम्रै भएकी जस्तै देखिने उद्घोषिका झुक्किइन् कि भनेर धेरैले त्यस्तो शब्दबारे चासो लिए तर उनले फेरि उस्तै शब्द दोहोर्याइन्। व्यवसायी पनि के कम गजक्क परे, अनि गरे आसन ग्रहण। त्यसैले पाठकवृन्द, अब कहींकतै व्यवसायी आमने सामने परे भने उनीहरूलाई सम्बोधन गर्ने शब्दचाहिँ झुक्किनुभएन है! शब्द दुरूपयोग भयो भनेर नेता र मन्त्रीहरूले चाहिँ दुखेसो पो पोख्ने हुन् कि?

प्रतिक्रिया दिनुहोस्