बाध्यात्मक विकल्प



चार जात छत्तिस वर्णको फूलबारी कहलिएको मुलुक वर्षैभरि मनाइने चाडवाडमा पनि उत्तिनै सम्पन्न छ। एक हप्ताअघि कुनै जात र समुदायको चाडपर्व पर्यो भने अर्को साता अर्को समुदायको पर्व वा चाड दोहोरिहाल्छ। भोलि माघीपर्व अर्थात् मकर संक्रान्ति।

थारु जातिहरुको नयाँ वर्ष पनि। तर यो पर्व थारु जातमा मात्रै सीमित छैन, समावेशी छ। सबै जातजातिले मुलुकभर आ–आफ्नै ढंगले मनाउँदै आएका छन्। यसपटक पनि सबै जातजातिले गच्छेअनुसारको परिकार बनाउने तयारी गरेको देख्दा धरहरालाई खुसी लागेको छ।

काठमाडौं उपत्यका र आसपासमा चाकु र तिल मिश्रित अनेक मिठाइका परिकारसहित तरुलको व्यापार फस्टाएको छ। शनिबार बिहान काठमाडौंमा माघिको ‘सपिङ’मा निस्किएका दौंतरीले भने सपिङको विकल्प खोजे। स्नातक तहका विद्यार्थी जस्ता देखिने ती युवा र अधबैंसे पसलेबीचको संवाद यस्तो थियो।
युवा–‘दाइ तरुल कसरी ?
पसले–‘किलो को कि
पाउको ?’
युवा–‘पाउ लगेर के गर्नु र किलो।
पसले–‘किलोको २ सय ७०।’
दाम सुनेर राम्रैसँग झस्किएका युवाका दौंतरीले भने– ‘आ भो छोड, केको किन्छ तरुल, बरु १ केजी ब्रोइलर हानौं।’ साथीको कुरामा समर्थन जनाउँदै उनीहरु ब्रोइलर पसलतर्फ लम्किएको देखियो। तपाईं पनि यस्तै विकल्पको खोजीमा हुनुहुन्छ कि ?

प्रतिक्रिया दिनुहोस्