आर्मी र एपीएफ च्याम्पियन



कविरस शर्मा, बिर्तामोड

राखेप च्याम्पियनशिपअन्तर्गत २७औं पुरुष र ८औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोली नै च्याम्पियन बनेका छन्। नेपाल आर्मी क्लब पुरुषतर्फ ८ स्वर्ण, १ रजत र १ कांस्य गरी कुल १९ पदकसहित च्याम्पियन बन्यो। त्यस्तै महिलातर्फ नेपाल एपीएफ क्लब ३ स्वर्ण, ४ रजत र १ कांस्य गरी ८ पदक जितेर च्याम्पियन बन्न सफल भयो।

त्यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लब १ स्वर्ण र ४ कांस्य मात्रै जितेर पुरुषतर्फ तेस्रो स्थानमा रहेको थियो। आयोजक झापा २ स्वर्ण, १ रजत र १ कास्यका साथ दोस्रो भयो। महिलातर्फ पनि दोस्रो र तेस्रो स्थानमा विभागीय टोलीले नै कब्जा जमाएका थिए। जसमा आर्मीले ३ स्वर्ण, २ रजत र ३ कांस्य गरी ८ पदक जितेर दोस्रो स्थान ओगट्यो। पुलिस १ स्वर्ण र २ कांस्यका साथ तेस्रो स्थानमा रहेको थियो।

प्रतियोगितामा आर्मीका प्रेम चौधरी पुरुषतर्फका उत्कृष्ट खेलाडी चुनिँदा महिलातर्फ आर्मीकै विमला श्रेष्ठले उत्कृष्ट खेलाडीको उपाधि जितिन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका झापाका प्रकाश लिम्बु इजाम र ललितपुर टीकाथलीका जेनिस राई उदीयमान खेलाडी घोषित भए। उनीहरुलाई झापा जिल्ला बक्सिङ संघले जनही ५–५ हजार नगद पुरस्कार प्रदान गर्यो।

झापाको बिर्तामोड बजारमा सञ्चालन भएको महिला लाइट फ्लाइवेटको ४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जन र ५१ केजी तौल समूहमा एपीएफकी माला राईले स्वर्ण जितेका छन्। वेन्टमवेटको ५४ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठ च्याम्पियन बनिन्। ५७ केजी तौल समूहमा नक्सालकी कुसुम तामाङले एपीएफकी सन्जु लामालाई अंकका आधारमा हराउँदै स्वर्ण जितिन्।

६० केजी तौल समूहमा एपीएफकी संगीता सुनारले बाजी मारिन्। उनले उपाधि भिडन्तमा काठमाडौंकी मन्दिरा पुतुवारलाई पराजित गरेकी थिइन्। ६४ केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी विनीता थापामगर फाइनल खेलमा स्तब्ध बनाउँदै स्वर्ण जितिन्। ६९ केजी तौल समूहमा प्रहरीकी अनुराधा लामा र ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राणाले स्वर्ण हात पारेका हुन्।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४९ केजी तौल समूहमा आर्मीका तेजबहादुर देउवा र ५२ केजी तौल समूहमा आर्मीकै प्रेम चौधरीले स्वर्ण जिते। ५६ केजी तौल समूहमा पनि आर्मीकै विमल रोकाले स्वर्ण हासिल गरेका छन्। एपीएफका पुरन राई खेलका क्रममा इन्जुरी भएपछि रोकाले प्रतिस्पर्धा गर्नुपरेन।

यसै गरी ६० केजी तौल समूहमा झापाका प्रकाश लिम्बु इजामलाई आर्मीका एकबहादुर घलेले फाइनलमा पराजित गदै स्वर्ण जिते। ६४ केजी तौल समूहमा प्रहरीका भूपेन्द्र थापामगरले आर्मीका दीपक श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते। ६९ केजी तौल समूहमा आर्मीका विष्णु घले, ७५ केजी तौल समूहमा आर्मीकै दीपेश लामा र ८१ केजी तौल समूहमा झापाका मनोहर बस्नेतले स्वर्ण हात पारेका थिए।

९१ केजी तौलको फाइनलमा आर्मीका श्याम खड्काले एपीएफका गोकुल गुरुङलाई हराउँदै स्वर्ण जिते। ९१ केजी तौल समूहभन्दा माथिको फाइनलमा आर्मीका आशिष दुवाडीले काठमाडौंका मेघ डेनियल लामालाई पराजित गर्दै स्वर्ण जिते।

प्रतिक्रिया दिनुहोस्