सावित्राको १२ गोल



फुटबलमा चर्चित जादुमय प्रदर्शन गर्ने खेलाडी संसारमा धेरै छन्। तर, पनि उनीहरूका लागि पनि एउटै खेलमा ४⁄५ गोल गर्न पनि मुस्किल हुन्छ। नेपाली महिला फुटबल प्रतियोगितामा ४⁄५ होइन एकै खेलमा एक खेलाडीले १२ गोल गरिन्। उनी हुन् नेपाल एपीएफ क्लबकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी।

सावित्राले एउटै खेलमा एक्लैले १२ गोल गरेर नेपाली फुटबलमा नौलो इतिहास रचिन्। सावित्राले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं महिला राष्ट्रिय फुटबल लिगमा यो चमत्कारी प्रदर्शन गरेकी हुन्। उनले लिगमा मध्यपश्चिमको टोलीविरुद्ध दर्जनौं गोल गर्दा उनको टोली २६–० को फराकिलो गोलअन्तरको जित भएको थियो।

सावित्राले यतिका गोल गर्न मन त लागेको होइन भन्दै बताएकी थिइन्– ‘गोल यतिका गर्न चाहेको त होइन। तर, उपाधि जित्नका लागि गोलभिन्नताको आधारमा फाइदा पुग्ने हिसाबले धेरैभन्दा धेरै गोल गर्नु पनि आवश्यक थियो। तर, पनि २६ गोलको कल्पना पनि गरेको थिइनँ।’

यस्तै लिगकै दोस्रो खेलमा एपीएफले पश्चिमाञ्चललाई १४–० गोलअन्तरले हराउँदा सावित्राले ८ गोलको योगदान दिइन्। यी क्षेत्रीय टोलीको दाँजोमा उनको प्रदर्शन बलियो टोली आफ्नै समकक्षको विभागीय टोलीसँग भने संघर्षरत रहेको थियो। त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदा उनले निर्णायक गोल गरिन् भने सुपर लिगमा फेरि आर्मीसँग खेल्दा उनले गोल गर्न सकिनन्। तर, अर्को क्षेत्रीय टोली सुदूरपश्चिमविरुद्ध उनले ६ गोल गरिन्।

त्यस्तै हिजैमात्र पनि उनले सुपर लिगको अन्तिम खेलमा पुलिसविरुद्ध व्यक्तिगत २ गोल गरिन्। उनको योगदानले एपीएफले उपाधि नै उचालेको थियो। लिगभरि सावित्राले ६ खेल खेलेर विपक्षीको गोलपोस्टमा कुल २९ गोल गरेकी छिन्। यो पनि कुनै पनि घरेलु लिगमा व्यक्तिगत सर्वाधिक गोल गर्ने कीर्तिमान हो।

प्रतिक्रिया दिनुहोस्