राखेप च्याम्पियनसिपमा खेलाडीको प्रदर्शन



फिरोज राजोपाध्याय

राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपअन्तर्गत विभिन्न प्रतियोगिता राजधानी र राजधानीबाहिर गरी विभिन्न जिल्लामा सञ्चालन भइरहेका छन्। प्रतियोगितामा राष्ट्रिय कीर्तिमान र व्यक्तिगत प्रदर्शनलाई हेर्ने हो भने त्यति संतोषजनक नतिजा मान्न सकिँदैन। महिला फुटबलमा सावित्रा भण्डारीले एउटा नौलो कीर्तिमान राख्नु र भारोत्तोलनमा कमला श्रेष्ठ र संगीता राईले राष्ट्रिय कीर्तिमान रच्नुबाहेक अन्यको प्रदर्शन औसत नै रह्यो।

एथ्लेटिक्स पनि सम्पन्न भयो तर कुनै खेलाडीले पनि राष्ट्रिय कीर्तिमान रच्न वा व्यक्तिगत प्रदर्शनमा सुधार गर्न सकेनन्। राखेपले आगामी मार्चमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता गराउन यो च्याम्पियनसिप खेलाडी छनोटका रूपमा आयोजना गरेको हो। तर, खेलाडीको प्रदर्शन त्यति राम्रो देखिएन र खेलाडीले सागमा नेपालका लागि पदक जित्न अझै मेहनत गर्नुपर्ने संकेत यो च्याम्पियनसिपले देखाइरहेको छ।

बुधबार पोखरामा भएको २३औं पुरुष तथा ८औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी कमला श्रेष्ठले क्लिन एन्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमान राखिन्। कमलाले गत सेप्टेम्बरमा तुर्कमेनिस्तानमा भएको ५औं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्समा राष्ट्रिय कीर्तिमान राख्ने कोशिस गरेकी थिइन्। तर, त्यहँँ उनले स्नाचमा ६८ केजी उठाएर कीर्तिमान राखेकी थिइन्। क्लिन एन्ड जर्कमा ८६ केजीको तौल दुईपटक उठाउन खोज्दा पनि उनले सकिनन्। निरास भएकी कमलाले त्यहाँ भनेकी थिइन्– ‘उठाउन त सकिने हो के भो के भो ? मैले यसको कीर्तिमानमा सुधार गरिहाल्छु। अलि मेहनत पुगेन कि।

नभन्दै कमलाले अस्गाबाटको निरस क्षणलाई करिब ४ महिनापछि नै मेटाइन्। ५८ केजी तौल समूहमा कमलाले क्लिन एन्ड जर्कमा ८६ केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान रचेकी हुन्। यसअघि ललितपुरमा सम्पन्न एसियन युथ तथा जुनियर च्याम्पियनसिपमा उनले ८५ केजी भार उचालेर राष्ट्रिय कीर्तिमान राखेकी थिइन्। स्वर्ण प्राप्त गरेकी उनले स्नाचमा ६५ केजी भारवहन गरेकी थिइन्।

त्यस्तै नेपाल प्रहरीकी संगीताले ४८ केजी तौल समूहमा १२ वर्षको राष्ट्रिय कीर्तिमानलाई तोडेर आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन्। संगीताले क्लिन एन्ड जर्कमा ६६ केजी तौल उठाएर २०६२ सालमा वीरगन्जमा आयोजना भएको राधिका स्मृति कपमा नीता थापाको ६५ केजीको राष्ट्रिय कीर्तिमानलाई तोडेकी हुन्। संगीताले कुल १ सय १८ केजी भारवहन गरेर स्वर्ण पदकसमेत हात पारिन्।

प्रतिक्रिया दिनुहोस्