२०१७ का १० सफल बलिउड फिल्म



रश्मी थापा
बितेको सन् २०१७ मा बलिउडमा सयौं फिल्म रिलिजमा आए। तीमध्ये कतिले बलिउड बक्स अफिसमा सानदार रेकर्ड बनाए भने कतिले कमजोर व्यापार गरे।

तीमध्ये बलिउड समाचार एजेन्सीको सहयोगमा बक्स अफिसमा सर्वाधिक कलेक्सन गर्न सफल टप टेन फिल्मको सूची यहाँ तयार पारिएको छ। यी सबै फिल्मले भारतीय रुपियाँ १०० करोडमाथिको व्यापार गरेको छ। यसमध्ये बाहुबलीले त ५ सय करोडको आंकडा छोएको छ। तर जरूरी छैन कि यो सूचीमा सामेल फिल्म दर्शकको नजरमा पनि हिट भएको होस्। उदाहरणका लागि सलमान खानको ट्युबलाइट पनि यो सूचीमा सामेल छ, तर यो फिल्म दर्शकको नजर र क्रिटिक्सका समीक्षामा असफल सावित भएको थियो। यो टप टेनको सूचीमा सलमान खालका २ फिल्म परेका छन्। वेब दुनियाँ अनलाइनका अनुसार वरुण धवन र अक्षय कुमारका पनि २/२ फिल्म छन्। अजय देवगण, प्रभास, शाहरुख खान र रितिक रोशनको एक÷एक फिल्म समावेश छन्।

 

बाहुबली २
कमाइ ः ५११.३० करोड
निर्देशक एसएस राजामौलीले निर्देशन गरेको बाहुबली २ डबिङ गरेर हिन्दीमा रिलिज भएको फिल्म हो। हिन्दीमा नबनेकाले यो सूचीमा हिन्दी भर्सनको कलेक्सन मात्र सामेल गरिएको छ। तर यसले सबैभन्दा ठूलो व्यापार ग¥यो। यो फिल्ममा प्रभास, राना डग्गुवती, अनुष्का शेट्टी, सत्यराज, तमन्ना, नसार, रम्य कृष्णनजस्ता कलाकारहरुले अभिनय गरेका छन्।

टाइगर जिन्दा हे
कमाइ ः १९०.६२ करोड
२०१७ को अन्ततिर रिलिजमा आएको सलमान खानको टाइगर जिन्दा हेले अहिलेसम्म १९०.६२ करोडको व्यापार गरिसकेको छ। निर्देशक अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्ममा सलमान खान, कट्रिना कैफ, सुदीप, अंगद बेदी, गिरिश कर्नाड, परेश रावल आदि कलाकारको मुख्य भूमिका रहेको छ। यो फिल्ममा त्यस्ता कैयौं दृश्य छन्, जसलाई पत्याउन सकिँदैन। फिल्मले एक्सन फिल्मका दर्शक र सलमानका फ्यानहरुको मन भने जितेको छ।

गोलमाल अगेन
कमाइ ः २०५.५२ करोड
लोकप्रिय बलिउड फिल्म गोलमाल सिरिजको चौथो भाग गोलमाल अगेन अघिल्ला रिलिजभन्दा कमजोर सावित भए पनि २०५.५२ करोडको व्यापार गरेर सुपरहिट फिल्म बन्न पुग्यो। रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अजय देवगण, तब्बु, परीणति चोपडा, तुसार कपुर आदिले अभिनय गरेका छन्।

जुडवा २
कमाइ ः १३८ करोड
१ सय ३८ करोडको व्यापारिक सफलता हासिल गरको हिट फिल्म जुडवा २ लाई डेविड धवनले निर्देशन गरेका हुन्। फिल्ममा वरुण धवन, ज्याकलिन फर्नाडिज, तापसी पन्नु, अनुपम खेर आदिको अभिनय रहेको छ।

रईस
कमाइ ः १३७.५१ करोड
१३७.५१ करोडको व्यापार गरेको फिल्म रइस सन् २०१७ मा ट्वीटरमा सबैभन्दा बढी चर्चा गरिएको फिल्म हो। एक्सन थ्रिलर यो फिल्म गुजरातको अब्दुल लतिफ नामक अपराधीको कथामा बनेको भनिए तापनि यसका निर्माताहरुले भने फिल्म काल्पनिक भएको दाबी गरेका छन्। शाहरुख खान, उनकी पत्नी गौरी खान, फरहान अख्तर र रीतेश सिधवानीले निर्माण गरेको फिल्मलाई राहुल ढोलकियाले निर्देशन गरेका हुन्। फिल्ममा शाहरुख खान, महिरा खान, नवाजुदीन सिद्धीका आदिको अभिनय रहेको छ।

ट्युबलाइट
कमाइ ः १२१.२५ करोड
कमजोर स्क्रिप्टका कारण सोेचे जति व्यापारिक सफलता हासिल गर्न नसके पनि १२१.२५ करोडको व्यापार गरेको ट्युबलाइटमा ५५ वर्षअघिको समय देखाइएको छ। कवीर खानले फिल्म निर्देशन गरेका छन् भने फिल्ममा सलमान खानको साथमा साहिल खान, ओम पुरी आदिको अभिनय रहेको छ।

ट्वाइलेट एक प्रेमकथा
कमाइ ः १३४.२५ करोड
१३४.२५ करोडको व्यापार गरेको यो फिल्मले शौचालय बनाउनुहुँदैन भन्ने भारतीय परम्परागत रुढीवादी सोचलाई कसिलो झापड हानेर सामाजिक चेतनास्तर बढाएको छ। फिल्म श्रीनारायण सिंहले निर्देशन गरेका हुन् भने अक्षय कुमार, भूमि पेडनेकर, दिभ्यन्दु, सुधीर पाण्डे, अनुपम खेर आदिको अभिनय रहेको छ।

जोली एलएलबी २
कमाइ ः १७७ करोड
१ सय १७ करोडको व्यापार गरेको जोली एलएलबी २ मा अक्षय कुमार, हुमा कुरेशी, अनु कपुर, सौरभ शुक्ला आदिको अभिनय रहेको छ। फिल्ममा आफूलाई परिस्थितिअनुसार विभिन्न रूपमा बदमासीका लागि तयार पार्ने अक्षयकुमार कसरी समाजका लागि केही राम्रो गर्ने भन्ने बाटोमा लाग्छन् भन्ने कुरा देखाइएको छ। कानुन नपढी सडकमा च्याम्बर राखेर वकालत गर्ने अक्षयले अदालतबाटै सिकेर आफूलाई जोली एलएलबी बनाउन गरेको संघर्ष र यस क्रममा आइपर्ने कठिनाइ तथा त्यसलाई समाधान गर्दाका समस्यालाई यस फिल्ममा उतारिएको छ।

कबाली
कमाइ ः १२६.८५ करोड
बदलाको भावनाले भरिएको यो फिल्ममा निकै रोचक विषय रहेका छन्। १२६.८५ करोडको व्यापार गरेको यो फिल्म रितिकको चामत्कारिक कामका लागि हेरिनुपर्छ। दृष्टिविहीन भएर पनि चमत्कारी बनेर बदला लिन खोजेको कथा यो फिल्ममा देखाइएको छ। सञ्जय गुप्ताको निर्देशन रहेको फिल्ममा ऋतिक रोशनको साथमा यमी गौतम, रोनित रोय, रोहित रोय आदिले अभिनय गरेका छन्।

बद्रीनाथकी दुल्हनिया
कमाइ ः ११६.६० करोडबक्स अफिसमा ११६.६० करोडको कलेक्सन गर्न सफल फिल्म बद्रीनाथकी दुल्हनियाँमा छोरी जन्मेपछि आमाबाबुले दाइजोको रकम जोड्न शुरु गर्नुपर्ने कुरीतिलाई देखाइएको छ। यो पुरानो विषय भएको र यसमा धेरै फिल्म बनिसकेको भए पनि शशांक खेतानको निर्देशन र लेखन शैलीले फिल्मलाई हेर्न लायक बनाएको छ। फिल्ममा वरुण धवन र आलिया भट्टको साथमा साहिल वेद, गौहर खान, श्वेता बासु आदिको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्