बरमुडा ट्र्यांगलको कहालीलाग्दो रूप



मनोज रेग्मी

पृथ्वीमा निकै नै रोचक तथा रहस्यमय तथ्यहरु लुकेर रहेका छन् जुन अहिलेसम्म कुनै विद्, कुनै वैज्ञानिकहरुले र कुनै अनुसन्धानकर्ताले पनि पत्ता लगाउन सकेका छैनन्। कुनै त्यस्ता तथ्य जसलार्ई विश्वास गर्न गाह्रो छ तर वास्तवमा ती तथ्यहरु सत्य छन्। त्यस्तै अनेकौं अचम्म लाग्दा तथ्यहरुमध्ये बरमुडा त्रिकोण अर्थात् बरमुडा ट्र्यांगल पनि एक हो।

बरमुडा त्रिकोण एट्लान्टिक महासागरको १ ठाउँमा अवस्थित छ जुन त्रिभुज आकारमा छ। यो त्रिकोण आकारमा पास भएर जाने कयौँ विमान र पानी जहाजहरु हराएका छन्। यस्तो कुरा सुन्दा विश्वास गर्न गाह्रो छ। तर, वास्तम्मा यो सत्य छ। विगत ५ सय वर्षदेखि नै बरमुडा त्रिकोणमा करिब १ हजारभन्दा बढी पानीजहाज र हवाइजहाजहरू हराइसकेका छन्। हजारौँ मानिसहरुको निधन पनि भएको छ। तर अहिलेसम्म उनीहरुको सनाखत हुन सकेको छैन।

के छ बरमुडा त्रिकोणको रहस्य ?

यस्तो खतरनाक जमिन जसलाई बरमुडा त्रिकोणको नामले चिनिन्छ, यसबारे अहिले व्यापक चर्चा हुन थालेको पाइएको छ। अमेरिकी लेखक भिसेन्ट गडिसले सन् १९६४ मा यसको सिमाना पत्ता लगाएका थिए। उनले यो सीमानाभित्र पर्ने भागलाई भयानक बरमुडा ट्रयांगल अथवा बरमूडा त्रिकोण भनेर नाम दिएका थिए।

बरमुडा त्रिकोणको बारेमा शुरुशुरुमा त्यति चासो दिइएको थिएन। तर, जब उक्त बाटो हुँदै आवतजावत गर्ने पानीजहाज र हवाइजहाज एकपछि अर्कोगर्दै बेपत्ता हुन थालेपछि यसको वास्तविकता बारे अनुसन्धान शुरु गरिएको थियो। यसरी यसको व्यापक अनुसन्धान हुन थालेपछि यस्तो सहस्य खुलेको बताइन्छ। बरमुडा त्रिकोणमा हराएका जहाजहरु, विमानहरु र व्यक्तिहरु अझैसम्म पनि फेला परेका छैनन्।

बरु उल्टै लापत्ता भएका जहाजहरू खोज्न गएका जहाजसमेत अहिलेसम्म पनि फर्केर आएका छैनन्। त्यसैले बरमुडा त्रिकोण बारे वैज्ञानिकहरु र अनुसन्धानकर्तामाँझ झनै अन्यौलता बढ्दै गएको पाइन्छ। सन् १८७२ मा जहाज द मेरी सेलेस्ट बरमूडा त्रिकोणमा परेर हराएको थियो। जसको आजसम्म पनि कुनै पत्ता लागेको छैन। यस्तै सन् १९४५ मा बरमुडा त्रिकोण क्षेत्र हुँदै गइरहेको अमेरिकी सैनिक विमान फ्लाइट–१९ हराएको अहिलेसम्म पनि फेला परेको छैन।

बरमुडा ट्र्यांगलमा धेरै जहाजहरु हराइरहेका छन् जुन आजको मितिसम्म पनि फेला पर्न सकेका छैनन्। यी सबै एउटा रहस्यको विषय पनि बनिरहेको छ। बरमुडा ट्र्यांगलबारे धेरै किताब तथा चलचित्रहरु बनेका भए पनि यसबारे ठोस कुरा पत्ता लगाउन अझै पनि वैज्ञानिकहरू असफल नै देखिएका छन्। यद्यपि यस विषयमा अध्ययन र अनुसन्धान कार्य भने निरन्तर जारी रहेको वैज्ञानिकहरु बताउँछन् ।

बरमुडा त्रिकोणको अवस्था

संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वी एट्लान्टिक महासागरको अक्षांश २५ डिग्रीबाट ४५ डिग्री उत्तर तथा देशान्तर ५५ बाट ८५ डिग्रीको बीचमा करिब ३९००,००० वर्ग किलोमिटरमा फैलिएको उक्त जमीन एक काल्पनिक त्रिकोण जस्तो देखिन्छ, त्यो नै बरमूडा त्रिकोण हो।

यसका ३ वटा कोणहरु रहेका छन्। जुन कोणहरु फ्लोरिडा राज्यको मियामी शहर, पोर्टारिकोको सान जुवान र बरमुडा प्रायद्वीपको उत्तरी भागमा फैलिएको छ। यो एट्लान्टिक महासागरको बीच भागमा अवस्थित छ। यसमा फसेर हालसम्म भएको दुर्घटनाहरु उक्त त्रिकोणको दक्षिण भागतिर हुने गरेको वैज्ञानिकहरु बताउँछन्। बरमुडा त्रिकोणमा यस्तो के शक्ति छ जहाँ कुनै वस्तु अथवा ठूला–ठूला विमान र पानीजहाज पनि आफूतिर खिच्न सक्छ। यो पत्ता लगाउन अझैसम्म वैज्ञानिकहरु चुकेका छन्।

बरमुडा त्रिकोणसम्बन्धी नयाँ खुलासा

गत २ महिनाअगाडि अमेरिकाको कोलोराडो विश्वविद्यालयबाट गएको एक वैज्ञानिकको टोलीले मरमुडा त्रिकोणको समस्या हल हुन सक्ने बताएको थियो। उक्त टोलीले बरमुडा त्रिकोणको स्याटलाइट तस्वीरहरु लिएर अनुसन्धान गर्दा असामान्य रूपमा हेक्जागनल आकारका बादलहरु त्यस त्रिकोणमाथि देखा परेका थिए। त्यस आकारका बादलहरु अति शक्तिशाली हावाका लहरहरुमा पैदा हुन्छन्। त्यस्ता लहरहरु ४५ फिटभन्दा बढी लामा हुन्छन् र त्यस शक्तिशाली हावाको लहरमा जस्तो वस्तु पर्छ ।

त्यो लोप हुन्छ भन्ने खालको सिद्धान्त उत्पन्न उक्त टोलीले गरेको थियो। तर यो सिद्धान्त भने आधिकारी भने नभएको पुष्टि भइसकेको छ। तैपनि यस सिद्धान्त भविष्यमा गरिने अध्ययन र अनुसन्धानमा निकै नै काम लाग्ने वैज्ञानिकहरुले बताएका छन्। यसै विषयलाई लिएर अंग्रेजी समाचार माध्यमहरुले हर्षका साथ उल्लेख पनि गरेका थिए।

यसरी अनेकौं अनुसन्धानको प्रयास गर्दा पनि असफल बनेका वैज्ञानिकहरु तीब्र रूपमा यसको खोजी कार्यमा लागेका छन्। हजारौँ जहाजहरु, कयौं मानिसहरुको ज्यान खाइसकेको यस्तो सुन्दै कहालिलाग्दो रुप भएको बरमुडा ट्रयांगलको समस्या के वैज्ञानिकहरुले हल गर्न सक्लान् ? अहिले यो नै सबैभन्दा ठूलो चुनौतीको विषय बनेको छ। यसरी हराएका जहाज, विमान र मानिसहरु कहाँ छन् अहिले कुन अवस्थामा छन्? कता छन् ? भन्ने कुरा अझै पनि रहस्यकै रूपमा रहेको छ जसले विश्वका धेरै मानिसहरुको ध्यान यसतर्फ केन्द्रित गराएको छ। यस विषयमा धेरै वैज्ञानिकहरुले आफ्नो अनुसन्धानलाई तिब्रता दिन थालेका छन्। यसबारे अरु थुप्रै नयाँ तथ्य भविष्यमा अवश्य नै आउनेछन् भन्ने आशा गरौं।

बरमुडा त्रिकोणमा फसेका चर्चित जहाजहरु

फ्लाइट ‘द मेरी सेलेस्ट’
सन् १८७२ मा जहाज द मेरी सेलेस्ट बरमुडा त्रिकोणमा परेर हराएको थियो। जसको आजसम्म पनि कुनै पत्ता लागेको छैन।
फ्लाइट डीसी–३
यो जहाज सन् १९४५ मै मियामी राज्यको क्षेत्रमा पर्ने बरमुडा ट्र्यांगलमा हराएको थियो।
फ्लाइट–१९
सन् १९४५ मा फ्लोरिडा राज्यमा तालिमको क्रममा भुलवश बरमुडा ट्र्यांगल क्षेत्रमा जाँदा हराएको यो सैनिक जहाज अझै अत्तोपत्तो छैन भने उक्त जहाज खोज्न गएको सेनाको अर्को जहाज पनि हराएको थियो।
फ्लाइट–४४१
सन् १९५४ को अक्टुबरमा हराएको यो जहाजमा ४२ जना यात्रु थिए। अमेरिकी जलसेनाको यो जहाज पटुसेन्ट रिभर बेस स्टेसनबाट लाजेस शहरका लागि उडेको थियो। यो जहाजको अहिलेसम्म पत्तो छैन।
सी–५४
यो जहाज सन् १९४७ जुलाई ३ मा बरमुडा प्रायःद्वीपबाट उडेको थियो। असावधानीवश त्यस क्षेत्रमा उडेको उक्त जहाज सो क्षेत्रमा पुग्दा ठूलो सामुद्रिक आँधीका कारण बरमुडा त्रिकोणमा फसेको वैज्ञानिकहरुले बताएका थिए।
केबी ५०
सन् १९६२ मा अमेरिकी सेनाको (केबी ५०) नामका यो जहाज बरमुडा त्रिकोणभन्दा माथिबाट गएको थियो। तर फर्केर आएन।
जर्मनका २ जहाज बेपत्ता
सन् १९७२ मा २० हजार टन ओजन भएको एक जहाज त्यही बरमुडा क्षेत्रतर्फ गएको थियो। तर अचान त्यस क्षेत्रमा पुग्नासाथ डुबेको बताइन्छ। साथै सन् १९९७ मा पनि एउटा जहाज त्यसैतर्फ गएको थियो। त्यसको पनि केही पत्ता लाग्न सकेन।

प्रतिक्रिया दिनुहोस्