तमिल सुपरस्टार रजनीकान्तले वर्ष २०१७ को अन्तिम दिन आफूले एक राजनीतिक पार्टी गठन गरी अध्यात्मिक राजनीतिमा सक्रिय रहने घोषणा गरेका छन्।
केही दिनअघिदेखि नै उनी राजनीतिमा आउन लागेको खबरले चर्चा पाइरहेको बेला आइतबार भारतको चेन्नईमा आयोजित एक कार्यक्रममा उनले भने– ‘म अब राजनीतिमा आउँदै छु। यो नै आजको धेरै जरुरी कुरा हो।’ दक्षिण भारतमा भगवान्सरह पुजिने उनले विधानसभा चुनावमा आफ्नो पार्टीले राज्यका सबै सिटमा उम्मेदवारी दिने र चुनावअघि नै आफ्नो नीतिको विषयमा विस्तृत जानकारी दिने पनि बताएका छन्।
६७ वर्षीय अभिनेताले आफ्नो यो फैसलाका कारण पछिल्लो समय तमिलनाडुको राजनीतिमा देखिएको संकट रहेको बताएका छन्। ‘राजनीतिको दशा निकै खराब भएको छ। आज राजनीतिको नाममा नेताहरू हामीसँग हाम्रो पैसा मात्र लुटिरहेका छन्। अब यो रानीतिलाई जरादेखि नै बदल्न जरुरी छ’, उनले भनेका छन्– ‘सारा राज्य हाम्रो मजाक उडाइरहेका छ। यदि म राजनीतिमा आइन भने यी मानिसलाई धोका हुनेछ।’ उनले आफ्नो पार्टीको मार्गदर्शक नारा राम्रो गर, राम्रो बोल अनि केवल राम्रो नै हुनेछ भन्ने रहने बताएका छन्।
रजनीकान्तको यो फैसलापछि उनको सफल भविष्यका लागि अमिताभ बच्चन, कमल हसन, अनुपम खेरलगायतका बलिउड स्टाररहरूले शुभकामना दिएका छन्। उनको नजिकका मित्र अमिताभ बच्चनले ट्विटरमार्फत भनेका छन्– ‘मेरो प्यारो मित्र, मेरो सहयोगी तथा विनम्र विचारशील व्यक्ति राजनीकान्तले राजनीतिमा कदम राख्ने निणर्यको घोषणा गरेकोमा उनको सफलताका लागि मेरो शुभकामना।’ रजनीकान्तको यस फैसलालाई तमिलनाडु भाजपाका प्रदेश अध्यक्ष टी सुन्दरराजनले यो एक राम्रो फैसला भएको जनाउँदै यसको स्वागत गरेका छन्। तर, सत्ताधारी एआईएडीएमको तर्फबाट भने यो फैसलाको मिश्रित प्रतिक्रिया आइरहेको छ। राज्यका वरिष्ठ नेता तथा मन्त्री डी अजय कुमारको भनाइ छ कि भारत एक लोकतान्त्रिक देश भएकाले कोही पनि राजनीतिमा आउन सक्छन्।











प्रतिक्रिया