मेलामा बल्छी र राजु मास्टरको हस्यौली



सन्तोष अधिकारी⁄गोरखा

शुक्रबारदेखि शुरू भएको पहिलो गोरखकाली मेलाको दोस्रो दिन शनिबार विभिन्न सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भए। हरमटारी क्लबको आयोजनामा भएको मेलामा ख्यातिप्राप्त हास्य कलाकारका साथ लोक, आधुनिक क्षेत्रका कलाकारहरूले गोरखकालीलाई हसाए र नचाए।

कार्यक्रममा मरिचमान श्रेष्ठ बल्छी धुर्बेले भूकम्पका कारण अझै गोरखा पुनर्निर्माणले गति लिन नसकेको विषयलाई व्यंग्य गरेका थिए। उनले भूकम्पका कारण ढलेकी नेपाल आमा अझै उठ्न नसकेको भन्दै सरकारलाई व्यंग्य गरे। त्यस्तै उनले गोरखाको सडकलाई पनि हासो र व्यंग्यको विषय बनाए। उनले भने– ‘गोरखाको बाटो त सानो भएछ। सिटमा बसेको मान्छे गाडी उफ्रिँदा सिटनै छुट्ने स्थितिमा पुगेको रहेछ।’ राजु मास्टरले पनि सामाजिक सञ्जालको दुरूपयोग बढेको बारे हास्यव्यंग्यमार्फतचिन्ता गरे।

उता गोरखाली गायक सञ्जय गुरुङले दरौँदीको पानीले हुर्किएको म, गोरखालीको मायाले फुर्किएको म बोलको लोकदोहोरी गीत गाउँदा मेलामा आएका हजारौं दर्शकले हुटिङ गरेर र नाचेर उनलाई साथ दिए। उनले करिब आधा दर्जन गीत प्रस्तुत गरे। उता लोकदोहोरी गायिका कृष्णा गुरुङले पक्कै पूरा हुन्छ निधारैमा लेखेसी, आँखा लोभी मन पानी भयो तिम्लाई देखेसीलगायतका करिब आधा दर्जन गीत गाएर गोरखालीलाई नचाइन्। मेलामा तृष्णा गुरुङ तथा स्थानीय कलाकारको नृत्यलगायतका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भएका थिए। मेलामा घोडा र उँटको नृत्य विशेष आकर्षणका रूपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्