बेली डान्सपछि फिल्मतिर ध्यान



सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुकी मोडल तथा डान्सर बिनु शाक्य बेली डान्सरका रूपमा चिनिन्छिन्। तर अबको उनको ध्यान भने फिल्मतिर छ।

हाल काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएकी बिनु नाटकमा समेत त्यतिकै रुची राख्छिन्। तर अबको कदम भने फिल्मतिर राख्ने सोचमा छिन्। सानै उमेरदेखि नृत्यमा रुची राख्ने विनुले करिब ६ वर्षको उमेरदेखिनै नृत्य गर्दै आइरहेकी छिन्। नृत्यलाई नै आफ्नो प्यासन मान्दै ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी उनले अंग्रेजी विषयमा मास्टर डिग्रीसम्मको अध्ययन गरेकी छिन्।

युनिसेफमा कार्यरत उनले केही रंगमञ्चीय कार्यक्रमसमेत गरेकी छिन्। बेली डान्स गर्न पोख्त उनी सानैदेखि आफूलाई यो क्षेत्र मन परेकाले यसैमा आएको बताउँछिन्। ‘पछि सबैले यसै क्षेत्रमा जम्ने कोसिस गर, राम्रो हुन्छ भन्ने सल्लाह दिएका कारण यो क्षेत्रमा आएको हुँु –बिनु भन्छिन्।

‘बेली डान्स टिचर एवम् गायिका कमला सापकोटा दिदीले मेरो नृत्य देखेर एउटा तीजको गीतमा अभिनय गर्ने अफर गर्नुभयो र अभिनय पनि गरेँ। गीतको म्युजिक भिडियो राम्रो बनेर हिट पनि भयो। पछि फेरि सुभास प्रधानले वान डे ट्यालेन्ट हन्टमा मेरो डान्स र प्यासन देखेर भिडियोको अफर गर्नुभयो। त्यस पछि त झन् यो ग्ल्यामर क्षेत्रमा अझै आकर्षित भएकी हुँु, –उनले भनिन्।

१ दर्जन जति म्युजिक भिडियोमा अभिनय गरेकी उनको पछिल्लो म्युजिक भिडियोलाई सुभाष प्रधानले निर्देशन गरेका छन्। जसमा उनी जीवन भट्टराईसँग देखिएकी छन्।

नेपाली कला क्षेत्रमा नै आफूलाई पूर्ण रूपमा समर्पित गरेकी बिनु यस क्षेत्रमै नयाँनयाँ क्रिएसन दिने दाबी गर्छिन्।

प्रतिक्रिया दिनुहोस्