विकट गाउँबाट बोकेरै ल्याइयो मतपेटिका



सरिता चलाउने, सल्यान

सल्यानमा शुक्रबार बेलुकाबाट मात्र मतगणना भएको छ। १ सय ८० मतदान केन्द्र रहेको सल्यानमा ५९ मतदान केन्द्रबाट मतपेटिका नआएका कारण बेलुका ५ बजेपछि मात्रै मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ।

जिल्लाको कालिमाटी गाउँपालिका, दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका बोकेर ल्याउनुपर्ने भएकाले मतगणनामा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो।

यस्तै मतगणना हुने जिल्ला प्राविधिक कार्यालयको इन्जिनियर भवनमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको छ। मतगणनालाई सुरक्षित गर्ने उद्देश्यका साथ तारजाली र सीसी क्यामेरा जडान गरिएको धामीको भनाइ रहेको छ। उम्मेदवारहरूकै सहमतिमा तारजाली र सीसी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो।

१ लाख ३४ हजार १ सय १३ मतदाता रहेको सल्यानमा ८३ हजार ३ सय ९८ मत खसेको छ। सल्यानमा पुरुषको तुलनामा महिलाले बढी मतदान गरेका छन्। जिल्लामा ३६ हजार ७ सय १६ पुरुष र ४६ हजार ६ सय ८२ महिला मतदानमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्