सातै प्रदेशमा निर्वाचन नाटक



४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि नाट्य कलाकारले सडक नाटक महादान प्रदर्शन गर्दै स्थानीयलाई निर्वाचन शिक्षा बाँढेका छन्। निर्वाचन अयोगद्वारा सञ्चालन गरिएको मतदाता शिक्षा नाटक बुधबार मुलुकका ७ वटै प्रदेशका विभिन्न स्थानमा मञ्चन गरिएको छ।

सबैजसो ठाउँमा दर्शकले नाटक हेरेर आफूहरुले मतदान राम्ररी गर्न सिकेको प्रतिक्रिया दिएको सम्बन्धित नाट्य टोलीले जनाएका छन्। यसै पटकबाट मतदानमा सहभागिता जनाउने नयाँ मतदाताले नाटकमा बढी नै चासो दिएको नाट्यकर्मीहरुले बताए। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयोजन र आरोहण गुरुकुलको सहकार्यमा भइरहेको सडक नाटक महादानको मञ्चन बुधबार प्रदेश–१ को इलाम, मोरङ, तेह्रथुममा गरियो।

तेह्रथुमको फेदाम गाउँपालिकास्थित औसीडाँडा र मेन्छइयम गाउँपालिकाको मोराहाङ बजारमा झोराहाट नाट्य समूहले नाटक प्रदर्शन गर्यो। मोरङमा आरोहण गुरुकुलको नाट्य समूहले मिक्लाजुङ्ग गाउँपालिकाको मधुमल्ला, उर्लाबारी नगरपालिकाको बरगाछी, पथरी शनिश्चरे नगरपालिकाको पथरीबजार र लेटाङ नगरपालिकाको लेटाङ बजारमा नाटक देखायो। प्रदेश–२ को सप्तरी, महोत्तरी र पर्सामा पनि नाटक महादान मञ्चन गरियो। सप्तरीका बोदेबरसाइन नगरपालिकाको नगरबजार, बलानबिहुल नगारपालिकाको बल्हनियमा चन्नी बजार र सुरुङ्गा नगरपालिकाको कुराहाबजारमा नाटक मञ्चन गरियो।

लोक सञ्चार नाट्य समूहले महोत्तरीको सम्सी गाउँपालिकाको सम्सी बजार, सोनमा गाउँपालिकाको सोनमा बजार, बल्वा नगरपालिकाको बल्वाबजार, सिसवा नगरपालिकाको मरुवाही र एकडाडा गाउँपालिकाको हलखोडी गाउँमा नाटक मैथली भाषामा प्रदर्शन गर्यो। गढीमाई नाट्य समूहले पर्साको पर्सागढी नगरपालिकाको मनवा गाउँ, सखुवा पसौनी गाउँपालिकाको महुवन गाउँमा नाटक मञ्चन गर्यो। यी स्थानमा भोजपुरी भाषामा नाटक देखाइएको समूहका निर्देशक रामलोचनले बताए। प्रदेश–३ को काभ्रेपलाञ्चोकमा सेलो थिएटरले बेथानचोक गाउँपालिकाको धुङ्खर्क, बनेपा नगरपालिकाको चारदोबाटो र पनौती नगरपालिकाको गुराँसमार्ग, सांस्कृतिक संस्थानको टोलीले इच्छाकामना गाउँपालिकाको मुग्लिनबजार, भरतपुर महानगरपालिकाको शहीदगेट चोक र रत्ननगर नगरपालिकाको टाँडी बजार, भिक्टोरिया नाट्य समूहले प्रदेश–४ को तनहुँ र कास्की, शृंखला नाट्य समूहले प्रदेश–५ को पश्चिम नवलपरासी, दियालो परिवार नाट्य समूहले गेरुवा गाउँपालिका, आरङ्ग नाट्य समूहले दैलेख, लोटस युवा क्लबले प्रदेश–७ को कञ्चनपुर र अछाममा यो नाटक मञ्चन गरी निर्वाचन शिक्षा प्रदान गर्यो।

प्रतिक्रिया दिनुहोस्