उम्मेदवार कलाकार



विदुर गिरी
आसन्न प्रतिनितिसभा तथा प्रदेशसभा निर्वाचनमा कलाकारहरू पनि उम्मेदवारका रूपमा सक्रिय भएका छन्। विभिन्न राजनैतिक दलमा प्रवेश गरी कलाकर्मीसँगै दलका कार्यकर्ता बन्न पुगेका कपितय कलाकार यो निर्वाचनमा उम्मेदवार हुने प्रयास र चर्चा भए पनि केही कलाकारमात्र उम्मेदवार बन्न सफल भएका छन्।

कलिलै उमेरमा नायिकाका रूपमा रजतपटमा प्रवेश गरी लोकप्रियता हासिल गरेकी नायिका तथा निर्मात्री करिश्मा मानन्धर यो निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन्। करिश्मा डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार भएकी हुन्। शुरुमा डा. भट्टराईले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने वचन दिए पनि उनको लोकप्रियतालाई क्यास गर्ने गरी आफ्नो पार्टीको उम्मेदवार रहेका देशका विभिन्न भागमा पुगी पार्टीका लागि भोट माग्न लगाउन उनलाई समानुपातिकतर्फको उम्मेदवार बनाए। पहिलो चरणको निर्वाचनअघि पार्टीका उम्मेदवारका लागि विभिन्न जिल्ला पुगेर भोट मागेकी करिश्मा अहिले फेरि दोस्रो चरणको निर्वाचनका लागि खटिइरहेकी छिन्। पार्टीले प्रतिनिधिसभातर्फ उनको नाम समानुपातिक सूचीमा एक नम्बरमा राखेको छ।



नयाँ शक्ति पार्टीले देशभर खसेको कुल मतबाट ३ प्रतिशत मत ल्याउन सफल भए करिश्मा सजिलै प्रतिनिधिसभाको सांसद हुनेछिन्। उनको पार्टीले ९० हजार मत कटाए एक जना समानुपातिक सांसद पाउनेछ। यसरी ९० हजार मत कटाए करिश्मा प्रतिनिधिसभा सांसद हुनेछिन्। ‘मैले मन्त्री वा प्रधानमन्त्री हुनका लागि मात्र उम्मेदवारी दिएको होइन’ –पार्टीको केन्द्र्रीय कार्यसमिति सदस्यसमेत रहेकी करिश्माले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्।

नायक तथा निर्माता मधुकुमार श्रेष्ठ यो निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारको टिकट पाउने एकमात्र कलाकार भएका छन्। उनलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ का लागि प्रत्यक्षतर्फको टिकट दिएको छ। बजार नामक फिल्म निर्माण गरेर फिल्म क्षेत्रमा उत्रिएका उनले बनाएको बिन्दास र बिन्दास–२ समेत गरी ३ फिल्म निर्माण गरेका छन्। बिन्दास र बिन्दास–२ मा उनले नायकका रूपमा अभिनयसमेत गरेका छन्। आफ्नो गाउँ र ठाउँका लागि स्वास्थ्य, शिक्षा र रोजगारका नाराका साथ निर्वाचनमा उत्रिएका उनले वाम गठबन्धनका राजेन्द्र पाण्डेसँग चुनावी स्पर्धा गर्नुपर्नेछ। अर्का नायक तथा निर्माता नवल खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट खोटाङ प्रदेश नम्बर १ प्रदेशसभाको समानुपातिक उम्मेदवार भएका छन्। नेपाल चलचित्र निर्माता संघको कार्यप्रणालिप्रति असुन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय चलचित्र निर्माता संघ नेपाल खोलेर अध्यक्ष भएका उनले पहिलो चरणको निर्वाचनमा खोटाङको सिमपानीबाट मतदानसमेत गरिसकेका छन् भने दोस्रो चरणका निर्वाचनका लागि भोट मागिरहेका छन्। नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रहेका खड्काले दशगजा, भीमदत्तलगायतका फिल्म निर्मँण गरेका छन्।

चपली हाइट नामक यौन मनोविज्ञानमा आधारित फिल्मबाट चर्चा पाएका नायक राज घिमिरे पनि समानुपातिकतर्फको उम्मेदवार छन्। उनलाई माओवादी केन्द्रले प्रदेश नम्बर ३, ललितपुर जिल्लाको क्षेत्र नं. १ बाट समानुपातिकतर्फको उम्मेदवार बनाएको छ। गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ललितपुरकै गोदावरी नगरपालिका–३ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाटै उम्मेदवार भई पराजय भोगेका राजलाई अहिले माओवादी केन्द्रले यो निर्वाचनमा पनि टिकट दिएको हो।

निर्माता उद्धव पौडेल काठमाडौं ४ बाट राप्रपाको समानुपातिक उम्मेदवार छन्। पुराना निर्माता निर्देशक डा. सुबोधकुमार पोखरेल नेपाली कांगे्रसबाट सप्तरी १ को प्रदेशसभामा उम्मेदवार भएका छन्। निर्माता, प्रदर्शक तथा वितरक प्रदीपकुमार उदय पनि यो निर्वाचनमा उम्मेदवार छन्। उनी राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रदेश नम्बर ५ को समानुपातितर्फ प्रदेश सदस्यका उम्मेदवार बनेका छन्। राप्रपा प्रजातान्त्रिका केन्द्रीय प्रवक्तासमेत रहेका उनलाई पार्टीले समानुपातिकतर्फको उम्मेदवारको सूचीमा पहिलो नम्बरमा राखेको छ। रूपन्देहीको स्थानीय तहमा उनी प्रभावशाली नेतामा गनिन्छन्। प्रदर्शक तथा पूर्वसभासद् रामवीर मानन्धर पनि एमालेबाट प्रत्यक्षतर्फको उम्मेदवार छन्।

गायिका तथा सञ्चारकर्मी कोमल वली रेडियो नेपालको हुँदाहुँदैको स्थायी जागिर छाडेर राप्रपामा प्रवेश गरेकी थिइन्। राप्रपा विभाजनपछि निराश उनी टिकट पाउने आश्वासन पाएपछि एमाले प्रवेश गरिन्। तर, अन्तिम समयमा आएर एमालेले उनलाई उम्मदेवारको टिकट दिएन। तर पनि उनी एमाले र वाम गठबन्धनका लागि भोट मागेर सहयोग गरिरहेकी छिन्। ‘हाम्रो श्रद्धेय नेता एवं नेकपा एमालेका अध्यक्षज्यू (मेरो काकु) ले आफ्नो जिल्ला अनि घर झापामा निकै न्यानो स्वागत गर्नुभयो।

कुराकानी गर्यौं। कार्यक्रमपछि हामीलाई बोलाएर आफूसँगै राखेर खाजा खुवाउनुभयो’, पार्टीले टिकट नदिएपछि निराश भएकी कोमलले हालै फेसबुकमा फोटोसमेत शेयर गर्दै स्ट्याटस लेखेकी छिन्– ‘काकीले विभिन्न किसिमका खानेकुरा बनाएर आफ्नै छोराछोरीलाई जस्तै खुवाउनुभयो। उहाँहरुको व्यवहारले दुःखेको मनमा मल्हम लाग्यो।’ कोमललाई एमालेले टिकट नदिएपछि उनीसँग नजिक रहेका हास्य अभिनेता जितु नेपालले कोमललाई हरियो घाँस देखाएर ठण्डाराम पारेको प्रतिक्रिया जनाए। ‘कुनै पनि पार्टीले कलाकारलाई आफ्नो स्वार्थका लागि बाहेक कुनै स्थान दिएनन्। यसको ज्वलन्त उदाहरण कोमल वली दिदी हुन्, जसलाई एमालेले हरियो घाँस देखाएर खोरमा भित्त्याएर ठण्डाराम पार्यो’ –जितुले तीखो व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्।

नेपाली कांग्रेसले नायक तथा निर्माता रोज राणालाई प्यूठान क्षेत्र नम्बर २ बाट प्रदेशसभाका लागि सिफारिस गरे पनि पछि टिकट दिएन। सुर्खेत–२ मा माओवादी केन्द्रबाट एक नम्बरमा सिफारिसमा परेका चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले पछि टिकट पाएनन्। राप्रपाबाटै टिकट नपाएपछि पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका अभिनेता रवीन्द्र खड्काले पनि वाम बन्धन गठबन्धनका लागि भोट मागेर पार्टीलाई सघाइरहेका छन्। विभिन्न पार्टीमा आबद्ध धेरै यस्ता कलाकार छन्, जो पार्टीबाट टिकट नपाए पनि आ–आफ्नो पार्टीका लागि भोट मागेर हिँडिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्