महिलाको पहिरन यौन उत्पीडन शिकारका कारणः अभिनेतृ एञ्जेला



बेलायती अभिनेतृ एन्जेला लान्सबरीले महिला आफ्नो पहिरनकै कारण यौन उत्पीडनको शिकार हुने गरेको बताएकी छिन्। ‘आफूलाई अधिक आकर्षक देखाउनका लागि महिलाहरू विशेष गरी पहिरनलाई प्राथमिकतामा राख्छन् र यसले गर्दा कहिलेकाहीं यौन उत्पीडनको दोषी महिला आफैं ठहरिनुपर्छ’ –अभिनेतृ एन्जेलाले भनेकी छिन्।

९२ वर्षीया अभिनेतृको यो टिप्पणी हलिउड निर्माता हार्वे वेन्स्टिनको यौन उत्पीडन काण्डले हलिउडमा तहल्का मच्चाएपछिको हो। निर्माता हार्वेको पहिलो यौन उत्पीडन काण्डको पर्दाफास भएसँगै सार्वजनिकरूपमा थुप्रै अभिनेतृहरुले आफ्नो अनुभव साझा गरेका थिए। रेडियो टाइम्ससँगको अन्तर्वार्तामा अभिनेतृले भनेकी छिन्– ‘एउटा सिक्कामा दुई पाटा हुन्छन्। प्राचीनकालदेखि नै हामीले महिलालाई आकर्षणको वस्तुको रूपमा हेर्ने विचारको विकास गर्न पुग्यौं र दुर्भाग्यवश आज हामी यस्तो अवस्थामा छौं ।’ आकर्षणकै नाममा महिला निकै तल गिर्न र बलात्कारको शिकार हुन नहुने उनले बताइन्।

अभिनेतृ एन्जेला लान्सबरीको यो अभिव्यक्तिलाई लिएर कतिले नकारात्मक प्रतिक्रिया जनाएका छन् भने कतिले यो राम्रो तरिका नभएको भनेर टिप्पणी गरेका छन्। एकेडेमी अनरी अवार्डबाट समेत सम्मानित भइसकेकी अभिनेतृले भने आफ्नो फिल्मी करियरको प्रारम्भिक दिनमा कुनै यौन उत्पीडनको सामना गर्नु नपरेको बताएकी छिन्। विशेष गरी यौन उत्पीडनका कारण महिलाको कामुकता र आकर्षण नै रहेको उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्