मतदानका लागि बिहे नै रद्ध !

0
Shares

गाउँमा २१ मंसिरका लागि विवाहको तयारी भइरहेको हुन्छ। बेहुलाको बुबा सुपारी लिएर निम्ता बाँढ्न हिँड्छन्। तर, बिहेमा कोही पनि आउन नभ्याउने बताउँछन्। बाजा बजाउने मानिस, गाडीका चालक, जन्ती, पत्रे, आफन्त, छिमेकी सबैले बिहेमा नआउने बताएपछि बेहुलाका बाउ संकटमा पर्छन्। त्यही दिन प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको दिन हुन्छ। अन्त्यमा बेहुलाको आग्रहमा बिहे सारिन्छ। बाउ, छोरा, हुनेवाला बुहारी, सम्धी सबै भएर २१ मंसिरमा हुने निर्वाचनमा कसरी मतदान गर्ने भनेर टोलबासीलाई नमुना मतपत्र देखाउँदै मतदान गर्ने तरिका सिकाउँदै हिँड्छन्।

दोस्रो चरणको निर्वाचनका लागि ८ मंसिरबाट ४५ जिल्लामा मञ्चन शुरु गरिएको सडक नाटक महादानको कथा हो यो। नाटका विभिन्न कथामध्ये एउटा कथाको अंश हो यो। नाटक हेर्दा रमाइलो मान्दै दर्शकले मतदान गर्ने कला सिकिरेका छन्। यसैपटकबाट मतदानमा सहभागी हुने नयाँ मतदानका लागि यो नाटक अझ शिक्षा उपयोगी बनेको सम्बन्धित नाट्य टोलीहरुले बताएका छन्।

महादान सोमबार पनि मुलुकका ७ वटै प्रदेशमा मञ्चन भए। जसमध्ये प्रदेश–१ मा नेपाली र राई भाषा, प्रदेश–२ मा मैथली, थारू (सप्तरी) र भोजपुरीमा, प्रदेश–३ मा नेपाली र तामाङ, प्रदेश–४ मा नेपाली र गुरुङ, प्रदेश–५ मा नेपाली र मगर, प्रदेश–६ मा नेपाली र अवधी, प्रदेश–७ मा खस भाषामा महादान मञ्चन गरिएको छ। स्थानीय तहमा दर्शकलाई नाटकमा रम्दै सहीरूपमा मतदान गर्न सजिलो होस् भनेर स्थानीय भाषामा मञ्चन गरेको सम्बन्धित नाट्यकर्मीहरुले बताए। यतीबेला दुई दर्जन नाट्यटोली सडक नाटक महादानबाट मतदाता शिक्षा दिन सम्बन्धित जिल्लामा पुगेका छन्।

सांस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा प्रस्तुत हुँदै आएको प्रदेश–१ को इलाम, धनकुटामा चेतना नाट्य समूह र झोराहाट नाट्य समूहले बेग्लाबेग्लै स्थानमा नाटक प्रदर्शन गरे। चेतना नाट्य समूहले इलामको माई नगरपालिकाको चिसापानी बजार, चुलाचुली गाउँपालिकाको चुलाचुली बजारमा महादान मञ्चन गर्दा झोराहाट नाट्य समूहले पनि धनकुटास्थित धनकुटा नगरपालिकाको हिले, पाख्रिबास नगरपालिकाको पाख्रिबास, छथर जोरपाटी गाउँपालिकाको सिन्धुवामा नाटक मञ्चन गर्यो। प्रदेश–२ को सम्तरीमा खटिएको विराट मैथिल नाट्य कला परिषद्ले पनि राजविराज नगरपालिकाको गजेन्द्र चोक, विष्णुपुर नगरपालिकाको नहरचोक, छिन्नपस्ता गाउँपालिकाको सुखडा, बेल्हिचपना गाउँपालिकाको मलेखपुर चोक र डाक्नेश्वरी नगरपालिकाको पत्थरगोडामा मञ्चन गरेको परिषद्का निर्देशक रामभजन कामतले जानकारी गराए।

त्यस्तै प्रदेश–२ कै सल्लाहीमा आरोहण गुरुकुल समूहले बागमती नगरपालिकाको धरहराचोक र हरिवन नगरपालिकाको रहिवन बजारमा नाटक मञ्चन गरेको छ। मधेसी समुदायको बाहुल्य रहेका यी स्थानमा नेपाली भाषामै नाटक देखाउँदा पनि स्थानीयले चासो दिएर रोचकपूर्वक हेरेको आरोहण गुरुकुलका निर्देशक दीपेश भण्डारीले बताए। प्रदेश–२ मै क्रियाशील गढिमाई नाट्य समूहले पनि पर्सा जिल्लाको पोखरिया नगरपालिकाको सत्बरिया, कालिकामाई गाउँपालिकाको मुरलीगाउँ, धोबिनी गाउँपालिकाको लङ्गीबजार र सिपहरा गाउँपालिकामा नाटक प्रदर्शन गरेको छ। यी स्थानमा स्थानीय भाषामा नाटक देखाउँदा दर्शकले नाचगान गर्दै साथ दिएको समूहका निर्देशक रामलोचनले बताए। प्रदेश–२ को महोत्तरीका ५ स्थानमा लोकसञ्चार नाट्य समूहले नाटक मञ्चन गरेको छ। समूहकी निर्देशक प्रियंकाका अनुसार लोहकट्टी नगरपालिकाको लोहकट्टी बजार, पिप्रा गाउँपालिकाको पिप्रा बजार, महोतरी गाउँपालिकाको महोतरी गाउँ, जलेश्वर नगरपालिकाको जलेश्वर बजार र मटिहानी नगरपालिकाको मटिहानी बजारमा नाटक महादान देखाइएको छ।

त्यस्तै प्रदेश–४ मा पर्ने ललितपुरमा रमेश केसी मट्टारेले नेतृत्व गरेको सांस्कृतिक संस्थानको नाट्य समूहले बागमती गाउँपालिकाको भट्टेडाँडा, महाकाल गाउँपालिकाको गोटीखेल र कञ्ज्योसेम गाउँपालिकाको चौघरेमा नाटक महादान देखाएको छ। प्रदेश–३ को काठमाडौंमा आकाश थापा निर्देशक रहेको सांस्कृतिक संस्थानको अर्काे नाट्य टोलीले विभिन्न स्थानमा नाटक महादान देखायो। थापाका अनुसार तारकेश्वर नगरपालिकाको नागपोखरी बजार, नागर्जुन नगरपालिकाको कारखाना चोक र चन्द्रागिरी नगरपालिकाको बलम्बु बजार र कीर्तिपुर नगरपालिकाको कीर्तिपुर बजारमा नाटक प्रदर्शन गर्यो। प्रदेश–४ को पर्वतमा सिड नेपाल समूहले दिहादी गाउँपालिकाको बाच्छादुर्गाङ र पैयुँ गाउँपालिकाको ह्वादमा नाटक मञ्चन गरेको छ। प्रदेश–६ मा पर्ने सल्यान र दैलेखमा पनि सोमबार नाटक मञ्चन गरियो। सल्यानमा खटिएको नाट्य टोली शारदाकुमार नाट्य समूहले बागढकुपिण्डे नगरपालिकाको जयतपान बजार, कालिमाटी गाउँपालिकाको पोखरा बजार, शारदा नगरपालिकाको खलङ्गा बजारमा नाटक प्रदर्शन गरिएको समूहका निर्देशक नरेन्द्र वलीले जानकारी गराए। यस्तै दैलेखमा पुगेको आरंग नाट्य समूहले गुराँस गाउँपालिकाको घोडाबास, डुङ्गेश्वर गाउँपालिकाको डुङ्गेश्वर बजार, नारायण नगरपालिकाको दैलेख बजारमा नाटक मञ्चन गरेको छ। प्रदेश–६ कै बाँकेको नेपालगन्ज उपनगरपालिकाको राँगा, कोहलपुर नगरपालिकाको निबुवा र बाँसगढी नगरपालिकाको बाँसगढी बजारमा सोमबार नाटक प्रदर्शन गरिएको दियालो परिवार नाट्य टोलीका प्रमुख सन्तकुमार विश्वकर्माले जानकारी गराए।

त्यस्तै प्रदेश–७ को अछाम र कैलाली गरी सोमबार पाँच स्थानमा नाटक महादान मञ्चन गरियो। अछामको साफेबगर नगरपालिकाको साफेबजार र मंगलसेन नगरपालिकाको बस्ती भन्ने ठाउँमा नाटक मञ्चन गरिएको सुप सांस्कृतिक मञ्चका निर्देशक अनिल रिजालले जानकारी दिए। अनिलकै टोलीले कैलालीको चुहा नगरपालिकाको लम्की, घोडाघोडी नगरपालिकाको सुखद र बडगोरिया नगरपालिकाको बउनिया बजारमा नाटक देखाएको छ।

Skip This