पुकारको गुन गुन



३ दशअघि कलायात्रा शुरू गरेका अभिनेता, अभिनय प्रशिक्षक, लेखक तथा टेलिफिल्म र राजवंशी फिल्मका निर्देशक पुकार भट्टराई अब नेपाली फिल्मको निर्देशकसमेत भएका छन्।

२०४२ सालमा रंगमञ्चबाट अभिनय यात्रा शुरू गरेका झापाका पुकारले गुन गुन नामक फिल्म निर्देशन गरेका छन्। उनकै लेखन र निर्माणमा तयार भएको फिल्म आगामी फागुन महिनामा रिलिज हुँदै छ। गुन गुनलाई प्रेमकथामा उतारेको पुकारले बताए। ‘मैले यही क्षेत्रमा ३ दशक बिताएको छु र त्यही अनुभवले गुन गुन बनाएको छु। यत्रो समय कला क्षेत्रमै बिताएकाले नराम्रो फिल्म बनाएँ भने बदनाम त मेरै हुन्छु, पुकार भन्छन्– ‘त्यसैले जतिसक्दो मेहनत गरेको छु। यो मायालु फिल्मबाट दर्शकको माया पाउनेमा ढुक्क छु।’ प्रार्थन फिल्म्स्को ब्यानरमा एकराज उप्रेती र सहदेव पौडेल निर्माता तथा मोहनप्रसाद भट्टराई र गणेश चापागाईं सहनिर्माता रहेको फिल्ममा पुकारले सञ्चिता लुइँटेल, रविनप्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, देशभक्त खनाल, राधा लम्साललाई लिएका छन् भने आफैंले पनि अभिनय गरेका छन्। ‘फिल्ममा चलेकै कलाकार लिुनुपर्छ भन्ने गलत मान्यताका कारण नयाँ कलाकारको आगमनमा सुस्तता आएको छ’, पुकारको अनुभव छ– ‘नयाँ कलाकारलाई लिएर फिल्म बनाउँदा डुब्छ भन्ने गलत सन्देश फिल्म क्षेत्रभित्रै गएको छ। त्यसैले कतिपय निर्माता आर्थिकरूपमा घाइते भएका छन्।’ उनले निर्देशन गरेको यस फिल्ममा संगीत सचिन सिंह, विकास चौधरी र महाराज थापा, नृत्य रामजी लामिछाने, द्वन्द्व हिमाल केसी र छायांकन सौरभ लामाको रहेको छ।

रंगमञ्चदेखि सानो र ठूलो पर्दाका फिल्ममा नायकदेखि खलनायकसम्मका रूपमा देखिँदै आएका पुकारले यसअघि होस्टल स्कुल, सहारा, आमाको माया, आयु, दोबाटो र सन्तान नामका टेलिफिल्मको निर्देशन गरिसेका छन् भने राजवंशी भाषाका फिम देवसरी र माँ और आशिर्वादको निर्देशन पनि गरिसकेका छन्। यी दुई राजवंशी फिल्ममा लेखन पनि उनकै थियो।

झापाको कन्काई नगरपालिका–९ का पुकारले अध्ययनका लागि काठमाडौं आएपछि अभिनय यात्रा शुरु गरेका थिए। २०४२ सालमा काठमाडौं आएर बीएल गरेका उनले सोही साल रगतको टीका नामक नाटकबाट अभिनय यात्रा आरम्भ गरेका थिए। त्यसपछि २०४७ सालमा रंगमञ्चको दुनियाँमा रमाएका उनले त्यस अवधिमा पृथ्वीभित्रको मानिस, मान्छे मान्छेदेखि होसियार, नक्षत्रलगायत ढेढ दर्जनजति नाटकमा अभियन गरे भने २०४७ सालमा अविश्वास नामक टेलिफिल्मबाट काँचको पर्दामा छाएका उनले पछुतो, चिताको ज्वाला, समय, होस्टल, स्कुल सहारा, आमाको मन, आमाको माया, आयुजस्ता टेलिफिल्ममा नायकका रूपमा अभिनय गरे। दोबाटो, जानकी, चाहना मनको, सन्तान, प्रेरणाजस्ता मेघा सिरियलबाट समेत दर्शकको मन जितेका पुकारले चाहना मनकोबाट खल भूमिकामा अभिनय गरेपछि उनी यस्तै भूमिकामा रमाइरहेका छन्।
त्यसो त पुकारले ठूलो पर्दाका फिल्मको भूमिकाबाट पनि आफूलाई सफल अभिनेता सावित गरे। २०५८ सालमा के भो लौन निबाट शुरू भएको उनको ठूलो पर्दाको फिल्मी अभिनय यात्रा, किल्ला, रामप्यारी, मिस्टर मंगले, जय मधेस हुँदै अगाडि बढिरहेको छ भने यसबीचमा भोजपुरी फिल्म पायर करेला, राजवंशी फिल्म देवसरी, माँ और आशिर्वाद, मोर जीवन तोर धड्कनमा पनि अभिनय गरेका छन्। उनले अभिनय गरेको पिँजडा ब्याक अगेन रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्